लेखराम सापकोटा
गैंडाकोट, ३० चैत
गैंडाकोट–२ स्थित नयाँबजारमा शनिबार साँझ तरकारी किन्न आएकी समृद्धि शर्माले सिमी, मुला, बन्दा, गोलभेँडा र फर्सी छानिरहेकी थिइन् । उनको पछिपछि दूरी राखेर लाइनमा बसेकाहरू तरकारी छान्न प्रतीक्षारत देखिन्थे ।
“लकडाउनले गर्दा ताजाताजा तरकारी खान पाइएको छ”, उनी आफ्नै सुरमा बोलिरहेकी थिइन्, “होटेलहरूले किन्न परेको छैन क्यारे, हामीले अलिअलि महँगो भए पनि ताजा खान पाएका छौं ।”
हुन पनि हो, हिजोआज होटेल व्यवसाय बन्द छन् । ठूलो मात्रामा तरकारी खपत हुने होटेलमा अहिले तरकारी जाँदैन । त्यसैले गर्दा ठूला तरकारी बजार पनि बन्द छन् । सामान्य किराना पसलदेखि ठेला र डोकामा तरकारी बेच्नेहरूले घरघरै सेवा दिइरहेका छन् ।
गैंडाकोट खेतीयोग्य जमिन भएको क्षेत्र हो । यहाँका अधिकांश घरमा आफूलाई चाहिने तरकारी आफ्नै करेसामा फलेको पाइन्छ । भाडामा बस्नेहरूले भने पसलमा गएर किनमेल गर्छन् ।

बजारबाट ल्याउने पसलेले हिजोआज बारीमै गएर ल्याउन थालेपछि उपभोक्ताले ताजा तरकारी खान पाएका छन् । अरूबेलामा बजारको ताजा तरकारी सकेसम्म होटेलले उठाएर लैजाने गर्थे । तरकारी बजारमा भीड हुने भएपछि कोरोना संक्रमणको जोखिम रोक्न स्थानीय प्रशासनले तरकारी तथा हाट बजारलाई बन्द गराएपछि किराना पसलबाट मात्रै तरकारीको व्यापार हुने गरेको छ ।
गैंडाकोट–८ स्थित कालिकाचोक नजिकैको कँडेल पशु विकास कृषि फार्मका तिलक कँडेलले हिजोआज अधिकांश तरकारी गाउँघरमै खपत हुनेगरेको बताए । “नारायणगढबाट पनि तरकारी लिन आउँछन्”, उनले भने, “हिजोआज घरकै ग्राहक धेरै आएका छन्, किराना पसलबाट बेच्नेहरूले पनि लगेका छन् ।” उनको फार्ममा अहिले फर्सी, मुला, भेन्टा, खुर्सानी, गोलभेंडा र बन्दा फलेका छन् ।
गैंडाकोट–७ स्थित गैरीमा तरकारी खेती गरेका कृष्ण कँडेल शनिबार दिउँसो गोठ तथा करेसाबारी कृषि फार्ममा साग टिपिरहेका थिए । तरकारी लिन फार्ममै आएका ग्राहकका लागि उनले सागको मुठो पार्दै भने, “अरूबेला तरकारी लगेर नारायणगढसम्म पुग्थें, तर हिजोआज ग्राहक यहीँ आएका छन् ।”

लकडाउनले गर्दा तरकारीको खपत कम भएकोले उनले उत्पादन पनि त्यही किसिमले गरेको बताए । कँडेलले फार्ममा अहिले गोलभेँडा प्रशस्त छन् । सिमी, फर्सी र भेन्टा पनि फलेका छन् । उनको फार्मका तरकारी स्थानीयस्तरमै बिक्री भइरहेको छ ।
लकडाउन भए पनि पुरानै मूल्यमा तरकारी बेचेको कँडेल बताउँछन् । गैंडाकोट–६, विजयनगरकी कौशिला सापकोटाले करेसाबारीमा धनिया, लसुन, मुला, बन्दा, फर्सी फलाएकी छन् । “आफूलाई आवश्यक तरकारी यहीँबाट पुगेको छ”, उनी भन्छिन्, “अहिलेसम्म किनेर खान परेको छैन, हामी त छिमेकमा पनि तरकारी आदानप्रदान गर्छौं ।”
थुम्सीका भूमिश्वर सापकोटाले अलि–अलि तरकारी आफैं फलाएका छन् । कहिलेकाहीँ छरछिमेकबाट पनि आउँछ । हिजोआज किराना पसलमा प्रशस्तै तरकारी देखिए पनि व्यापारीले पहिलेको तुलनामा केही भाउ बढाएको उनी बताउँछन् ।





