भरतपुर, ३१ असार
किसानले चल्ला उत्पादन कटौती गरेपछि बजारमा मासुका लागि कुखुराको आपूर्ति कम भएको छ । उत्पादन घटेपछि मूल्य आकासिएको छ । कुखुराको तयारी मासु प्रतिकेजी ४ सयदेखि ४ सय २० रुपैयाँसम्म पर्छ ।
कुखुराको मासु लकडाउनको सुरुआती महिनामा १ सय ९० रुपैयाँसम्म बिक्री भएको थियो । चैत अगाडि यसैलाई ३ सय २० रुपैयाँ पथ्र्यो । बजारमा माग बढेको छ । तर, किसानको फर्ममा तयारी कुखुरा पर्याप्त छैनन् । चल्ला राखेको ४२ दिनपछि मासुका लागि कुखुरा तयार हुुन्छ । सरदर १ हजार ८ सय ग्रामका कुखुरा तयार छन् । मासु पसल, उपभोक्ता र किसानलाई समग्रमा नोक्सान नै छ । मासु पसलेले महँगोमा साना कुखुरा खरिद गरेर बेच्दा धेरै भाग खेर जाने भएकाले पहिलेजस्तो मुनाफा पाउन सकेका छैनन् ।
जिउँदो कुखुरा नै प्रतिकेजी २ सय ७० रुपैयाँ हाराहारी पर्छ । जसले गर्दा उपभोक्ता पनि महँगोमा खरिद गर्नुपर्ने बाध्यतामा छन् । भाउ बढे पनि किसान भने निराश छन् । झण्डै २ महिना व्यहोरेको नोक्सानी असुलसमेत गर्न सकेका छैनन् । साना कुखुरा बेच्नुपर्दा मुनाफा पनि कटौती भएको छ ।

नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका कार्यकारी अधिकृत शिवप्रसाद बरालले लकडाउनमा चल्ला उत्पादन घटाइएपछि उत्पादनमा गिरावट आएको बताए । “अहिले विस्तारै सुधार हुँदैछ । तर, माग थेग्न गाह्रो छ”, उनले भने, “पहिलेको तुलनामा भाउ राम्रो छ । तर, सबै किसान लाभान्वित हुन सकेनन् ।” देशभरमा दैनिक १० लाख केजी मासु उत्पादन हुने गरेकोमा अहिले आधा मात्रै उत्पादन छ । लकडाउनका बेला किसानले अण्डा र चल्ला नष्ट गर्ने अभियान (चिकेन होलिडे) नै चलाएका थिए ।
ह्यचारी व्यवसायीले चल्ला बिक्री हुन छाडेपछि चल्ला नै नष्ट गरे । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले ७० दिनसम्म चल्ला उत्पादन नहुँदा मासु उत्पादन कम भएको बताए । “कुखुरा बोक्ने गाडीसमेत चल्न पाएनन्, असारपछि बल्ल केही खुकुलो भएको छ”, उनले भने, “बजारमै माग नभएपछि चल्लासमेत कटौती गरियो ।” पोखरेलका अनुसार ७० दिनको अवधिमा ४ करोड २० लाख चल्ला नष्ट गरिए । त्यसबेला ब्रोइलर कुखुरा ४ करोड, लेयर्स २० लाख चल्ला नष्ट गरिएका थिए ।
बजारमा मागको तुलनामा आपूर्ति नभएपछि मासुको मूल्य बढेको उनले बताए । असारयता भने प्रत्येक साता ३७ लाख कुखुराको चल्ला उत्पादन हुँदै आएको छ । यसअघि प्रत्येक साता ४२ लाख चल्ला उत्पादन हुने गरेको थियो । किसानले बल्ल चल्ला राख्न थालेका छन् । चल्लाको मूल्यसमेत बढेको छ । ब्रोइलरको ५५ रुपैयाँबाट ६० रुपैयाँ, लेयर्सको ९० रुपैयाँबाट १ सय रुपैयाँ बढेर बिक्री हुन थालेको छ । “चल्लाको मूल्य बढे पनि पहिलेको नोक्सानी व्यहोर्न गाह्रो छ”, पोखरेलले भने, “लकडाउनको ७० दिनमा मात्रै कुखुरा व्यवसायीले १५ अर्ब २६ करोड ५० लाख रुपैयाँ घाटा भोगेका छन् ।” नेपालमा ३ सय ह्याचरी छन् । २ हजार बढी लेयर्सका ठूला फर्म रहेको ह्याचरी संघले जनाएको छ ।
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल चितवनकै लागि पर्याप्त कुखुरा रहेको जिकिर गर्छन् । “राम्रो तौल बराबरका कुखुरा त छैनन् । तर, अभाव छैन”, उनले भने, “चितवनलाई पुग्ने उत्पादन छ, बाहिरी जिल्लामा पर्याप्त पठाउन सकिएको छैन ।” चितवनमा पोल्ट्री सप्लायर्स एक सय बढी छन् । संघका महासचिव महेश्वर पोखरेलले उत्पादन अहिले करिब ३५ प्रतिशत रहेको बताए । “१५ प्रतिशतमा झरेको उत्पादन अहिले बढेको छ”, उनले भने, “एक हप्तापछि बाहिरी जिल्लापनि सजिलै पठाउन सकिनेछ ।” यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चिकेन होलिडे गरेर व्यवसायीले कुखुराको मासुको मुल्य बढाएका थिए ।
मासु खोज्नै सकस
भरतपुर–१० का अनुज जोशी कुखुरा मासु बिक्रेता हुन् । जिउँदा कुखुरा खोज्दाखोज्दै उनी दिनहुँ व्यस्त बन्छन् । “किसानको घरसम्म पुग्न सकिँदैन, सप्लायर्सबाट मागेको आधा तौल पनि पाइँदैन”, जोशी भन्छन्, “कुखुरा पाउनै गाह्रो छ ।” सप्लायर्सले किसानबाट करिब २ सय ७० रुपैयाँमा किन्ने गर्छन् । भरतपुर–६, चोकबजारकी कुखुरा पालक किसान सरस्वती दवाडी मूल्य पाएकोमा खुसी छन् ।
“कुखुरा पाल्न थालेको दुई वर्ष भयो, वर्सेनि घाटा नै हुन्थ्यो”, उनले भनिन्, “पछिल्लो लटमा हजार कुखुरा बेच्दा डेढ लाख रुपैयाँ आम्दानी निस्कियो ।” उनले गतवर्ष १ सय २० रुपैयाँ केजिसम्म बेचेकी थिइन् । कुखुरा व्यवसायी राजेन्द्र लामिछाने किसानले लागत मूल्य पाउन कठिन भएको बताउँछन् । “कहिले भाउ बढ्छ, कहिले घट्छ”, उनी भन्छन्, “लागत पनि बढ्दो छ, लगानी डुबेर कैयन किसान पलायन छन् ।”





