सामुदायिक वनमा सुख्खापन हटाउन रिचार्ज पोखरी बनाइएका छन् । यी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने पहल हुदैछ ।
विप्लव काफ्ले
भरतपुर, ८ चैत
इच्छाकामना–७ का सामुदायिक वनहरुमा ‘रिचार्ज पोखरी’ बनाइएका छन् । दियालो परिवार नारायणगढले केएर नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘हरियो वन’ कार्यक्रम अन्र्तगत वनहरुमा सिमसार क्षेत्र विकास गरिएको छ । दोस्रो चरण अन्र्तगतको कार्यक्रम सन् २०१७ देखि २०२० जुनसम्म सञ्चालनमा छ ।

शनिबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता गुरुङ सहितको टोलीले ७ नम्बर वडाका ७ वटा योजनाको स्थलगत अनुगमन गरेको छ । “उजाड वनलाई हरियाली बनाउन रिचार्ज पोखरीले सघाएको पायौँ”, गुरुङले भनिन्, “बगेर जाने पानी संकलन हुँदा वरिपरीका रुख विरुवालाई पनि फाइदा हुने, जंगली जनावरलाई पनि फाइदा पुग्दोरहेछ, पानीका मुहान पनि जोगिने रहेनछन् ।” उनले रिचार्ज पोखरी आसपासका क्षेत्रमा बालउद्यान, पिकनिक स्पट लगायतका पूर्वाधार बनाएर पर्यटकीय गन्तव्य समेत थप्ने योजना सुनाइन् । खोल्सा खोल्सीबाट बग्ने पानीलाई एकीकृत गरेर जम्मा गर्दै बनाइएको पोखरीलाई ‘रिचार्ज पोखरी’ भनिन्छ । सुख्खा क्षेत्रमा समेत रिचार्ज पोखरी छन् । खाली पोखरीमा पानी पर्दा समेत जम्मा हुन्छन् ।
“बिसहजारी तालजस्तो आकर्षक तालका रुपमा विकास गर्ने योजना छ”, उनले भनिन्, “आवश्यक पूर्वाधारका लागि हामी तयार छौँ ।” हरियो वन कार्यक्रम अन्र्तगत वडा नम्बर ७ को रानीखोला सामुदायीक वनको वाकराङ गैरामा, घर्ती पदेरोमा रिचार्ज पोखरी बनाइएका छन् । यस्तै चण्डीस्थान सामुदायकी वनको चण्डीस्थानमा रिचार्ज पोखरी बनाइएको छ । यस्तै खगेरी खोलाको सिमलढाप नजिकैको क्षेत्रमा ५१ मिटर ड्याम, कालिका देउराली सामुदायीक वनको कालिखोला मुहान संरक्षण, रनअफ ड्याम निर्माण गरिएको छ ।
“खगेरी खोला उप–जलाधार क्षेत्रलाई आधार मानि हरियो वन कार्यक्रम सञ्चालन गरेका छौँ”, दियालोका कार्यकारी निर्देशक राज गोविन्द शिल्पकारले भने, “रिचार्ज पोखरी, रनअफ् ड्यामले सुख्खापनसँग लड्ने क्षमता बढाउँछ, पानीको सिँचित क्षेत्रपनि विकास गर्छ ।” उनले वातावरणीय अनुकुलनका लागि पनि सहयोग पुग्ने बताए । कार्यक्रम अधिकृत उदितचन्द्र अर्यालले हरियो वन कार्यक्रम मार्फत १७ लाख ७८ हजार बढी खर्च भएको बताए । उनले सामुदायीक वनले ३ लाख ९२ हजार सहयोग गरेका छन् ।
दियालो परिवारका निर्देशक राजेन्द्र पीयाले रिचार्ज पोखरी क्षेत्रलाई बहुउपयोग गर्न सकिने बताए । “स्थानीय तहले पहल लिएमा यस्ता क्षेत्र पर्यटक घुम्ने ठाउँ बन्नेछन्”, उनले भने, “सुख्खा क्षेत्रलाई सिमसार बनाउन पनि मद्धत पुग्नेछ ।” अनुगमनमा दियालोका सचिव इश्वराज पण्डीत, पूर्वअध्यक्ष केदारनाथ खनाल, प्रोग्राम एण्ड रिसर्च विभागका दिलबहादुर नेपाली, वडाध्यक्ष, सामुदायीक वनका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरेको थियो ।
हरियो वनका कार्यक्रम इच्छाकामनाका–७, भरतपुर महानगर, रत्ननगर, कालिका नगरपालिकामा सञ्चालनमा छन् ।




