गैंडाकोट, २० असार
कोभिड–१९ को प्रभावका कारण सिंगो विश्व नै थलिएको अवस्था छ । कोरोनाको संक्रमण झन्झन् बढ्दै जाँदा विश्वजगत त्रसित बनेको छ । यस्तो अवस्थामा यो रोगबाट संक्रमित भएका कतिपयहरुको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परेको हुनसक्छ ।
त्यही नकारात्मक प्रभावलाई निरुत्साहित गरी संक्रमितहरुको मनोबल बढाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न शनिबार संक्रमितहरूका लागि ‘कोरोनासँग काव्य गोष्ठी’ शीर्षकमा साहित्यिक कार्यक्रमको आयोजना गरियो ।
नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय परिसरमा भएको कार्यक्रमलाई लायन्स क्लब अफ वाङ्मययले आयोजना गरेको हो । अहिले रजहरको प्राकृतिक चिकित्सालयमा झण्डै २ सय जनाभन्दा बढी संक्रमितहरुको उपचार भइरहेको छ । उनीहरुको मनोवल बढाउन स्रस्टाहरूले कविता र गजलहरु मात्र वाचन गरेनन् ।
चिकित्सालयमा उपचार गराइरहेकाहरुलाई साहित्यिक कृतिहरु पनि वितरण गरे । नेपालमै पहिलोपटक यसरी धेरै संक्रमितहरुको माझमा यो कार्यक्रम गरेको आयोजकको दाबी छ । यहाँका आइसोलेसन वार्डहरूमा बसेका संक्रमितहरूले कार्यक्रमको रसस्वादन गरिरहँदा आफू पोजिटिभ छु भन्ने कुरा पनि बिर्सिएको महसुस गरेका थिए । बलियो आत्मविश्वास कोभिड–१९ बाट मुक्त हुनका लागि अचुक औषधिमध्येको एउटा हो । आइसोलेसन वार्डबाट सजिलैसँग देख्न र सुन्न सकिने गरी दूरी कायम गरेर गरिएको कार्यक्रमको अध्यक्षता रामहरि शर्मा ‘शराह’ ले गरेका थिए ।
क्लबका कोचिफ एरिया कोअर्डिनेटर होमनाथ जैसी कार्यक्रमको प्रमुख अतिथि थिए । कार्यक्रमका अन्य अतिथिहरुमा प्रकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री र डा. विनोद पौडेललगायत थिए । गोर्खे साइँलोले सञ्चालन गरेको कार्यक्रमलाई लायन्स सुजन अधिकारीले सहजीकरण गरेका थिए ।





