चेपाङ युवकको प्रगति : कार र प्यारामोटर निर्माण

ध्रुवराज खनाल

रत्ननगर, ४ असार

चेपाङ समुदायलाई सीमान्तकृत समुदायको रुपमा लिइन्छ । डाँडाकाँडामा बस्ने भएकाले यहाँका समुदायमा शिक्षा, स्वास्थ्यलगायत मानव विकासका मुख्य आधारमा पहुँच कम छ । आर्थिक, सामाजिक प्रगतिमा पनि उनीहरु पछि छन् ।

सोही समुदायका एक युवाले भने एकपछि अर्को प्रगति गर्दै गइरहेका छन् । सामान्य पढाइ भए पनि तिखो दिमाग र मेहनतका कारण चितवन राप्ती–२, गड्यौलीका सरोज चेपाङको प्रगति देख्दा जो कोहीलाई अनौठो लाग्छ । सुरुमा खिसिट्युरी गर्नेहरु अहिले उनको कलाको प्रशंसा गर्छन् ।

एक सिटको प्यारामोटर निर्माण गरी सफल परीक्षणसमेत गरेका सरोज अहिले विद्युतीय कार र प्यारामोटर बनाउन व्यस्त छन् । मिलन टोल बस्ने युवा वैज्ञानिक सरोजले पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्ज गरेर चलाउन मिल्ने बनाइरहेका छन् । दुई वर्षअघि राप्ती नदी किनारमा प्यारामोटर सफल परीक्षण गरेका उनको व्यस्तता अहिले कार बनाउनमा छ ।

चालकसहित पाँच जनाको क्षमता भएको पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्जबाट चल्ने बनाएका हुन् । उनले सो गाडी परीक्षण पनि गरिसकेका छन् । ४ घण्टा चार्ज गरेपछि १ सय २० किलोमिटर चल्ने उनको दाबी छ । उनले नयाँ कार बनाउँदा १० लाखदेखि १२ लाखसम्म खर्च हुने बताए । पाँच जना क्षमताको कारसँगै उनले तीनपाङ्ग्रे कार पनि बनाइरहेका छन् ।

जसमा दुई जना मात्र अट्ने छन् । त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. रामेश्वर अधिकारीले अर्डर गरेकाले तीनपाङ्ग्रे कार बनाइरहेको सरोजले वताए । सो कारको वाहिरी भाग वनाउन वाँकी छ । लकडाउनका कारण निर्माणमा समस्यामा परेको उनले सुनाए । कारसँगै उनले दुई सिटको प्यारामोटर पनि बनाइरहेका छन् । उनले एकपटक परीक्षण गरिसकेको बताए पनि आधिकारिकरुपमा सरोकारवालाको उपस्थितिमा पुन परीक्षण गर्ने तयारी गरेका छन् ।

“कारसँगै प्यारामोटरसमेत निर्माण गरिएको छ”, सरोजले भने, “लकडाउनले सामान खरिदमा समस्या परेकाले निर्माण पूरा हुन सकेको छैन ।” लगातार काम गरे १५ दिन तीनपाङ्ग्रे कार बन्ने उनको दाबी छ । एउटा ‘एयरबोट’ बनाएर पोखरीमा परीक्षण गरे पनि त्यसले त्यति चर्चा पाएन तर अहिले पाँच वटा एयरबोट अर्डर आएको उनले बताए ।

उनीसहित डा. रामेश्वर अधिकारी, चिरञ्जीवी ओली, रोमाञ्च डल्लाकोटी र सन्तबहादुर चेपाङ मिलेर सरोज चेपाङ परीक्षण तथा प्रशिक्षण केन्द्र दर्ता गरेका छन् । यसलाई प्राइभेट कम्पनीको रुपमा विस्तार गर्ने तयारी छ । सुरुदेखि केन्द्र निर्माण र गाडी निर्माणका लागि हालसम्म ४० लाखभन्दा बढी खर्च भइसकेको सरोजले बताए । केन्द्रले एयर एम्बुलेन्स र ३२ सिटे बस निर्माण गर्ने योजना बनाएको छ । सीमान्तकृत समुदायको रुपमा चेपाङ समुदायलाई लिइन्छ ।

त्यसैले पनि राप्ती नगरपालिकाले सरोजको प्रयासलाई साथ दिँदै हालसम्म करिब ३ लाख बराबरको सामान सहयोग गरिसकेको छ । प्यारामोटर बनाएर सफल परीक्षण गरेपछि संघीय सरकार र बागमती सरकारले समेत युवा वैज्ञानिकका रुपमा सम्मान गरिसकेको छ । कक्षा पाँचसम्म अध्ययन गरेका सरोजले काठमाडौंमा ४ वर्ष मेकानिकको काम गरेका थिए । त्यसपछि घर फर्किएर ड्राइभिङ सिकेर उनी साउदी अरेबिया पुगे । तर, त्यहाँ चार महिना मात्र टिके ।

साउदीबाट फर्केर उनी फेरि काठमाडौं पहिलेकै काममा फर्किए । त्यहाँको कमाइले टिक्न सक्ने अवस्था नभएपछि आफैंले केही गर्ने सोच बनाएर उनी आफ्नै ठाउँमा प्यारामोटर बनाउन सुरु गरेका थिए । उनी सामान्य परिवारका हुन् । उनका बुवा कतारमा रोजगारी गर्छन् । बुबा आमाका सहयोगले नै आफू यो ठाउँमा आइपुगेको सरोजले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट