प्राकृतिक चकित्साले रोग प्रतिरोधी क्षमता बढाउँछ । आयुर्वेदिकले रोगसँग लड्ने क्षमता विकास गर्छ । हाम्रो शरीर प्रकृतिसँग अभिन्नरुपमा गाँसिएको छ, जडीबुटीजस्तै । त्यसैले जडीबुटीले नै हाम्रो शरीरको सुरक्षा गर्छ ।
भरतपुरको चौबीसकोठीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ नेट फ्रेस हस्पिटल छ । भरतपुर–गोलाघाट सडकको छेउमा रहेको यस अस्पतालमा अन्य अस्पतालभन्दा फरक ढंगबाट उपचार हुन्छ । प्राकृतिक चिकित्सा, आयुर्वेदिक तथा होमियोपेथिक चिकित्सा पद्धतिबाट उपचारको व्यवस्था गरिएको यस अस्पतालप्रति बिरामीको विश्वास बढ्न थालेको देखिन्छ । एलोपेथिक चिकित्सा पद्धतितर्फ मान्छेको आकर्षण बढ्दो क्रममा रहेपनि विस्तारै मान्छेको ध्यान यसतर्फ जान थालेको पाइन्छ । करिब चालिस वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापनपछि निवृत्त भएर यस क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर लागिपरेका डा.भगवानचन्द्र ज्ञवाली कार्यकक्षमा व्यस्त भेटिए । उनी प्रकृतिले दिएको जडीबुटीको विशेष महत्वलाई जनताको बीचपु¥याएर मानव स्वास्थ्यको रक्षाका लागि केहीगर्न सकिन्छ कि भन्ने दृष्टिले अस्पतालसँग जोडिएका रहेछन् । प्रस्तुत छ यसै विषयमा अस्पतालका प्रबन्ध निर्देशक डा.ज्ञवालीसँग राजेश घिमिरेले गरेको कुराकानीको सारः
नेट फ्रेस कस्तो हस्पिटल हो ?
यो वास्तवमा प्राकृतिक चिकित्सालय हो । नेट फ्रेस भन्ने एउटा कम्पनी छ, जसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने वस्तुहरु तयार गर्छ । त्यससँग जोडिएका साथीहरुको संलग्नतामा सुरु गरेकाले नाम नै नेट फ्रेस हस्पिटल भएको हो । यहाँ खास गरेर होमियोपेथिक, प्राकृतिक चिकित्सा तथा आयुर्वेदलाई प्राथमिकतामा राखेका छौं । एलोपेथिक औषधिहरुले शारीरिकरुपमा पार्ने नकरामत्मक प्रभाव तथा यसबाट रोग उत्पादन हुने अवस्थालाई मध्यनजर गर्दै परम्परादेखि चल्दै आएको आयुर्वेदिक परम्परा तथा प्राकृतिक चिकित्सा पद्धतिलाई हामीले अघि बढाएका हौं । माटो, हावा, पानी, सूर्यको किरण तथा जडीबुटीबाट उत्पादन हुने आयुर्वेदिक औषधिलगायत माध्यमबाट गरिने उपचारमा हामी क्रियाशील छौं । यसको कुनै ‘साइड इफेक्ट’ हुँदैन । अहिले एलोपेथिक प्रणालीका औषधिबाट मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या बढ्दो क्रममा छ । यसको सबैभन्दा राम्रो उपचार भनेकै प्राकृतिक चिकित्सा, आयुर्वेद र होमियोपेथी नै हो । यीनलाई समानान्तररुपमा लैजान सक्दा प्राकृतिक चकित्साले रोग प्रतिरोधी क्षमता बढाउँछ । आयुर्वेदिकले रोगसँग लड्ने क्षमता विकास गर्छ । हाम्रो शरीर प्रकृतिसँग अभिन्नरुपमा गाँसिएको छ जडीबुटीजस्तै । त्यसैले जडीबुटीले नै हाम्रो शरीरको सुरक्षा गर्छ । हाम्रो देश जडीबुटीको खानी हो । योग साधना यहींंबाट जन्मिएको मान्यता छ । तर, हामीले यो परम्परालाई छाड्दा रोग र रोगी बढेका छन् । अस्पतालले रोग घटाउनुपर्नेमा बढाइरहेको छ । रोग घटाउने उपाय प्राकृतिक चिकित्सा र आयुर्वेद नै हो । यसले रोगलाई जरैबाट नास गर्छ । हामी त्यसैका लागि काम गरिरहेका छौं ।
चितवनमा अस्पताल धेरै छन् । स्वास्थ्य नगरीका रुपमा विकास भइरहेको छ । बिरामीको चाप त्यस्तै छ । तपाइँहरुतिरचाहिँ बिरामीको ध्यान कत्तिको छ ?
अहिले परम्परागत पद्धति, धर्म संस्कृतिलाई विश्वास नगर्ने युवाको जमात ठूलो छ । यो जमातले एलोपेथिक पद्धतिलाई मन पराउँछ । एलोपेथिक पद्धतिले तत्काल प्रभाव त देखाउँछ । तर, यसको दूरगामी परिणाम नराम्रो हुन्छ । जसले गर्दा रोगका अरु कारणहरु सिर्जना हुन्छन् । आयुर्वेदले रोगको जरामै प्रहार गरेर निर्मूल पार्छ । एलोपेथिकले थामथुम पार्छ, दबाउँछ । दबाइएको रोग फेरि निस्कन्छ । तर, निर्मूल पारेको निस्कँदैन । हामी निर्मूल पार्न लागिपर्छौं । एलोपेथिकतर्फका चिकित्सक स्वार्थी पनि बन्दैछन् । उनीहरु रोगीलाई अल्झाउन चाहन्छन्, पैसाको निमित्त । तर, प्राकृतिक चिकित्सामा इमानदारिता छ । हामी सकेसम्म पूरै निको बनाउन लाग्छौं । यसको प्रचार आवश्यक छ । जति हुनुपर्ने हो, भएको छैन । हाम्रो पुर्खाले ज्ञान राम्रोसँग हस्तान्तरण गर्न सकेन । तर, युरोप तथा अमेरिकातिर यसको खोजी गरेर प्राकृतिक चिकित्सामा ध्यान बढ्न थालेको छ । हामी भने आफ्नै प्राकृतिक सम्पत्तिकै सही उपयोग गर्न सकेका छैनौं । हामीले अत्याधुनिक उपकरण पनि राखेर सरल र सुलभ ढंगले उपचार गरिरहेका छौं । बिरामीहरुको ध्यान पनि तानिँदैछ ।
यहाँ कस्ता रोगका बिरामीहरु आउँछन् ?
आधुनिक चिकित्सा पद्धतिले बाहिरी घटनाबाट निम्तिएका रोग दुर्घटनालगायत समस्यामा छिटो उपचार गर्छ । तर, भित्री रोगको उपचार प्राकृतिक चिकित्सा, आयुर्वेद तथा होमियोपेथी पद्धतिबाट हुन्छ । मधुमेह, प्यारालाइसिस, मानसिक रोग, महिलाका विभिन्न समस्याहरु, नपुङ्सकता, निसन्तानपनलगायत थुप्रै समस्याहरु हामी समाधान गर्न सक्छौं । दीर्घरोगका उपचारहरु सहज ढंगले गर्न सक्छौं ।
यहाँ आउने बिरामी कत्तिको सन्तुष्ट छन् ?
हामी शतप्रतिशतको प्रयासमा छौं । अझै पनि शतप्रतिशत त भइरहेको छैन । हामी पूर्णताको प्रयासमा छौं । प्यारालाइसिसका विरामी हिँडेर फर्किएका उदाहरणहरु छन् । अन्य रोगका बिरामीलाई पनि निको बनाएर फर्काएका छौं ।
आयुर्वेदिक तथा प्राकृतिक औषधिको नाममा ठगीका घटनाहरु पनि बढ्दो छन् । यसलाई चिर्न के गर्नुपर्ला ?
भारतबाट आएका केही मान्छेहरुले अनेकथरि प्रचार गरिरहेका छन् । सर्वसाधारणले उनीहरुलाई विश्वास गर्ने अवस्था पनि छ । नेपालभित्रकैले पनि बिरामीमाथि खेलबाड गरिरहेका छन् । जनताको पीडाको गलत फाइदा उठाउँदै पैसा कमाउने काम भइरहेको छ । स्वास्थ्योपचारसम्बन्धी मानसिकतामा परिवर्तन आवश्यक छ । ठगी गर्नेहरुलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ । यस विषयमा स्थानीय तथा केन्द्रीय सरकार सचेत हुनुपर्छ । हामीले पनि यस विषयमा जनचेतनामूलक गतिविधिहरु गर्दैआएका छौं ।
औषधि पनि उत्पादन गर्नुहुन्छ ?
हामी खाद्य औषधि उत्पादन गर्छौं । जसले बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसै विषयमा जानकारी गराएर जनताको माझमा उत्पादन पु¥याएका छौं ।
देशमा उत्पादन भइरहेको जडीबुटीको सही उपयोग कसरी गर्न सकिएला ?
यसका लागि सबैभन्दा पहिले राज्यले नीति बताउनुपर्छ । अनि राजनीतिक प्रतिबद्धता चाहिन्छ । नेपालको जडीबुटीको माध्यमबाट युवालाई रोजगार बनाउन सकिन्छ भन्ने ‘भिजन’ हुनुप¥यो । योजना बनाउनुप¥यो । यति भयो भने उत्पादित जडीबुटीलाई हामीले ठीक समयमा संकलन गरेर प्रशोधन गरेर विदेश निर्यात गर्न सक्छौं । अहिले त मनलाग्दी छ । औषधि जरैसहित उखेलेर गुन्द्रुकको मूल्यमा बिक्री भइरहेको छ । सरकारले एउटा अभियान नै सञ्चालन गर्नुपर्छ । हामी सहयोग गर्न परेपनि नेतृत्व नै गर्न परेपनि तयार छौं । यहाँ औषधि उत्पादन गरेर बिक्री गर्ने वातावरण बनाउनुपर्छ । जडीबुटीको संरक्षण पनि गर्दै जानुपर्छ । हामीसँग विशाल जंगल छ । हिमाल छ । यहाँका जडीबुटी संरक्षण गर्न सक्यौं भने सञ्जिवनी बुटीकोरुपमा प्रचार गर्न सकिन्छ । २ सय देखि २ सय ५० प्रकारका जडीबुटी त नेपालमै पाइन्छ ।
यसका लागि जनशक्तिको अवस्था कस्तो छ ?
हामी कहाँ परम्परागत जनशक्ति एक किसिमको छ । अर्को शिक्षित जनशक्ति छ । तर, पूर्ण छैन । विशेषज्ञ निकै कम छन् । यससम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरेर आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । गाउँ–गाउँमा प्राकृतिक चिकित्सक, आयुर्वेदिक चिकित्सक, वैद्य, कविराजहरु, योग प्रशिक्षक पु¥याएर जनताको सेवामा खटाउनु आवश्यक छ । यसले जनताको पनि सुरक्षा हुन्छ । जडीबुटीको पनि सुरक्षा हुन्छ ।