आयुर्वेद उपचारमा प्रचारप्रसार आवश्यक

रत्ननगर/आयुर्वेद उपचारमार्फत रोग निको हुने भए पनि यसको प्रचार हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले मंगलबार आयोजना गरेको ‘आयुर्वेदको विकास, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले एलोपेथिकभन्दा आर्युवेद उपचार प्रभावकारी हुने बताए । तर, यसको प्रचार आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

बागमती प्रदेश सभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले आयुर्वेद उपचारमा चेतना विस्तार आवश्यक रहेको बताए । आयुर्वेद औषधि प्रभावकारी हुने भए पनि ओझेलमा परेको उनको भनाइ थियो । “नेपालको जडीबुटी बाहिर गएर औषधि बनेर आउँछ त्यही औषधि हामी प्रयोग गर्छौँ”, सभापति दाहालले भने, “जडीबुटी औषधि बनाउने उद्योग स्थपाना गरी यसैको उपचार गराउनुपर्छ ।”

आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधिहरु र यसमा सलग्नहरुले प्रचारप्रचार गर्नुपर्ने चितवनबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका दाहालले जोड दिए । आयुर्वेदमार्फत कम खर्चमा ठूला रोगसमेत निको हुने उनको दाबी थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयुर्वेद औषधालयका लागि प्राथमिकता दिएको समेत उनले वताए । प्रदेश सभा सदस्य विजय सुवेदीले कृतिम औषधीले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्नुपर्ने उनले औंल्याए ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आयुर्वेदिक उपचारलाई सहयोग गर्नकै लागि सार्वजनिक जमिनमा जडीबुटी रोप्न लागिएको बताए । आयुर्वेद स्वास्थ्य केन्द्रमा कम नजर परेको भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने मेयर वनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. कोपिला अधिकारीले आयुर्वेदको विकास, सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । केन्द्रमा दैनिक ८०/९० जना विरामी उपचारका लागि आउने गरेपनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको डा. अधिकारीले बताइन् । पूर्वी चितवनको रत्ननगरमा रहेको आयुर्वेद केन्द्रमा धादिङ, गोर्खा, नवलपरासीलगायत जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । तर, ल्याब र एक्स–रे मेसिनसमेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले बताइन् ।

सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्चरक्तचाप, स्त्रीरोग, दम, खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको छ । हाल ओपिडीमार्फत मात्र उपचार सेवा दिँदै आए पनि बिरामी भर्ना गरेर उपचार गर्न नसकिएको केन्द्रका कविराज निरीक्षक डा. देवेन्द्रकुमार यादवले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट