के अब भारत कोरोनाको अर्काे केन्द्रबिन्दु हो ?

शिव गौतम
भरतपुर, ३० चैत
चीनको वुहानबाट युरोप तथा संयुक्त राज्य अमेरिका हुँदै संसारैभर फैलिएको कोभिड १९ रोगको महामारी दक्षिण एसियामा समेत देखिन थालेको छ । दक्षिण एसियाकै ठूलो तथा बढी जनसंख्या भएको देश भारतमा कोरोना संक्रमितको दर प्रतिदिन बढ्न थालेसँगै जोखिम चुलिएको हो । यससँगै चीन, इटाली तथा अमेरिका पछि कोरोना भाइरसको अर्काे इपिसेन्टर अर्थात् केन्द्रबिन्दु भारत बन्न सक्ने सम्भावना बढेको हो ।


भारतमा हालसम्म ८ हजार ४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमितहरू मध्ये ७१ जना आप्रवासी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ ९ सय ६९ जनाको सफल उपचार भइसकेको छ भने २ सय ८८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् । भारतमा सन् २०२० को जनवरी ३० तारिखका दिन पहिलो संक्रमित भेटिएका थिए । बाँकी दुई महिनासम्म भारतमा कोरोना भाइरसका खासै संक्रमित भेटिएनन् । तर मार्च महिना सुरु हुनासाथ त्यहाँ पनि कोरोना भाइरसका थप संक्रमित भेटिन थाले ।

मार्च महिनाको ४ तारिखमा मात्रै २४ नयाँ संक्रमित भेटिए जसमा भारत घुम्न पुगेका इटालीका नागरिक समेत थिए । कोरोना भाइरसका कारण भारतमा संक्रमितको पहिलो मृत्यु भने मार्च १२ तारिखका दिन देखा प¥यो । त्यसपछि भारतमा पनि संक्रमितको संख्या भारी रूपले बढ्न थाल्यो । अप्रिल महिनाको सुरुवात भएपछि मात्रै भारतमा दैनिक करिब ६ सय ४२ को संख्यामा नयाँ संक्रमितहरू देखा पर्न थालेका छन् । वल्र्ड ओमिटरका अनुसार अप्रिल १० मा सबैभन्दा धेरै ८ सय ७५ नयाँ संक्रमित थपिएका थिए । यस्तै, अप्रिल महिना सुरु भएपछि नै भाइरसका कारण भारतमा दैनिक करिब २३ जनाले ज्यान गुमाउँदै आएका छन् ।

वर्ल्डओमिटरले प्रस्तुत गरेको तथ्याङ्कलाई केलाउँदा इटालीमा संक्रमित तथा मृतकको दैनिक वृद्धिदर जस्तो थियो, भारतमा पनि सो दर त्यस्तै गतिमा अगाडी बढिरहेको छ । भारतमा जनवरी ३० तारिखमा पहिलो संक्रमित पुष्टि हुँदा इटालीमा जनवरी ३१ तारिखमा पहिलो संक्रमित फेला परे । त्यसको २१औं दिनमा मात्रै इटालीमा संक्रमितको पहिलो मृत्यु भयो । यता भारतमा भने पहिलो संक्रमित भेटिएको ४२ दिनपछि मात्रै पहिलो मृत्यु देखा परेको थियो । यस अर्थमा इटालीको तुलनामा भारतले संक्रमण विरुद्ध पूर्वतयारी गर्न प्रशस्तै समय पाएको थियो । त्यस अवधिमा खाडी लगायतका मुलुकमा रहेका भारतीय नागरिकहरू भटाभट स्वदेश फर्कन थाले ।

सरकारले विदेशबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्न त आग्रह ग¥यो, तर धेरैले सरकारको आग्रहलाई वास्तै गरेनन् । संक्रमितको संख्या झन् भन्दा झन् बढ्दै गयो । मार्चको ४ तारिखसम्ममा इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०० नाघेको थियो । इटालीमा पहिलो मृत्युपछि १०० व्यक्तिको मृत्यु हुन १२ दिन लाग्यो । त्यहाँ अर्काे १०० जनाको मृत्यु भने ३ दिन भित्रै हुन पुग्यो । यता भारतमा पहिलोदेखि १००औं व्यक्तिको मृत्यु हुन २३ दिन लाग्यो । जबकी त्यहाँ पनि ४ दिनभित्रै अर्काे १०० जनाको मृत्यु हुन पुग्यो । भारतमा पहिचान हुन बाँकी रहेका संक्रमित कति छन् भन्ने कुराको यकिन गर्न सकिने अवस्था पनि छैन । भारतले हालसम्म जम्मा १ लाख ८९ हजार १ सय ११ जनाको मात्रै कोरोना परीक्षण गरेको छ । एक अर्बभन्दा बढी जनसंख्या भएको मुलुकमा यो संख्या निकै कम हो ।

भारतको महाराष्ट्र प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ७४ पुगेको छ । त्यहाँ १ सय १० जना संक्रमितको ज्यान गइसकेको छ । यस्तै भारतको राजधानी नयाँ दिल्लीमा ९ सय ३ जना संक्रमित भेटिएका छन् जसमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् । तमिल नाडुमा पनि ९ सय ११ जनामा भाइरसको पुष्टि भइसकेको छ । त्यहाँ भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ । नेपालसँग सीमाना जोडिएका प्रदेशहरूको हकमा उत्तरप्रदेशमा ४३३, उत्तराखण्डमा ३५, विहारमा ६० र पश्चिम बंगालमा १३६ जनामा भाइरसको संक्रमण देखिएको छ ।

२४ मार्चदेखि यता भारतमा पनि २१ दिनका लागि देशव्यापी बन्दाबन्दी लागू गरिएको छ । अवस्था अझै पनि प्रतिकूल रहेकाले भारत सरकारले अझै बन्दाबन्दी लम्ब्याउन सकिने संकेत दिएको छ । भारतसँग खुल्ला सीमाना भएकाले भारतबाट संक्रमित नेपाल प्रवेश गर्नसक्ने सम्भावना सधैं उच्च रहेको छ । नेपालमा बन्दाबन्दी जारी हुनुअघि वा हालै पनि भारतको बाटो भई नेपाल प्रवेश गरेका सबैलाई पहिचान गरेर छुट्टै राख्न जरुरी छ । होइन भने नेपालमा पनि कोरोना भाइरसले महामारीको रूप नलेला भन्न सकिँदैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट