अन्तर्वार्ता:‘ओमशान्ति सबैको आवश्यकता बनेको छ’

टेकबहादुर श्रेष्ठ,
प्राचार्य, ओम शान्ति एकेडेमी, कृष्णपुर

टेकबहादुर श्रेष्ठ शिक्षा क्षेत्रमा सुपरिचित नाम हो । लामो समयदेखि अनवरत शिक्षण क्षेत्रमा सक्रिय श्रेष्ठले मनशिक्षा इङ्लिस बोर्डिङ स्कूल, हिलबर्ड इङ्लिस बोर्डिङ स्कूल, सनराइज इङ्लिस बोर्डिङ स्कूल हुँदै अहिले ओम शान्ति एकेडेमीको प्राचार्यको भूमिकासम्म आइपुग्दा ३५ वर्षको शैक्षणिक अनुभव सँगालेका छन् । चितवनको शैक्षिक विकासमा निजी क्षेत्रबाट अत्यन्त ठूलो भूमिका निर्वाह गरेको सनराइज स्कूलको सञ्चालक समितिका सदस्य समेत रहेका उनले वि.सं. २०६९ सालदेखि वि.सं. २०७५ चैतसम्म प्राचार्यको कुशल भूमिका निर्वाह गरेका थिए । नागरिक समाज काठमाडौँले संस्थागत विद्यालयहरूका प्राचार्यहरुमध्ये एक जना उत्कृष्टलाई प्रदान गर्ने ‘वरिष्ठ शिक्षाविद् तथा उत्कृष्ट प्राचार्य ः २०७२’ को सम्मानबाट सम्मानित भएका उनलाई शैक्षिक क्षेत्रमा नै पु¥याएको योगदानका लागि पनि हेल्थ फाउन्डेसन नेपाले राष्ट्रियस्तरमै ‘स्वर्ण शिक्षा सम्मान ः २०७३’ बाट सम्मान गरेको छ । ओम शान्ति एकेडेमीको शैक्षिक व्यवस्थापन चितवन जिल्लाकै लागि नयाँ हो, जहाँ बालबालिका बिहानदेखि बेलुकीसम्म बसेर अत्यन्त मनोरञ्जनात्मक वातावरणमा बहुआयामिक सिकाइमा सहभागी भइरहेका हुन्छन् । चितवनमै पहिलो पटक ओम शान्ति एकेडेमीले वि.सं. २०७३ मा नयाँ सोँच र पृथक शैलीमा आफ्नो अध्ययन—अध्यापन गतिविधिको आरम्भ गरेको थियो । बालबालिकालाई गृहकार्यको अतिबोझबाट मुक्त गर्नु, सिकाइलाई मनोरञ्जनपूर्ण बनाउनु, बालबालिकाको बुहविध प्रतिभाको विकास गर्नु यसका मुख्य उद्देश्य र प्रयन्त देखिन्छन् । प्रस्तुत छ, हाल ओम शान्ति एकेडेमीलाई पृथक् र विशिष्ट पहिचानका साथ उचाइमा पु¥याउने जिम्मेवारीसहित अघि बढिरहेका अत्यन्त मृदुभाषी श्रेष्ठसित शिक्षा शिक्षणसँग सम्बन्धित भएर गरिएको कुराकानीको अंश ।

ओम शान्ति एकेडेमी कस्तो खालको शैक्षिक संस्था हो ?

-ओम शान्ति एकेडेमीको स्थापनासँगै चितवनमा केही नयाँ र बालबालिका केन्द्रित सिर्जनात्मक शिक्षण सिकाइका कार्यक्रमहरू अघि बढेका छन् । हामीले बालबालिकालाई क्रियाकलापमुखी सिकाइका लागि वातावरण उपलब्ध गराउने काम गरेका छौँ । पढेका कुरालाई विभिन्न क्रियाकलापहरूका माध्यमले अभिव्यक्त गर्नका लागि बालबालिकालाई उत्साहित बनाउने काम गरेका छौँ । बालबालिका केन्द्रित शिक्षणविधिमा आधारित भएर उनीहरूको व्यक्तित्व विकास, उत्प्रेरणामूलक सिकाइ, संस्कार शिक्षण र व्यावहारिक मूल्यबोध गराई बालबालिकाको समग्र सिकाइ गतिविधिलाई अघि बढाएको शैक्षिक संस्थाका रूपमा ओम शान्ति एकेडेमीलाई आम अभिभावकले जान्नुभएको अवस्था छ र हामी पनि त्यसरी नै चिनाउन चाहन्छौँ ।

विद्यार्थीको लागि यही संस्था किन आवश्यक छ ?

