लकडाउनमा के गर्दैछन् धुर्मुस ?

रंगशालाको काम चौपट

लकडाउनको आज २९ औं दिन । कोरोना भाइरसको प्रसार रोक्न यतिखेर सारा नेपाली घरमै छन् । अत्यावश्यक कामबाहेक सबै बन्द छन् । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम प्रायः बन्दै छ । केही दिन अघिबाट आंशिक काम गरिए पनि मुख्य कामदारहरु कोही पनि फिल्डमा छैनन् । लकडाउनले गर्दा सामान्य जनजीवन ठप्प भएको बेला रंगशालाको काम हुने कुरै आएन । जनस्तरबाट उठेको सहयोगबाट निर्माण भइरहेको रंगशालाका मुख्य अभियन्ता सीताराम कट्टेल धुर्मुस यतिखेर परिवारसँग काठमाडौंमा छन् । रंगशालाको काम पनि कोरोनाले चौपट पारेको उनी बताउँछन् । सामाजिक काममा सधैं व्यस्त रहने धुर्मुस घरै बसेर पनि राहतका लागि समन्वय गरिरहेका छन् । उनीसँग विनोदबाबु रिजालले कुराकानी गरेका छन् :

पत्नी कुञ्जना घिमिरे सुन्तली र छोरी सुविहानीका साथ सीताराम कट्टेल धुर्मुस

लकडाउन कस्तो भइरहेको छ ?
अपार भीडका साथ प्रदर्शन भइरहेको छ ।
(हाहाहा….लामो हाँसो)

परिवारसँग समय बिताउन पाउनुभएको छ, कसरी दिन कटेको छ ?
हो, परिवारसँग लामो समय सँगै बस्न पाइयो यसपालि । घरमै बसिएको छ । बेलाबेलामा विभिन्न चेतनामूलक भिडियो बनाइएको छ । आफूले निर्वाह गरेको विभिन्न क्यारेक्टरको माध्यमबाट भिडियो खिच्ने, इडिट गर्ने र सार्वजनिक गर्ने काममा अलि बढी समय बितेको छ । तर, त्यत्तिमै समय बिताएको चाहिं होइन । घरैबाट पनि लकडाउनका कारण समस्यामा परेका जनताहरुलाई सजिलो बनाउनका लागि राहत दिनका लागि विभिन्न ठाउँमा समन्वय पनि गरिरहेका छौं ।

कस्तो राहत ?
हामीसँग जोडिनुभएका विभिन्न ठाउँमा विभिन्न संघसंस्था छन्, व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुसँग निरन्तर समन्वयमा रहेर राहतका लागि सजिलो बनाइरहेको छु । अनि आजैबाट धुर्मुस–सुन्तली फाउण्डेसनले काठमाडौंबाट राहत बाँड्न थालेको छ । हामी आजै करिब साढे ५ लाख बराबरको राहत सामग्री बाँड्दै छौं । यो राहत त्रिभुवन विश्वविद्यालयमा पढ्ने र लकडाउनका कारण काठमाडौंमै अड्किएपछि समस्यामा परेकाहरुको लागि हो । करिब ४ सय विद्यार्थीले यो राहत पाउनेछन् । राहतका लागि पहिलेजस्तो सजिलो त छैन । तर, सकेसम्म गरिरहेका छौं ।

अनि कोरोनाले रंगशालाको काम त चौपट भयो होइन ?
हो, समस्या आइप¥यो । यो हाम्रो मात्रै समस्या होइन, विश्वले नै भोेगेको छ । लकडाउनदेखि पूरै काम बन्द भयो । एकसाता अघिदेखि भित्री केही काम मात्रै सुरु गर्न सकेका छौं । त्यहाँ अहिले २५–३० जना छन् । मेसिनले गर्ने कामहरु जस्तै माटो बोक्ने, छान्ने काम गरिरहेका छन् । आशा गरौं, केही समयपछि सञ्चालनमा आउला । जस्तो परिस्थिति आउँछ त्यहीअनुसार अघि बढ्ने त हो । हामीसँग पूर्णकालीन मान्छे ३१३ जना थिए । उनीहरुले द्रुत गतिमा काम गरिरहेका थिए । कोरोनाका कारण काम बन्द भएपछि सबै आ–आफ्नो घर गएका छन् । सबैजना हाम्रो सम्पर्कमा छन् । सरकारले पनि परियोजनाहरु निर्माण गर्नका लागि खुला गरिसकेको छ । लकडाउन सकिएलगत्तै पूर्ण क्षमतामा काम थाल्छौं ।

तपाईंको योजनाअनुसार त काम नहुने भो अब होइन ?
अवस्था कसरी अघि बढ्छ भन्ने नै थाहा छैन । हामीले बैशाख महिनामा मैदानको काम सक्ने आँकलन गरेका थियौं । ग्राउण्डको कामका लागि सामान जुटाइसकेका थियौं । अवस्था सामान्य भइरहेको भए खेलमैदान घोषणा गर्ने अवस्थामा पुगिसकेका हुन्थ्यौं ।

पैसाले पनि अप्ठ्यारो पर्ने भयो नि ।
हामीसँग केही ब्याकअप छ । त्यसैले काम चलाउँदै जाने हो । योबेलामा आर्थिक सहयोगको अपिल गर्ने कुरा पनि भएन । गर्नै हुँदैन । सबै समस्यामा भएको बेला आर्थिक सहयोगको कल्पना हामी गर्दैनौं । भोलि वातावरण सहज भयो भने फेरि पहिलेको जस्तै जनताको साथ पाउनेमा ढुक्क छौं । राज्यले पनि आफ्नो भूमिका खेल्छ होला । हामीले धनधान्याचल पनि चलाएका थियौं । त्यसबाट उठेको पैसा हामीलाई हस्तान्तरण भएको छैन । हामीले जनस्तरबाट प्राप्त पैसाबाटै काम अघि बढाइरहेका थियौं । अब काम सुरु हुनासाथ फेरि निरन्तर जानेछ ।

खासमा रंगशालाको कामचाहिं कति पूरा भएको छ ?
हामी पूर्ण क्षमतामा चलेका थियौं । ग्राउण्डको काम ८५ प्रतिशत सकिसकेका थियौं । जगको काम ९० प्रतिशत सकिएको छ । पीसीसी ढलानको काम ७० प्रतिशत सकेका छौं । १६४ वटा पिल्लरको लागि तयारी भइसकेको छ । उठाउन मात्रै बाँकी छ । हाम्रो लक्ष्य यसपालिको वर्षाभन्दा अघि नै सबै ३९२ वटा पिल्लर उठाएर एक ढलान गर्ने भन्ने थियो । वर्षा पनि आउन लागिसक्यो । अब काममा फर्किएपछि कसरी रिकभर गर्ने भन्नेमा सल्लाह गरिरहेका छौं । योबीचमा पनि हामी त्यत्तिकै बसेनौं । अफिसियल काम निरन्तर गरिरह्यौं । काममा फर्किएपछि जनशक्ति कसरी परिचालन गर्ने, कुन समयमा कति काम गर्ने भन्ने विषयमा योजना बनाएका छौं ।

लकडाउनमा घर बसिरहेकाहरुलाई के भन्नुहुन्छ ?
नआत्तिई बसौं । सुरक्षित रहौं । अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कौं । घरमा बस्दा पनि चेतनामूलक सामग्री हेरौं, पढौं । हामीले पनि चेतना दिने भिडियोहरु बनाएका छौं । विभिन्न माध्यममा हेर्न सकिन्छ । यो महामारी क्षणिक हो । हामी फेरि सामान्य अवस्थामा फर्कन सक्छौं । धैर्यचाहिं गर्नुपर्छ । अनि स्वस्थ रहौं र अरुलाई सकेको सहयोग पनि गरौं ।

२०७७ बैशाख ९ गते मंगलबार

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट