९ चैत/नेपालसँग सीमाना जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहारको पटनास्थित के एम्स अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मात्र उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थाहा भएको थियो । बिहारमा कोरोना भाइरस परीक्षण गर्ने ल्याब छैन । कोलकत्ता लगेर जाँच गराउनुपर्ने भएकाले रिपोर्ट आउन समय लाग्छ । मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएका ती व्यक्तिको कोरोना संक्रमणका कारण रोग प्रतिरोधात्मक क्षमतामा कमी आएर मृत्यु भएको बताइएको छ ।
बिहारमा अर्का एक व्यक्तिलाई पनि कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको छ । ती व्यक्ति केही दिन अघिमात्र स्कटल्याण्डबाट फर्किएका थिए ।
भारतमा हालसम्म ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।




