लेखक : राज्यसत्ताको स्थायी प्रतिपक्ष

@ मिलन समीर

लेखक भनेको एउटा यस्तो शक्तिशाली प्राणी हो, जो बाचुन्जेल ओझेल परेको हुन्छ , खरानीभित्र छोपिएर रहेको आगोको फिलिङ्गो जस्तै ।जो भौतिक रूपमा मरिसकेपछि पनि जन्मिन्छ अनि त्यसपछि फेरि कहिल्यै मर्दै मर्दैन ।

यहाँ उल्लेख गर्न खोजिएको लेखकीय व्यक्तित्व त्यो हो, जसले सदैव राज्यसत्ताको स्थायी प्रतिपक्षी भएरै आफ्नो कलम निर्भिकताका साथ चलाइरहेको हुन्छ । जसले कहिल्यै राज्यसत्ताको गुलामी भएर तावेदारी गर्दैन । रहर र लहडको भरमा मात्रै कनिकुथी बोक्रा लेखी टोपल्दैन । जे आउँछ मजाले पचाउछ भन्ने विज्ञापनबाट अभिप्रेरित भएर झारपात लेख्दै त्यही झारपाते लेखनलाई ठुलै रुखको भ्रम बोकेर हिंड्ने जस्तो मुर्खता कहिल्यै गर्दैन ।

एक सच्चा लेखक त त्यो हो,जसको लेखकीय अभिव्यक्ति पढ्दै जादा हरेक पाठकको मथिङ्गल हल्लियोस । रौ नै ठाडा भएर आउँन । पाठकले यसअगाडि सोच्न त के कल्पना समेत गर्नै नभ्याएको युगीन विषय सन्दर्भ मुखरित भएर त्यहाँ आएको होस् । नेपालको सन्दर्भमा केन्द्रित रहेर कुरा गर्नुपर्दा एउटा लेखकको लेखकीय क्षमता यस्तो हुनुपर्छ कि – सिहदरबारभित्र दौरा सुरुवालसङ्गै ढाका टोपी लगाएर चिटिक्क परि पस्नेहरुको टोपीभित्र अहिलेसम्म गुम्सिएर बसिरहेको खत्तम मानसिकतालाई यथासिघ्र परिवर्तन गरी उत्तम बनाउन सकोस् । आफ्नै भजनमण्डलीको चौघेरोभित्र बाधिएर भजनमण्डलीकै हावादारी कुतर्कलाई पत्याउदै मेरो विकल्प मै हु भन्ने लिडेढिपी कसेर बसिरहेको तथाकथित निर्विकल्प खत्तम नेतृत्वको बदलामा सर्वोत्कृष्ट विकल्पको खोजी गर्न सकोस् । अनि नेपाली समाजको पिधसम्मै पुगेर अन्याय र अत्याचारसङ्गै समाजभित्र रहेका विकृति र विसङ्गतिको विरुद्धमा चेतनाको राको सल्काएर ढिलै भएपनि एकपटक झन्झनाहट पैदा गर्ने गरि सबै खालका पुरातनवादी सोचाइका विरुद्ध न्यायपुर्ण सोचाइको विकास गर्न सकोस् । जसले धार्मिक अन्धता, जातजातिवाद, लिंगीय तथा क्षेत्रीय उत्पीडनलाई जरैदेखि उखेलेर फ्याक्न सकोस् ।

नेपाली समाजलाई युगीन चेतना र सुनौलो सपनासहितको वैकल्पिक बाटो पहिल्याएर पृथक पाइला चाल्दै सदैव सकारात्मक दिशामा अगाडि बढाएर नयाँ नेपालमा नयाँ भविष्यको सुनौलो सपना देखाउदै त्यसलाई साकार पार्ने दिशामा अग्रसर होस् । फलस्वरूप तमाम अवैज्ञानिक रुढीवादी मुल्य , मान्यता र संरचनात्मक स्वरूपको विरुद्धमा सकारात्मक भविस्य निर्धारक विशाल ज्ञानको महा उत्सवलाई नेपाली समाजको पिधसम्म पुर्याउन सकियोस ।

कुनैपनि समाजको सकारात्मक परिवर्तनको लागि त्यो लेखनले तब नै विशेष महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जब उक्त लेखनलाई समाजको पिधसम्म पुर्याउन सकिन्छ । त्यसपछि बल्ल नवीन लेखनको अवरुद्ध यात्रालाई चालू राख्दै सबै किसिमका घातक लेखकीय आक्रमणको विरुद्ध प्रत्याक्रमण गर्न सकिन्छ र आफुलाई भौतिकवादी र लोकतान्त्रिक ठेकेदार सम्झिनेहरु पछिल्लो समयमा धार्मिक बाबाजीहरुको पक्षमा न्वारानदेखिकै बल निकालेर चिच्याउदै वकालतमा उभिएसङ्गै महासंकटमा परिरहेको वैकल्पिक दर्शन र समग्र प्रगतिशील विचारको उद्दार हुनसक्छ ।

यहाँ त हरेक पार्टीको ट्याग लगाइएका कवि / लेखक / साहित्यकारहरुको बेग्लाबेग्लै संगठन रहेका छन् । जहिले अनि जहाँ गए तापनि त्यहीँभित्रका अमुक राजनैतिक दलको ट्याग लगाइएका कवि / लेखक / साहित्यकारहरु ठोक्किन आइपुग्छन पाइलैपिच्छे । जसले अहिलेसम्म अबको लेखन कस्तो हुनुपर्छ भनेर विचार विमर्श गरेको देखिएकै छैन । सहृदयी सिर्जनशील पाठकहरुलाई समेत अलमल्याउने काम बाहेक अहिलेसम्म अरु केही गरिएकै छैन ।

राज्यसत्ताका हरेक तह र तप्कामा पार्टीकरण गरिएको छ र सिङ्गै देशलाई भड्खालोमा जवर्जस्ती जाक्ने काम गरिएको छ । राज्यसत्तासङ्ग आमनेसामने हुँदा तीतो तर सत्य कुरा निर्धक्कसङ्ग बोल्नुपर्ने कवि / लेखक / साहित्यकारहरुको बोल्ने शक्ति नै हराउदै गएको छ । क्षीण हुँदै गएको छ । किनभने आफुलाई कवि / लेखक / साहित्यकार हो भनेर दावी गर्नेहरुले आफ्नो माउ पार्टीको भलाइ बाहेक दायाँबायाँ अरु केही सोच्दै सोचेनन । सोचुन पनि कसरी ? अमुक राजनैतिक दलको सदस्यता रसीद काटिसकेपछिको अवस्थामा कोही लेखक – लेखक हुनै सक्दैनन् । किनकि अमुक राजनैतिक दलको हितमा काम गर्छु भनेरै सपथ खाइसकेको मान्छे त्यसपछि आलोचक हुन उसलाई उसङ्ग बाकी रहेको ( अ ) नैतिक आधारले कहिल्यै दिदैन ।

अमुक राजनैतिक दलको सदस्यता रसिद काटेर आफ्नो सिङ्गै जीवन एउटा प्रतिवद्व झोले कार्यकर्ताको रूपमा समर्पण गर्दै विवेकहीन लम्पटदास भएर पनि फेरि आफुलाई कवि / लेखक / साहित्यकार हो भन्न लाजसरम नमान्ने हजुर वरिष्ठ ! हस्त नमस्ते हरु ! जसलाई सच्चा सरकारी साहित्यकारको रूपमा भने लिन सकिन्छ र लिनैपर्ने पनि हुन्छ । यहाँ उनीहरूको बारेमा कुरा गर्न खोजिएकै होइन । जसले अहिलेसम्म कुनैपनि राज्यसत्ताको बारेमा केन्द्रित रहेर गरिएको रचनात्मक प्रतिक्रियालाई समेत सिङ्गै राज्यसत्ताबिरोधि अभियानको रूपमा लिएर खरो रूपमा प्रतिवाद गर्दै आइरहेको देखिन्छ । सर्वसाधारण भुइँमान्छेहरुका दैनन्दिन समस्या र चासोसङ्ग अनभिज्ञ रहेर कुनै सरोकार राख्दै नराख्ने राज्यसत्ता जब जनसरोकारका विषय सन्दर्भलाई लिएर अझै असहिष्णु बन्दै अगाडि बढिरहेको हुन्छ, त्यही बेलामा के ठिक हो र के बेठीक हो भनेर छुट्याउन सक्ने नैतिक क्षमतामा ह्रास आएका ( अ ) बौद्धिक लालबुझक्कडहरुले बुलन्दित युगीन आवाजको विरुद्धमा विषवमन गर्दै अनेक भावनात्मक सन्दर्भ जोडेर फुलबुट्टा भर्दै आफ्ना अन्नदाता परमपुज्य प्रिय मालिक साहेबप्रतिको असीम भक्तिभावको अद्वितीय प्रदर्शन गर्ने क्रममा कुनै कसर बाकी नराखेरै आफ्नो असली लेखकीय हैसियत समेत देखाइरहेका छन् ।

लेखक जहिले, जहाँ, जुनसुकै परिस्थितिमा पनि राज्यसत्ताको स्थायी प्रतिपक्षको रूपमा उभिएको हुन्छ । लेखक कहिल्यै पनि मालिकबाट निगाहस्वरुप केही बक्सिस आफ्नो हातमा परिहाल्छ कि भन्ने अभिप्रायले र्‍याल काढ्दैन । लोभी आँखाले राज्यसत्ताको हवेलीतिर लाटीले केरा हेरेझैँ टुलुटुलु हेरि बस्दैन । राज्यसत्ताको आलिसान महल अगाडि उभिएर रहलपहल नै भएपनि केही जुठोपुरो घिच्न पाइहालिन्छ कि भन्ने लालसाले कहिल्यै दुवै हात पसार्दैन । राज्यसत्ताको भजन किर्तन गर्दै शक्तिमा रहेका विवेकहीन मानवरुपी हरामखोर लुटेरा दानवहरुको आरती उतारेर चाकडी चाप्लुसी गर्दैन ।लेखक जहिलेपनि लेखकीय सर्बोच्चताको वकालत गर्दै मानवअधिकार र मौलिक हक अधिकार प्राप्तिको लडाइँमा लेखकीय क्षेप्र्यास्त प्रहार गर्दै सदैव भुइँमान्छेहरुको पक्षमा दृढतापुर्वक उभिएर बुलन्दित आवाजले राज्यसत्ताको कानको जाली फुटाउन अग्रसर रहन्छ ।

आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागि आफ्नो लेखकीय स्वाभिमानलाई रछ्यानमा मिल्क्याएर राज्यसत्ताको तलुवा चाट्न जाने अनि राजनीतिक नियुक्तिको नाममा राज्यसत्ताको जुठोपुरो खान पल्किएकाहरु लेखक होइनन्, उनीहरू त राज्यसत्ताद्वारा पालिएका ईमानदार अनि कर्तव्यनिष्ठ लेखनदास हुन । तथाकथित लेखकको नाममा लेखकीय इतिहासमा कालो पोतिएको अनुहार बोकेर अहिलेसम्म दिग्भ्रमित हुँदै केवल बाच्नुको नाममा ज्युदै मरेका कलङ्कित पात्रहरू हुन् । यिनीहरुबाट नेपाली भाषा साहित्यले कुनै उल्लेखनीय उपलब्धि होला कि भनेर अपेक्षा गर्नु” आकाशको फल आँखा तरी मर” भनेजस्तै हो ।

लेखनदास हुन जति सजिलो छ, लेखनदास हुनबाट आफुलाई सदैव जोगाउदै एउटा सच्चा लेखक हुन अत्यन्तै गाह्रो रहेको छ । त्यसैले त लेखन यात्राको क्रममा अगाडि बढ्दै जादा पहिले लेखक नै भएर चिनिएकाहरु अहिले स्खलित भइ चिफ्लिएर नम्बरी लेखनदास हुन पुगेका छन् र त नुनको सोझो गर्दै आफ्ना अन्नदाता प्रिय मालिक साहेबको नाममा आरती उतारेर अखण्ड भजन किर्तन गर्दै हावादारी समृद्धिको नयाँ थिममा केन्द्रित रहेर तथाकथित नौलो साहित्य सिर्जनाको नाममा बकम्फुसे लेखनको माध्यमबाट भ्रमको खेती गरिरहेका छन् ।

कनीकुथी बोक्रा लेखेर यो एकबारको जुनीको उर्जाशील समय बेकारमा खेर फाल्नु हुँदैन । आफ्नै अन्तरात्मालाई ढाटेर कहिल्यै केही पनि लेख्नु हुँदैन । एउटा सचेत, जागरुक, सिर्जनशील अनि स्वाभिमानी लेखक हुनुको नाताले लेखनको क्रममा मात्रै नभएर जिन्दगीको यात्राको दौरानमा जस्तोसुकै विषम परिस्थितिको सामना गर्नुपर्ने अवस्था आए तापनि तीतो तर सत्य कुरा जहिले र जस्तोसुकै विषम परिस्थितिमा पनि बोल्ने साहस, हिम्मत र आट गर्न सक्नुपर्छ । आफुलाई विवेकहीन, लम्पट लेखनदास हुनबाट जोगाउदै सदैव लेखकीय स्वतन्त्रताको पक्षमा आजीवन लडिरहन सक्नुपर्छ । यस्तो कुरामा कहिल्यै कसैसँग डराउनु हुँदैन । आफ्नै स्वाभिमानलाई बन्धक बनाएर क्षणिक फाइदाका लागि शक्तिको पुजारी कहिल्यै हुनु हुँदैन । एक्लो बृहस्पति झुटो सावित हुने अवस्था आएपनि सत्य र निष्ठाको पक्षमा सतिसाल बनेर उभिन सक्नुपर्छ । आफुलाई लेखक भनेर सार्वजनिक गर्दा जुन गर्वबोध हुन्छ , त्यो गर्वबोध आफुलाई मात्रै होइन अरुलाई पनि सदैव अनुभुत गराइराख्न सक्नुपर्छ । अनि बल्ल जिन्दगीमा एउटा सच्चा लेखक हुनुको सार्थकता प्राप्ति हुन्छ ।

केही अपवाद बाहेक सत्तासीन मान्छे भनेको एउटा यस्तो बेइमानी जन्तुको प्रतिबिम्ब हो , जसले प्रतिभावान र सुयोग्य पात्रलाई एकातिर पन्छाएर सदैव आफुप्रति बफादार रहने कुपात्रहरुलाई स्थान दिइरहेको हुन्छ । आफ्नो कुनै स्पष्ट भिजन नभएपछि राज्यसत्ताको दैनिकी चलाउनैका लागि सक्षम र आफ्नो कामप्रति समर्पित टिम किन र केका लागि चाहिन्छ र भन्ने सोचेरै अन्यत्र कहिँ कतै टिक्न अनि बिक्न नसकिरहेका असक्षम र आफुप्रति मात्रै समर्पित भइरहने कामचोरहरुद्वारा घेरिएर बसेको हुन्छ । जो बाचुन्जेल आफ्ना आसेपासे, अह्रौटे, भरौटे, झोले, चम्चे, ढोके, हुक्के, बैठके र पुच्छरे जस्ता भाट, स्वार्थी तथा चरम अवसरवादी प्रवृत्ति भएका लम्पटदासहरुको आँखाको नानीजस्तै प्रिय रूपमा हाइहाइ भएर अत्यन्तै विलासी जीवनशैलीमा अभ्यस्त रहेका हुन्छन् तर स्वाभिमानी अनि विवेकशील स्वभाव भएका सहृदयी सिर्जनशील मनमस्तिष्कहरुको नजरमा आँखाको कसिङ्गर भएर विझाउदै असीम घृणाको कुरुप पात्रको रूपमा ज्युदै मरेको लास जस्तै हुन्छन् । जो भौतिक रूपमा मरेपछि सदासदाका लागि माटोमा विलिन हुन्छन् । त्यसपछि फेरि उसको अस्तित्वको नामोनिशान केही पनि बाकी रहेको हुँदैन ।

अहिलेसम्मको सन्दर्भमा विश्वको इतिहासमा यही देखिएको छ अनि यही नै लेखिएको छ । सबैलाई चेतना भया … !
करादीखोला, स्याङ्जा ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट