विप्लव काफ्ले
भरतपुर, ३० चैत
माडी–१, बरुवाका युवा सञ्जय महतो लकडाउनका बेला सामाजिक काममा खटिएका छन् । आफ्नो निजी कार बिरामी बोक्न प्रयोग गरेका छन् ।
चैत २४ गते सामाजिक सञ्जाल फेसबूकमा ‘कतै कोही बिरामी परेमा मेरो गाडी हस्पिटलसम्म पुग्न सहयोग होस्’ भनेर सूचना राखे । त्यसपछि उनको निजी कारबाट एम्बुलेन्सको जस्तै सेवा हालसम्म १३ जना बिरामीले लिएका छन् । जसमध्ये ९ जना गर्भवती र ४ जना अन्य बिरामी थिए ।
सञ्जयले बिरामीलाई अस्पतालसम्म लगेको कुनै शुल्क लिँदैनन् । मोबाइलमा खबर पाएलगत्तै उनी बिरामीको घरदैलोमै पुग्छन् । अस्पताल लगिदिन्छन् । “लकडाउनका बेला सवारीसाधन सजिलै पाइँदैन”, सञ्जय भन्छन्, “बिरामीलाई सहज होस् भनेर निःशुल्क सेवा दिने अभियान चलाएको हुँ ।”
सञ्जय युवा व्यवसायी हुन् । बरुवा बजारमा एसके मोटर्स ३ वर्षदेखि सञ्चालनमा छ । त्यहाँ होण्डा ब्राण्डका मोटरसाइकल तथा स्कूटर बेच्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि उनको व्यवसाय पनि बन्द छ । तर, उनले फुर्सदको समयलाई त्यसै खेर फालेका छैनन् ।

मास्क, पञ्जा, स्यानिटाइजर, टोपी लगाएरै उनी बिरामीको घरसम्म पुग्छन् । सुरक्षाका लागि रेनकोट, जुत्ता छुटाउँदैनन् । “कोरोनाको त्रास पनि छ । तर, उपचार नपाएर कोहीले ज्यान गुमाउन नपरोस्”, उनी भन्छन्, “एकले अर्कोलाई सहयोग गर्ने बेला यही हो ।”
माडी–१ का अम्बाबास, भंगेता, लक्ष्मुनिया, चैनपुर, कल्याणपुर, वनकट्टालगायत गाउँका बिरामीलाई सञ्जयको कार एम्बुलेन्स झैं बनेको छ । आइतबार वनकट्टाकी १८ वर्षकी ममता बोटेलाई बेलैमा बसन्तपुरमा रहेको बघौडा अस्पताल पु¥याए । गर्भवती रहेकी ममताले अस्पताल पुगेको ५ मिनेटमै पहिलो सन्तान छोरी जन्माइन् ।
“मन थाम्नै सकिन, दोस्रो छोरी जन्माएको अनुभूति गरें”, सञ्जय सम्झन्छन्, “बच्चाको तौल कम थियो, भरतपुर रिफर भयो, ममतालाई लिएर भरतपुर आइपुगें ।” ममता र उनकी छोरी हाल भरतपुर अस्पतालको सघन उपचार कक्षमा छन् । ममता ८ महिनामै सुत्केरी भएकी हुन् ।
सञ्जयको आफ्नै छोरी भने यही चैत २२ गते १ वर्षको पुगिन् । “समस्यामा परेकालाई सहयोग गर्न पाउँदा खुसी लाग्दो रहेछ”, उनी भन्छन्, “अभिभावकको भूमिका खेलेजस्तो लाग्ने रहेछ ।”
कल्याणपुरकी एक महिलामा पाठेघरको समस्या थियो । रक्तस्राब बढ्न थालेपछि अस्पताल लैजान उनको परिवारले प्रयास थाल्यो । दुर्भाग्य, ४–५ ठाउँमा फोन गर्दा पनि केही लिन आएनन् । त्यसपछि सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई फोन गरे । “सञ्जयलाई खबर गरेपछि उनी तुरुन्तै पुगे, बघौडा अस्पताल लगियो”, वडाध्यक्ष पौडेलले भने, “ती महिलालाई राति अस्पतालले नै एम्बुलेन्समा भरतपुर रिफर गरिदियो, अहिले पाठेघरको अप्रेसन भएको छ ।”

पौडेलका अनुसार गरीब तथा विपन्न समुदाय सञ्जयको सहयोगबाट लाभान्वित बनेका छन् । सञ्जय ५ वर्ष कतार बसेर स्वदेश फर्किएका युवा हुन् । विदेशमा उनी ‘एकाउण्टेण्ट’ को काम गर्थे । ६ वर्ष पहिले नेपाल फकिर्एका उनले भरतपुरमा साथीहरुसँग मिलेर ‘जेपी मोटर्स’ मा लगानी गरे ।
पछि उनी आफ्नै जन्मभूमि माडी हानिए । “व्यवसाय र सेवा फरक रहेछ”, सञ्जय भन्छन्, “सेवा गर्दा आत्मसन्तुष्टि मिल्ने रहेछ ।” सञ्जयको रातो रङको ‘सुजुकी ब्रेजा’ कार लकडाउनका बेला निःशुल्क सेवा दिने एम्बुलेन्स सरह चिनिन थालेको छ ।
बसन्तपुरको अस्पतालसम्म बिरामी लैजान सहजै भए पनि भरतपुर ल्याउँदा केही कठिन छ । उनले बघौडा अस्पतालबाट रिफर गरेको कागजपत्रका आधारमा बिरामीलाई भरतपुरका अस्पतालसम्म लगिदिने काम गर्दै आएका छन् । कारमा लाग्ने तेल खर्चसमेत सञ्जयले नै आफैै व्यहोर्छन् ।





