कोरोना जितेका डा. सुनिलमणि भन्छन् : सकारात्मक सोच र दह्रो आत्मबल नै कोरोनाको औषधि (अन्तरवार्तासहित)

भरतपुर, २१ भदौ
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण कसलाई कतिखेर हुन्छ थाहा हुँदैन । अहिलेसम्म पनि के–के गर्दा यसको संक्रमण हुने हो र के गर्दा बचिने हो भन्ने एकिनसाथ कसैले भन्न सकेको छैन । तर, अनुभव र भोगाइका आधारमा यसबाट बच्नका लागि अपनाउन सकिने सावधानीका केही उपायहरु विज्ञहरुले बताइरहेका छन् ।

तुलनात्मकरुपमा समूहमा काम गर्नुपर्ने, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्नेहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुन्छ । त्यसमा पनि स्वास्थ्यकर्मी त नियमितरुपमा बिरामीकै सम्पर्कमा हुने भएकोले जुनसुकै बेला संक्रमण हुनसक्छ । त्यसका लागि स्वास्थ्यकर्मीहरु मानसिकरुपमा तयार भएरै बस्नुपर्छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोखरेल पनि तयारै थिए । उनी दैनिक दर्जनौँ बिरामी हेर्थे । प्रसूति ओपीडीदेखि शल्यक्रियासम्म उनी नियमित खटिइरहेका हुन्थे । अरु बिमार थाती राख्न सकिएला । तर, प्रसूति शल्यक्रिया रोक्न सकिँदैन । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागीय प्रमुख उनी त्यसैमा खटिइ नै रहे । भरतपुर सामुदायिक अस्पतालमा पनि उनी बिहान बेलुकि बिरामी हेर्छन् ।

फ्रन्टलाइनमा काम गर्दा कोरोना कुनै पनि बेला आफूलाई पनि हुनसक्छ भन्नेमा उनी मानसिकरुपमा तयार नै थिए । साउनको अन्तिममा कोरोना लागेका व्यक्तिमा देखिनेजस्तै लक्षण उनमा पनि देखियो । उनी तुरुन्तै अरुको सम्पर्कभन्दा पर बसे । पीसीआर परीक्षणका लागि नमुना दिए । भोलिपल्ट राति १० बजे रिपोर्ट आयो–‘पोजिटिभ ।’

“डाक्टर भए पनि सुरुमा डर त लाग्दो रहेछ”, कोरोना संक्रमण र आइसोलेसन बसाइक्रमका अनुभूतिबारे विनोदबाबु रिजालसँग कुराकानी गर्ने क्रममा उनले भनेका छन्, “पहिलो रात तनावले गर्दा निद्रा कम लाग्यो ।” तर, विस्तारै सामान्यावस्थामा फर्किएको उनले बताए । डा. पोखरेल उच्च रक्तचापका बिरामी पनि हुन् । उनी नियमित औषधि सेवन गर्छन् । दीर्घरोगीलाई कोरोनाले चाँडै असर गर्छ भन्ने गरिन्छ पनि । “कहिलेकाहीँ डर लागेको थियो, आईसीयू जानुपर्ने अवस्था आउने हो कि भन्ने”, उनले भने, “तर, सामान्यरुपमै सञ्चो भयो ।”

चितवन मेडिकल कलेजको आइसोलेसनमा २० दिन बसेपछि उनी कोरोनामुक्त भएर फर्किएका छन् । दरिलो आत्मबल, नियमित ब्यायाम र सन्तुलित खानाले कोरोना निको भएको ठान्ने उनी कोरोना लागिहाले नआत्तिन तर होसियारी अपनाउन अनुरोध गर्छन् । “मलाई धेरैले माया गरे, कोरोना लागेपछि थाहा भयो मलाई कति धेरैले माया गर्दा रहेछन् भन्ने कुरा”, कुराकानीको क्रममा उनले भने, “अझै धेरै बिरामीको सेवा गर्ने हौसला थपिएको छ ।”

चितवन मेडिकल कलेजको आइसोलेसनमा बस्दा उनले साकाहारी खाना खाए । बेसार पानी, गुर्जोलगायत आयुर्वेद विज्ञानमा आधारित औषधि सेवन गरे ।

आइसोलेसनमा उनी समाचारमाध्यमसँग उनी नजिक रहन्थे । अनेकखाले समाचार हेरिरहन्थे, पढिरहन्थे । तर, अफवाह फैलाउने, त्रास बढाउने समाचार देखेर दिक्क मान्थे । “हुन त म पनि डाक्टर नै हुँ, त्यसैले के भयो भने डराउने भन्ने थाहा छ”, उनले भने, “तर, आफैँ संक्रमित भएर बेडमा पुगेपछि केही डरचाहिँ लाग्दो रहेछ । झनै अनर्गल समाचारहरुले संक्रमितलाई बढी अत्याउँदो रहेछ ।”

कोरोना लागे पनि धेरैजसो मान्छेलाई केही नहुने भएकोले आत्मबल दह्रो बनाएर स्वास्थ्य मापदण्ड पूरा गरेर बस्न उनले आग्रह गरेका छन् । “लक्षण छैन भने घरै बसे हुन्छ”, उनले भने, “लक्षण छ भने घर बस्नु हुँदैन, अस्पतालमा सम्पर्क गरिहाल्नुपर्छ ।” आइसोलेसनमा खानपिन, बस्ने र सुत्ने व्यवस्थासँगै मनोरञ्जनको व्यवस्था पनि गरिदिन उनको सम्बन्धित निकायलाई अनुरोध छ ।

कोराना जित्नका लागि अत्यावश्यक केही सूत्र उनले कुराकानीको क्रममा बताएका छन् :
१) सबैभन्दा महत्वपूर्ण आत्मबल हो । यो सधैँ दह्रो बनाइराख्नुस् ।
२) कोरोना लागे पनि धेरै मान्छेलाई सञ्चो हुन्छ । सञ्चो हुनेमा म पनि पर्छु भन्ने आशा राख्नुपर्छ । आशा गुमाउनु हुँदैन ।
३) नियमित पोषिलो खानेकुरा खानुहोस् । झोलिलो कुरा खानुहोस् । फ्रीजबाहिरको खानेकुरा खानुहोस् । पटक–पटक खानुहोस् ।
४) नकारात्मक समाचार, भिडियो वा केही पनि कुरा नहेर्नुहोस् । मनोरञ्जनात्मक र उत्प्रेरणा जगाउने कुरामा मन लाउनुहोस् ।
५) योगा र नियमित व्यायाम गर्नुहोस् ।

कायाकैरनकर्मी विनोदबाबु रिजालले डा. पोखरेलसँग गरेको कुराकानी यहाँ सुन्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट