भरतपुर, २ जेठ
अस्मिन घिमिरे विद्यार्थी राजनीतिबाट अघि बढेका नेकपासम्बद्ध युवा नेता हुन् । उनी राष्ट्रिय युवा परिषद्को चितवन जिल्ला अध्यक्ष भइसकेका छन् । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको विभिन्न पदमा रहेका काम गरेका उनी कविता तथा गीत पनि लेख्छन् ।
उनले केही गीत पनि गाएका छन् । उनका गीतहरु खासगरी राजनीति र सामाजिक विषय केन्द्रित हुन्छन् । अहिलेको राजनीतिक सन्दर्भमा मिल्ने उनको गीत ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ केही समयअघि नै सार्जजनिक भएको हो ।
तर, यो गीतको भिडियो भने अहिले चर्चामा छ । कपिल घिमिरेको संगीतमा रहेको यो गीत उनी आफैंले लेखेका हुन् । विभिन्न राजनीतिक मञ्चमा गाइएको यो गीतको भिडियोमा भने नेपालका ख्यातिप्राप्त कलाकारहरु देखिएका छन् ।
रंग पत्रकार रवि अधिकारीको परिकल्पनामा तयार भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्री पंगेनी, जय किसन बस्नेतलगायत कलाकार देखिएका छन् । म्युजिक भिडियोलाई भोला सुवेदीले निर्देशन गरेका हुन् ।