-हामीले सधैँ परीक्षामुखी भएर होइन, व्यवहारमुखी भएर सिक्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने प्रयास गरेका छौँ । व्यक्तित्व विकासका अनेक आयामहरूको प्रवर्धन गरी मानसिक, सामाजिक, आर्थिक र भावनात्मकरूपले सबल र सक्षम नागरिक उत्पादन गर्नु अहिले र भोलिसमेतको आवश्यकता भएकाले सोहीअनुरूप विद्यार्थीको क्षमता विकास गर्न सक्ने दृष्टिकोण र कार्यक्रम हाम्रो संस्थाका विशेषता हुन् भने हाम्रो दाबी छ । आजका मितिसम्म हाम्रो सेवाबाट लाभान्वित अभिभावक र विद्यार्थीको सन्तुष्टि नै हाम्रो दाबीको आधार हो । विद्यार्थीमैत्री वातावरण खोज्ने र सम्पूर्णरूपले सबल सिकाइ होस् भन्नेहरूका लागि ओम शान्ति आवश्यक छ भन्ने लाग्छ । सामान्यतया बालबालिका विदाका समयमा विद्यालय जान नपरोस् भन्ने चाहन्छन्, तर हाम्रा बालबालिका अतिरिक्त कक्षामा सहभागी हुन पाउँदा औधी खुसी हुन्छन् ।
आजका अभिभावक आफ्ना विभिन्न कामहरूका कारण अति व्यस्त रहने भएकाले आफ्ना बाबुनानीका लागि स्वस्थ भोजन र खाजानास्ता, गृहकार्यको अतिबोझबाट मुक्त, सुन्दर वातावरणसहित सुरक्षाको पूर्ण प्रत्याभूति भएको, सबै प्रकारको सिकाइ एकै ठाउँमा भएको, शिक्षण अवधि पनि अन्य विद्यालयको भन्दा फरक (बिहान ६ः३० बजेदेखि बेलुकी ७ः०० बजेसम्म) भएको उपयुक्त विद्यालय ओम शान्ति एकेडेमी नै हो । व्यस्त अभिभावकका बालबालिका पूर्ण अभिभावकत्वका साथमा यहाँ पढाइलेखाइमा सहभागी भइरहेका छन् । यस अर्थमा पनि ओम शान्ति एउटा आवश्यकता बन्न पुगेको छ।

स्थापनादेखि हालसम्म यस संस्थामार्फत् बालबालिकाले के कस्ता उपलब्धिहरू हासिल गरेका छन् ?

-हाम्रा बालबालिका बोल्न डराउँदैनन् । निर्धक्क भएर आफ्ना कुरा राख्न, मनका कुरा खोल्न, प्रश्न गर्न र प्रतिभा प्रस्तुत गर्न सक्छन् । हामीकहाँ पारिवारिक वातावरण भएका कारणले नै यो सम्भव भएको हो । हाम्रा विद्यार्थी अतिरिक्त क्रियाकलाप एवम् कला, जस्तैः नृत्य, गायन, चित्रकला, सङ्गीत, अभिनय, हस्तलेखन, वक्तृत्वसहितका सीपहरूमा निकै अगाडि छन् । शारीरिक तथा मानसिक विकासका विभिन्न सीप, जस्तैः मार्सल आर्ट, योग, व्यायाम, फूटबल, क्रिकेट, पौडी, हाइकिङ र मेडिटेसन आदिमा पनि सहभागी हुन्छन्, सफल भएका पनि छन् । रेडक्रम, स्काउट, खेलकुद, बौद्धिकलगायतका विभिन्न क्रियाकलापमा पनि जिल्ला, नगर, क्षेत्र र राष्ट्रव्यापी प्रतियोगिताहरूमा सफल र अब्बल साबित भएका छन् ।

निजी शैक्षिक संस्थाका विषयमा विभिन्न नकारात्मक टीका—टिप्पणी सुनिने गर्छन् । जस्तैः महँगो शुल्क, बालबालिकाले धान्न नसक्ने पाठ्यपुस्तक, सवारी साधनको प्रयोग, आदि..। यसमा तपाईँको प्रतिक्रिया के छ ?

-हाम्रा बालबालिकाले विद्यालयमा जुन स्तरको सेवा र सिकाइ ग्रहण गरिरहेका छन्, त्यसलाई हेर्दा उनीहरूसित लिइएको शुल्क अहिलेको महँगीको वृद्धि दरभन्दा धेरै न्यून रहेको छ । विद्यालयमा धेरै यस्ता सेवा र सुविधाहरू उपलब्ध गराइका छन्, जसको कुनै पनि अतिरिक्त शुल्क लिइएको छैन । कतिपय कमजोर विद्यार्थीलाई बिदाका समयमा गरिएको शिक्षणको पनि अतिरिक्त शुल्क लिने गरेका छैनौँ । निजी विद्यालयलाई हेर्ने निकाय, शिक्षा नियमावली र शिक्षक—अभिभावक सघंको मातहतमा रही सेवासुविधाको आधारमा शुल्क निर्धारण हुने हुँदा सरोकारवालाहरूको नकारात्मक र अनावश्यक टिप्पणी सुन्नुपरेको छैन ।
अन्य विषयका हकमा कतिपय टिप्पणी आंशिक सत्य पनि छन् । बहुलबादी समाजमा सबैको समान चेतना, हैसियत र धारणा हुँदैन । विषयहरूलाई सापेक्षमा हेर्नुपर्दछ । विश्वव्यापी प्रचलन, राज्यको नीति, समकालीन बाध्यता र थुप्रै अव्यक्त कारणहरूले गर्दा यी समस्या देखिएका हुन् । आदर्श समाजको कल्पना गर्दै र यथार्थसित सम्झौता गर्दै अगाडि बढ्नुको विकल्प निजी विद्यालयहरूका अगाडि उपलब्ध छैन । आम्दानी खर्चको अनुपात, तिर्न सक्ने क्षमता, स्रोतको उपलब्धताजस्ता कारणले यी समस्यासित जुद्धै अगाडि बढिरहेका छौँ ।

निजी शैक्षिक संस्थाले आफ्नो देशलाई भन्दा पनि विदेशका लागि लक्षित गरेर जनशक्ति तयार गर्ने गरेको आरोप पनि छ नि ?

-यो आरोप सही होइन । हाम्रोजस्तो विशेषता बोकेको विद्यालयले असल र सफल व्यक्ति निर्माण गर्न आफ्ना तर्फबाट सकेको योगदान गर्ने हो । यहाँबाट पढाइ सकेर बजारमा गएपछि आफ्ना असल पक्षहरूको प्रयोग गरी सफल कसरी बन्ने भन्ने विषय सम्बन्धित व्यक्तिको निजी अधिकारको हो । अहिलेको विश्वव्यापीकरण र चरम प्रतिस्पर्धाको युगमा एउटै भूगोलको सीमाभित्र खुम्चिएर होला र ? फेरि यो दोहोरो कुरा हो । यहाँका विद्यार्थी अवसर खोज्न विदेश जान्छन् भन्ने मान्ने हो भने विदेशका विद्यार्थी पनि यहाँ आउन सक्ने वातावरण हामीले बनाउनुपर्छ । यसको लागि राज्यले नै पहल गर्नुपर्दछ । विदेशिनुको मुख्य कारण भनेको स्वदेशमा अवसर नपाउनु, लगानी गरेअनुसारको प्रतिफल राज्यबाट नहुनुजस्ता कारण देखिएका छन् । यिनको समाधान जति चाँडो हुन्छ, स्वदेशको जनशक्ति विदेशिने क्रम उति नै कम हुँदै जान्छ ।

तपाईँहरूले अरु विद्यालयभन्दा फरक छौँ भनेर दाबी गर्ने आधारलाई समाजले कत्तिको विश्वास गरिरहेको छ ?

-हामीले विसं २०७३ सालमा संस्थाको स्वामित्व लिएपछि नै अभिभावकहरूको समर्थन, सहयोग, हौसला र निरन्तर आलोचनात्मक टिप्पणीहरू पाइरहेका छौँ । यी टिप्पणीहरूका साथमा उहाँहरूको विश्वासलाई भरोसायोग्य क्रियाकलापहरूद्वारा कायम राख्न हामीले सक्दो श्रम र मिहिनेत पनि गरिरहेका छौँ । हामीले गरिरहेको श्रम, साधना र मिहिनेत नै हामीलाई विश्वास गर्ने आधारहरू हुन् । हामीले गरेका प्रयासहरू बालबालिकाको जीवनमा पनि प्रतिविम्बित भएका देखिन्छन् र पनि हामीमाथि सबैको विश्वास र साथ छ ।
हामी अरुभन्दा फरक मात्रै छैनौँ, विशेष छौँ भन्ने कुरा हाम्रा अत्यन्त आदरणीय अभिभावकहरूका सिर्जनात्मक प्रतिक्रियाहरूबाट पनि पुष्टि भएको छ, जसले हाम्रो सेवाबाट लाभ लिइरहनुभएको छ । भनेर होइन, गरेर प्रमाणित गर्ने, सुनेर होइन, हेरेर विश्वास गर्ने मान्यता र संस्कारमा हामीले काम गरिरहेका छौँ । हामीलाई हाम्रो कामप्रति गौरव छ ।

सरकारले नीतिगतलगायत विषयमा केकस्तो सहयोग गर्दै आइरहेको छ ?

-राज्यको साथ, सहयोग र समर्थन व्यवहारमा होइन, केवल कागजमा मात्रै अनुभूति गर्न पाइएको छ । दुःखका साथ भन्नुपर्छ, सरकारी नीति अन्योलपूर्ण, दुविधाग्रस्त र प्रतिक्रियामा आधारित छ । उदारीकरण र निजीकरणलाई स्वीकार गरेपछि र शैक्षिक संस्था पनि अन्य व्यवसायसरह सेवामा आधारित नाफामूलक व्यवसाय हो भनिसकेपछि (कम्पनी ऐनअन्तर्गत दर्ता भएकाले) बजारद्वारा नियन्त्रित हुने र राज्यद्वारा निर्धारित मापदण्ड अनुसरण गर्नुपर्ने भनेपछि पुग्छजस्तो लाग्छ ।

सरकारी निकायबाट अपेक्षा के छ ?

-सरकारको नीति दुविधाग्रस्त हुनुभएन । नीतिनियममा स्पष्टता हुनुप¥यो । पूर्वाधार विकासमा प्राविधिक र आर्थिक सहयोग गर्नुप¥यो । निजी शैक्षिक संस्थाको योगदानलाई वस्तुगतरूपमा स्वीकार गर्नुप¥यो । सरकारी निकायबाट हुने सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद अन्त्य हुनुपर्दछ । उदाहरणको लागि छात्रवृत्ति । सरकारी विद्यालयबाट उत्तीर्ण विद्यार्थीले उच्च शिक्षाका अनेक तहमा छात्रवृत्तिमा प्राथमिकता पाउने, तर संस्थागत विद्यालयका विद्यार्थीले नपाउने अवस्थाको अन्त्य होस् । सरकारले सामुदायिक विद्यालयमा हुने तालिममा संस्थागत विद्यालयलाई पनि सहभागी गराउने वातावरण सिर्जना हुनुपर्दछ । निजी विद्यालयको योगदानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुप¥यो, गुणस्तरीय शिक्षाको पक्षमा निजी क्षेत्रले गरेको कामको मूल्याङ्कन हुनुप¥यो । यतिमात्र भए पनि पर्याप्त हुन्छ ।

यस विद्यालयका आगामी कार्यक्रमहरू केके छन् ?

-यसै शैक्षिक सत्रदेखि हामी कक्षा एघार सञ्चालन गर्ने तयारीमा छौँ । नियमित खेलकुदका गतिविधि सञ्चालन गर्नका लागि खेलमैदानको व्यवस्था गरिएको छ भने नृत्यको अभ्यासका लागि छुट्टै भवनको व्यवस्था गरिएको छ ।
विद्यार्थीहरूमा नैतिक मूल्यको विकास गर्नका लागि तत्सम्बन्धी विशेष शैक्षिक कार्यक्रमको आयोजना गरिँदै छ भने बालबालिकामा सामाजिक भावनाको विकास होस् भन्नका लागि उपयोगी कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ । कतिपय नयाँ कार्यक्रमहरू समयको आवश्यकतासँगै थपिँदै पनि जाने छन् ।

विद्यालयबारे थप केही ?

-हामी पूर्ण छौँ अथवा अब हामीले गर्नुपर्ने केही छैन भन्ने मान्यतामा हामी छैनौँ । विद्यालय भनेकै सिक्ने र सिकाउने ठाउँ हो । बालबालिकाले मात्रै सिक्ने होइन । शिक्षक, कर्मचारी र व्यवस्थापन पक्षले पनि केही न केही सिकिरहेको हुन्छ । ओम शान्ति एकेडेमीमा सञ्चालन गरिएका कार्यक्रमहरु र तिनका कारण प्राप्त प्रतिक्रिया एवम् सुझावहरुमार्फत् पनि हामीले धेरै कुरा सिकेका छौँ र आउँदा दिनमा त्यसअनुसार नै हामी अघि बढ्ने छौँ । हामीलाई स्नेह गर्नुहुने अभिभावकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । हाम्रो आफ्नै अनुभव, अभिभावकका सुझाव र शुभेच्छुकहरुको सरसल्लाहका आधारमा विद्यालयलाई बालविकासको एउटा नमूना केन्द्र बनाउनका लागि हामी प्रतिवद्ध भएर लाग्ने छौँ र सर्वोत्कृष्ट नतिजाका लागि प्रण गर्दछौँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट