सन्त्रासका ८ दिन

पीताम्बर सापकोटा
( कोभिड संस्मरण )

चीनको वुहान प्रान्तबाट उत्पन्न भएको कोरोनाले वैश्विक महाव्याधिको विनाशकारी रौद्र रूप धारण गरेको छ । तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । मुलुकमा भयाक्रान्त स्थिति सिर्जना भएको छ ।

२०७६ चैत्रदेखि नै सतर्क रहँदारहँदै र नचाहँदा नचाहँदै पनि थाहै नपाई अनपेक्षित रूपमा दोस्रो तहको कन्ट्याक्ट ट्रेसिङको कारण २०७७ भदौ ४ गतेबाट म कोरोनाको आशङ्कामा परेँ ।

कुनै एक सङ्क्रमित व्यक्तिसँग अर्को कुनै व्यक्ति सम्पर्कमा आयो कि आएन भनेर जाँचपड्ताल गर्ने एउटा पद्धति नै कन्ट्याक्ट ट्रेसिङ हो । भदौ २ गते गैँडाकोट नगरपालिकामा लक्षणसहितका बिरामीको पिसिआर परीक्षण भयो र त्यसको रिपोर्ट भदौ ४ गते दिउँसो ३ बजे आयो । त्यस रिपोर्टमा सामाजिक पथका यात्री बौद्धिक सामाजिक व्यक्तित्वलाई कोरोना लागेको दुखद समाचार सर्वत्र फैलियो । उक्त समाचार आउँदा हामी भाइभतिजाहरू (दर खाने दिन भएकाले) सँगै थियौँ । सोही दिन मेरा भाइभतिजाले २ गतेका दिन उहाँलाई आफ्नै गाडीमा राखेर घर पुर्‍याएको कुरा गरे । त्यसपछि नै हाम्रो सम्पर्कमा आधारित छटपटी सुरू भयो । जसरी पहिलो क्रमको मजदुरले ईट्टाको चाङबाट उठाएको ईट्टा हातेमालो गर्दै निर्माणस्थलसम्म पुग्छ त्यसैगरी सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति (भाइभतिजा)बाट म पनि कोरोना सङ्क्रमित पो भएँ कि भन्ने छटपटी र मनोरोगमा भित्रभित्रै गल्न थालेँ । त्यसपछि हाम्रा सम्पर्कमा आएका अन्य साथीसँगीहरूलाई तुरून्त सम्पर्क गरी दुखद खबर सुनायौँ र अविलम्ब आआफ्ना घरमा `होम क्वारेन्टाइन´ मा बस्ने निधो गर्‍यौँ ।

ज्ञातभन्दा अज्ञात भयले मान्छेलाई जलाउँदो रहेछ । कोरोनाको आशङ्काले मेरो मन बिथोलियो । मन एकदमै अशान्त भयो । ४ गते दर खाने दिन भएकाले बिहानै दाजुको घरमा जम्मा भएर दर खाएका थियौँ । रोग लागेको भए त पिताजीलाई ढोग गर्दा छोइयो ।दाजुभाइ, दिदी , भान्जी, श्रीमती, छोराहरू कोही अछुतो रहेनन् । एकाएक परेको वज्रपातले मन एकाकी भयो । घरमा जहान र छोराहरू छन् । मलाई आफ्नोभन्दा पनि उनीहरूको चिन्ता लाग्न थाल्यो । घरिघरि आँखा भरिएर आउन थाले । यो रोगमा आत्मबल नै ठुलो ओखती हो भन्ने सुन्दासुन्दै अभ्यस्त भइसकेको थिएँ । मलाई रोग लागिसकेको त होइन नि । सम्पर्कका आधारमा सर्‍यो कि भन्ने शङ्का मात्रै न हो ।त्यसैले मन दह्रो पारेर अहिल्यैबाट घरको कोठामा एक्लै बस्ने र लगभग क्रियाकर्मको शैलीमा दिनचर्या व्यतीत गर्ने निधो गरेँ ।

आशङ्काजनित ८ दिनको सेल्फ होम क्वारेन्टाइन पूर्वानुभवरहित भएकाले धेरै भिन्न थियो र धेरै पाठ पढाएर गयो । यसबिचमा जहान केटाकेटीहरूले दिएको खान्थेँ ।भाँडावर्तन आफ्नै थिए । भाँडावर्तन, लुगाफाटो र कोठा आफै साफ गर्थेँ । आफूले प्रयोग गरेका सरसामानको उचित उत्सर्जन गर्न कत्ति पनि हेलचक्र्याइँ गरिनँ किनभने म आफूभन्दा पनि अरूका लागि होसियार हुनुपर्ने थियो । रोगै यस्तै भनौँ वा रोगभ्रम । गुर्जो र तुलसीको काँडा, सुत्ने बेला बेसारमिश्रित मनतातो दूध, च्याउको रस, तातो पानी, अदुवा, ल्वाङ , सुकमेल, निमपत्ता, तेजपत्ता , असुरो र पतञ्जलिको कोरोनिल टैबलैट राम्रै सेवन गरियो ।

साथीहरूले मेसेन्जरमा कोरोना सतर्कता समूह नामक ग्रुप खडा गरेका थिए । तेसमा जोडिएर हामीहरू एकअर्काको हाल सोध्थ्यौँ । हाँस्ने र हँसाउने कुरा गरेर मनोबल बढाउँथ्यौँ । अनलाइन लुँडो खेल्थ्यौँ । यसले पनि मनलाई कोरोनाको मानसिक सोचाइबाट टाढा राख्न खुब मद्दत गर्यो । मन नआत्तियोस् भनेर कोरोनाबारेको समाचार सकभर कम हेर्थेँ ।
२/४ दिनपछि घरिघरि ममा कुनै लक्षण त देखापरेको छैन भनेर स्वयम् परीक्षण गर्थेँ । पानी परेकाले चिसो छ नि तर आच्छ्युँ आउनै नहुने, एउटा नासिका विवर अलिक बुजियो भने मनले के हो ? के हो? भन्ने ।
शिक्षक भएकाले पनि मलाई फुर्सदको समयमा लेखपढ नै प्राथमिकतामा पर्छ । त्यसैले धेरै पहिला किनेर पनि पढ्न नपाएको कुमार भट्टराईको “अस्वत्थामा”उपन्यास , वसन्त पराजुलीको “कुमाता” कथासङ्ग्रह र शीवा शाह अनु.सगुना शाहको नेपाली राजनीतिक इतिहास र कल्पनामिश्रित स्रोतको “कान्छा महारानी” उपन्यासको अध्ययन पूरा गरेँ भने प्रकाशोन्मुख धार्मिक ग्रन्थको अन्तिम सम्पादनको काम सम्पन्न गरेँ । यसैबिचमा अनलाइन शिक्षण पद्धतिका माध्यमबाट पढाउने कामलाई निरन्तरता दिएँ । यस किसिमका कामले पनि मलाई एक्लोपनको आभास कमै भयो ।आफूलाई काममा बिजि राख्नाले अनाहकका सोचाइले अन्तर्मनमा कमै स्थान पाए ।

यता गाउँमा हामीहरूलाई कोरोना लागेकोछ भन्ने झूठो र अपूर्ण समाचारले राम्रै बयेली खेलेछ । गाउँभरि छ्याप्छ्याप्ती हल्ला फिँजिएछ, फिँजाइएछ । हामी त परिवार र समाजकै लागि पनि एकल रूपमा सुरक्षित र अरूको सम्पर्कमा नआउनु राम्रो हो र अहिलेको आवश्यकता पनि त्यही हो भनेर बस्यौँ तर दुष्प्रचारको खेती गर्न पल्केका वज्रस्वाँठहरूलाई त कुरा कटाइको मसला मिलेछ । भित्रभित्रै उछितो काटेछन् । हाइबे माथिपट्टि हाम्रो घर भएकाले वरिपरिकाले माथिका ,माथिको वा बाटामाथिको भन्ने नाम दिएर हामीलाई अपराधीलाईजस्तो व्यवहार प्रदर्शित गर्न पछि परेनछन् । आफूले कुरा काटेर अरूलाई दोषारोपणसम्म गर्न भ्याएछन् । तिमीहरूको दुर्बुद्धिलाई मान्नै पर्छ ।
अरे मूर्खाधिराजहरू ! यो सरूवा रोग एकदिन तिमीलाई पनि थाहै नपाई लाग्न सक्छ । माया दिनु त कता हो कता उल्टै असहिष्णु बनेर खुच्चिम खा भन्ने ? हामी क्वारेन्टाइन नबसेको
भए फेरी पढेका सढेका भन्थे अनि बाहिर खुलमखुल्ला हिँडेको भए पनि समाजमा जीवाणु फैलाए भन्थे । दुष्टमतिले राम्रो गरे पनि दुष्ट्याइँ नै देख्छ । हामी त आशङ्कामा बसेका मात्र थियौँ जो प्रत्यक्ष सम्पर्कमा आएका भाइभतिजाको आज २०७७/५/११ गतेमा प्रकाशित पिसिआर परीक्षणको नतिजामा कोरोना नेगेटिभ आएको छ । म पनि दोस्रो तहको सम्पर्कमा आएको व्यक्ति भएकाले प्रत्यक्ष सम्पर्कमा आएकालाई कोरोना नदेखिएपछि मलाई हुने कुरो रहेन ।
यो रोग थाहै नपाई हुने कुरा रहेछ । आफू सावधान हुँदाहुँदै पनि अरूको असावधानीको सिकार हुन जो कोही सक्दछ । तेसैले खुच्चिम खा होइन माया प्रदर्शित गर । तिरष्कार नगर ।कसैलाई यो रोग नलागोस् । स्वाँठहरूलाई यो रोग लाग्यो भने उनीहरूको उपचारमा खटिएर बैगुनको बदला गुन लगाउने इच्छा छ ।
अन्त्यमा पहिलो सम्पर्कित व्यक्तिमा कोरोना नभएपछि उसको सम्पर्कमा आउने दोस्रो सम्पर्क व्यक्ति मलाई जहाँसम्म कोरोना छैन । तैपनि १४ दिनसम्म सावधानी अपनाउने विचार गरेको छु । यसबिचमा मलाई विभिन्न माध्यमबाट प्रत्यक्ष परोक्ष रूपमा सम्पर्क गरी हाल सोध्नुहुने र साहस बढाउनुहुने समस्त महानुभावहरूप्रति सादन नमन गर्दछु । पिसिआर परीक्षण समस्या नदेखिएसम्म नगर्ने विचारमा छु तैपनि स्वास्थ्यविद् /कोरोनाविद् मित्रहरूको सुझाव टिप्पणीमार्फत पाऊँ । अस्तु भवतु सर्व मङ्गलम् ।

( गैंडाकोट-९ थुम्सी, नवलपरासी )

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट