
हो! नव वर्ष यसपाली तिमी शान्ति हैन क्रान्ति बनेर आऊ
बुद्ध हैन बम बनेर आऊ
अकबर हैन हिटलर बनेर आऊ
कोरोनाको बस्तीमा बम खसाल्दै
दुस्ट कोभिडको साम्राज्यलाई ध्वस्त पारेर आऊ
कोरोनाको साखा सन्तानलाई फाँसीमा झुण्ड्याएर आऊ
नाथेको फुर्तिलाई मिसाईलमा पिल्स्याएर आऊ
कोरोनाको नाश गर्ने कसम खाएर आऊ
कोभिड्को बिनासको संकल्प लिएर आऊ
बिन्दास नबन तिमी अब आवेसमा आऊ
सलामी हैन तिमी सेतो मलामी बनेर आऊ
अलछिना यो कोरोनाको बध गर्न क्रोधले दार्हा बुकेर आऊ
नाथे भाइरसको मृत्युको शंख फुकेर आऊ…!
सिंहदरबार देखि पेन्टागन हुदै ह्वाइट हाउसको उद्धार गरेर आऊ
पशुपतिदेखि पेरिस हुदै कोरोनले थिलोथिलो पारेको युरोपको उपचार गरेर आऊ
संसारभर फैलिएका नेपालीका धुरी-धुरी, आँगन-आँगन टेक्दै आऊ
विश्व-मनुष्य कल्याणका निमित्त कोरोनाको अन्त्यष्टि गर्न आऊ , नव बर्ष तिमी आऊ
संसार सिध्याउने त्यत्रो शक्तिशाली बम बनाउने खतरनाक मान्छे
डरलाग्दा सर्प गोही, अजिङ्गरलाइ सजिलै पचाउने त्यस्तो भयानक मान्छे
हात्ती गैडा बाघ भालुलाई सानो बाँसको कटेरोमा थु नेर रमाउने ज्याद्रो मान्छे
दुष्ट कोरोनलाइ न देख्न सक्यो न छेक्न सक्यो, न समाउन सक्यो न रमाउन सक्यो
देख्न मात्र सकेको भए, समाउन मात्र भ्याएको भए
सर्प र बिच्छीलाइ त काँचै चपाउने मान्छेले के को बाकि राख्दो हो नाथे भाइरस
मान्छेका अंग-अंग काट्दै जोड्दै, जीवन लिदै दिदै, साट्दै बाड्दै गर्न त खप्पिस यो मान्छे
जाबो कोरोनाको के हालत गर्दो हो
ग्रह ग्रह चाहार्न उठेको मान्छे, छुट्टै सुर्य-चन्द्र बनाउन जुटेको मान्छे
आफ्नो हैशियत बिर्सेर प्रकृतीसंग सिघौरी खेल्न तम्सेको मान्छेले
कोरोनाको कुन बिजोग गर्दो हो
तर लुकेर, अदृश्य भै, पछाडीबाट प्रहार गर्ने मान्छेभन्दा पनि ज्याद्रो कोरोनाको सामु
मान्छेको पनि केहि चलेन र आज त्यहि मान्छे कोरोनको आगाडी घुंडा टेकेको छ
डरले थर थर छ, आतंकित छ, त्रसित छ, सातो गएको छ, होस् हवास उडेको छ
मान्छे देखि डराएर भाग्दैछ
पैसाको लागि मर्न तयार त्यो मान्छे
पैसाको शक्तिमा पृथ्वी त के आकाशका जुनतारा पनि किनीदिन्छु भन्ने मान्छे
पैसाकै आडमा मंगल ग्रहमा राज्य चलाउछु भन्ने मान्छे
उस्तै परे पैसाले भगवानलाइ नै पनि भ्रममा पारिदिन्छु भन्ने मान्छे
कठै बरा…! आज त्यहि पैसा छुन डराएर हिड्नु परेको छ
आफु गुम्ने, आफ्नालाई गुमाउने पिडामा छटपटीएको छ
घिटी-घिटी पर्दा ढाडस दिने, अंगालो हालेर रुने कोहि छैनन्
मलामी पनि नपाएर लमतन्न सुतिरहेछन् चीर निन्द्रामा लीन भएका हरु
मान्छे सबै खाईसक्यो, पचाईसक्यो, सिङ्गै दुनिया सिध्याउ नै आँट्यो
मान्छेले त केहि गर्न सकेन
अब तिमी नै आऊ, जति सक्दो जाडो आऊ, नव बर्ष तिमी आऊ !
मै हुँ भन्ने अमेरिका देखि धनसंगै ज्ञान-विज्ञानको समेत ठुलै ध्वास दिने युरोप हुदै
कोरोना संक्रमणले चेपिएको विश्वको उद्धार गरेर आऊ
लोभ, इर्श्या, क्रोध अनि अहंकारको नशामा निदाएको मान्छेको आँखा खोलेर आऊ
यस्तो समस्या र संकटमा पनि उल्टै राजनीति गर्ने, भ्रस्टाचार, मूल्य वृद्धि, कालाबजारी र तस्करी गर्ने
यस्तो रोग-ब्याधि, महामारीको पनि फाइदा उठाउने,मरेका मान्छेका लाशसंग पनि व्यापार गर्ने
ती अपराधी मनुस्य कंकालका कठालो समात्दै
सुन्दर आत्माहरुमा आशा भरोसा जगाएर आऊ
सम्पूर्ण मानव जातिको जीवनबाट कोरोनको त्रास भगाएर आऊ
गगन चुम्बी महल हुदै चम्पा र पम्फाका भत्केका मझेरी सम्म आऊ
काठमाडौँ हुदै कालीकोट सम्म आऊ
पाँचतारे टोटल हुदै माइली काकीको नाङ्लो पसलसम्म आऊ
भत्किएका छन् मानव मनका भित्ताहरु, रातो माटो र कमेरो लिएर आऊ
बन्द छन् भान्छा घरहरु, रासन पानी र चुल्हो बनेर आऊ
संक्रमितको औषधि-मूलो बनेर आऊ
प्राणघाती कोरोनको नाश बनेर आऊ
भोकाहरुको गाँस बनेर आऊ
नाङ्गाहरुको कपास बनेर आऊ
घरबारबिहिनको बास बनेर आऊ
लासहरु को सास बनेर आऊ
बिरामीहरुको आत्मविश्वास बनेर आऊ
आफन्त गुमाएका हरुको साहस बनेर आऊ
नव वर्ष यसपाली तिमी निकै खास बनेर आऊ
वासन्ती शृङ्गार गर्न नथाल, मधुमासको रङ्ग भर्न नथाल
चन्द्रमाको शितल, बुद्धको शान्ति अनि मणिको कान्ति खोज्न नथाल
आँखा राता राता पार्दै रिसले दाह्रा बुकेर आऊ
कोरोनको किरिया गर्दै कोभीडको शंख फुकेर आऊ
नव बर्ष- २०७७ तिमी आऊ, जति सक्दो जाडो आऊ, नव बर्ष तिमी आऊ !
(नवलपरासी घर भएकी कवि बिभु अध्ययनका सिलसिलामा नर्वेमा हुनुहुन्छ ।)





