विपिन पाठक प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष हुन् । साहित्य लेखनसँगै शिक्षण पेशामा आबद्ध उनी सप्तगण्डकी क्याम्पस भरतपुरबाट नेपाली विषयमा स्नातकोत्तर हुन् । उनी नेपाल ल क्याम्पस काठमाडौंमा एलएलबी दोस्रो वर्ष पनि अध्ययन गर्दैछन् । साहित्य यात्रामा क्रियाशील पाठक सप्तगण्डकी बिम्ब यात्राका संस्थापक उपाध्यक्ष हुन् । साहित्य संगम चितवन, जन साहित्य मञ्च चितवन, माडी साहित्य परिवार लगायतका संस्थाहरूमा उनको संलग्नता छ । विश्वप्रकाश मावि भरतपुरमा शिक्षण गरिरहेका उनी नेपाल पत्रकार महासंघका सदस्य हुन् । पाठकलाई कायाकैरन दैनिक समाचारपत्रको शनिबासरीय परिशिष्टांकको स्तम्भ ‘मेरो सिर्जना’ मा पुस महिनाको पाहुनाका रूपमा प्रस्तुत गरियो । महिनाभरका शनिबार उनकै साहित्य वृत्तमा रहेर सामग्री प्रकाशन गरिएका उनीसँग अन्तिम शनिबार लेखराम सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
हिजोआज तपाईंको साहित्य लेखनको सिलसिला कसरी चल्दैछ ?
धन्यवाद प्रश्नको लागि, साहित्य लेखन योजनाबद्धभन्दा पनि अनायास सिर्जना हुने गर्दछ । पछिल्लो समय सिंगो चितवनमा नै साहित्यिक कार्यक्रमहरुको चाप निकै बढी छ । लेखनको कुरा गर्दा, मेरो लेखन केही खोजमूलक निबन्धतर्फ केन्द्रित छ । केही गद्य कविता र गजल कोरिरहेको छु । अध्ययन गर्नैपर्ने केही पुस्तकहरू छन् । फुर्सद मिल्नासाथ तिनमा घोत्लिन्छु । यसरी हिजोआजको समय बितिरहेको छ ।
कुन विधामा कलम चलाउँदा खरर आफूले चाहेजस्तो सिर्जना गरिएको झैं लाग्छ ?
रुचिका हिसाबले मलाई कविता सबैभन्दा मनपर्ने विधा हो । तर, तपाईंले गरेको प्रश्नजस्तो खरर लेख्न सक्ने पारङ्गत भने म भइसकेको छैन । गजल–कविता लेख्दा होस् वा पढ्दा र सुन्दा धेरै आनन्द लाग्छ । कतिपय कविताको शक्तिले मथिङ्गल पूरै हल्लाउँछ । कवितामा प्रयुक्त लालित्यपूर्ण विचारको कौशल अन्य विधामा भन्दा बढी सन्निहित हुन्छ । गद्य कवितामा विशिष्ट वैचारिक शक्ति र जागरणको आह्वान पछिल्लो समय मिहिनरुपले प्रकट भएको पाइन्छ । पद्य कवितामा पनि केही कविहरु छन्, जसले समाजका उत्पीडन र विभेदविरुद्ध बुलन्द कविता लेखिरहेका छन् । पद्य कवितामा खासगरी जून र फूलको वर्णन अलि बढी पाइन्छ, कविता कलाका लागि कि, जीवनका लागि ? यो एक गम्भीर विषय हो । मलाई लाग्छ कविता जीवनका लागि हो, न्यायका लागि, समानताका लागि हो, त्यसैले सिङ्गो साहित्यले सचेतता, जागरण र न्यायको पक्षमा आवाज उठाउनुपर्छ । जरुर त्यसमा कलाको श्रृंगार भने हुनै पर्दछ ।
तपाईं प्रगतिशील लेखक संघ (प्रलेस) चितवनको अध्यक्ष हुनुहुन्छ । प्रलेसले यहाँ के कस्ता कार्यक्रम गरिरहेको छ ?
पक्कै पनि अहिले प्रगतिशील लेखक संघ चितवनको नेतृत्व ऊर्जावान युवा साथीहरुको हातमा छ । १५ जना कार्यसमितिका सदस्यहरुमा हामी सबै युवा नै छौं । यो १ वर्षको अवधिमा हामीले भव्यताका साथ सात ओटा कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । २०७५ फागुनमा भएको छैटौं जिल्ला सम्मेलनबाट हामी निर्वाचित भइसकेपछि पहिलो कार्यक्रमका रुपमा २०४६ सालको जनआन्दोलनमा कवि–कलाकारहरुलाई भएको दमन र ज्यादतिको विरुद्ध पारिजात, आनन्ददेव भट्ट शंकर लामिछानेलगायत कवि कलाकारले गरेको संघर्षको स्मरणमा मनाइने ‘सिर्जना चैत्र ३’ को सन्दर्भमा सडक कविता वाचन ग¥यौं । भरतपुरको चौबिसकोठीमा १५० बढी स्रष्टाको रचना वाचनसहित सम्पन्न गर्याैं । २०७६ बैशाख १४ गते २६ औं पारिजात स्मृति दिवसको सन्दर्भमा प्रगतिवादी छन्दकवि पुरुषोत्तम आचार्यको ‘टिकटमा एकल कविता वाचन’ कार्यक्रम चितवनको माडीमा ग¥यौं । त्यसमा पनि ३०० बढी साहित्यप्रेमीहरुको उत्साहजनक उपस्थिति थियो । उक्त कार्यक्रममा चितवनका ३० बढी मानक स्रष्टाहरूको रात्रिकालीन साहित्यिक विमर्शसमेत भएको थियोे । तेस्रो कार्यक्रमका रुपमा हामीले विद्यार्थी नेता लेखनाथ न्यौपानेको पुस्तक ‘संघर्षको इतिहास’माथि विमर्श कार्यक्रम भव्य ढंगले सम्पन्न भयो । १७ औं कृष्णशेन इच्छुक स्मृति दिवसको सन्दर्भमा बलशाली कवि एवं संघर्षशील व्यक्तित्व कुन्ता शर्माको एकल कविता वाचन तथा पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रम सम्पन्न भयो । प्रलेस स्थापना दिवसको अवसर पारी ‘सांस्कृतिक रुपान्तरणको कसीमा वर्तमान कम्युनिष्ट आन्दोलन’ विषयक निर्मम बहस कार्यक्रम व्यापक उपस्थितिमा ग¥र्याैं । उक्त कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा बाम राजनीतिज्ञ चित्रबहादुर केसी तथा बाम बुद्धिजीवी प्रेम रिमाल विशिष्ट अतिथि रहनुभएको थियोे । त्यसैगरी नेपालको भूमिमाथि भारतीय अतिक्रमणविरुद्ध पनि हामीले चितवनमा सबैभन्दा पहिले कवि–कलाकारहरुलाई सडकमा आफ्ना रचनासहित एकताबद्ध बनाएर खबरदारी ग¥यौं । यसरी प्रलेस चितवन चितवनको माटोमा सक्रियताका साथ साहित्यिक उन्नयनसँगै अन्य राष्ट्रियता र जनताका जनजीविकाका सवालमा समेत आफ्ना गतिविधिका साथ सक्रिय छ । हाम्रा आगामी कार्यक्रमहरुसमेत यस्तै प्रकारका छन् । युवाहरुलाई थप साहित्यमा अकर्षित गराउन अभिप्रेरित गर्ने काम पनि आगामी कार्यक्रममार्फत हामीले गर्नेछौं ।
सिर्जनशील बन्न अध्ययन पनि गर्नुपर्छ कि यत्तिकै देखेरै, भोगेरै पनि सिर्जनशील बनिन्छ ?
सिर्जनशील बन्न अध्ययन त अवश्य चाहिन्छ । होला देखेर, भोगेरसमेत कतिपय ज्ञान हासिल गर्न सकिएला । संसारमा त्यस्ता थुप्रै साहित्यकारहरु हुनुहुन्छ । तर, आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन अध्ययनको विकल्प छैन । आजको समयमा विनाअध्ययन साहित्य सिर्जनामा लाग्ने कुरा असम्भव प्रायः छ । अहिलेको समय, समाज र विकास बुझ्न अनि मानवीय उन्नति र विज्ञान बुझ्न पनि अध्ययनको विकल्प छैन । अनि यी सबै कुरा नबुझी साहित्य लेख्ने कुरा निकै असान्दर्भिक र दुरुह छ । कवि–कलाकारको जीवनमा मात्र नभई आम मानिसले पनि आफ्नो अध्ययन गर्ने बानीको विकास गर्न आवश्यक छ । मैले देख्छु, हामी चिया चौतारोमा घण्टौं अनावश्यक गफ मारेर बस्छौं । क्यारमबोर्ड र तास खेलेर बस्छौं । पुस्तकालय वा अन्य पुस्तक पाउँदा हामी पढ्न खासै मन गर्दैनौं । यो देख्दा मलाई दुःख लाग्छ । वास्तवमा हामीले आजको दिनमा पठन संस्कृतिको विकास गर्न जरुरी छ ।
साहित्य सिर्जना र गतिविधिमा लाग्न नयाँ पुस्तालाई कत्तिको सजिलो, अप्ठ्यारो छ ?
नयाँ पुस्तालाई उत्साहित गराउने जमात पनि छ । तर, कतै–कतै प्रोत्साहित गर्नुको साटो अविश्वास गर्ने, जिम्मेवारी नदिने, नपत्याउने प्रवृत्ति पनि छ । आफ्नो पहिचान नबनाउञ्जेल नयाँ पुस्ताले केही संघर्ष भने गर्नै पर्छ । तर, आजको सूचना प्रविधिको युगमा युवापुस्ता पुरानो पुस्ताभन्दा बढी प्रविधिमैत्री छ । र, यसको माध्यमले पनि धेरै तवरले सहजीकरण गरिरहेकै छ । बिडम्वनाचाहिं के भने, बरु युवा पुस्ता नै कता–कता साहित्यभन्दा परै रहेको हो कि, त्यसलाई अझ साहित्यिक आत्मीयता अनुभूत गराउनुपर्ने हो भन्ने प्रतीत भइरहेको छ । निश्चय पनि बढीभन्दा बढी युवाहरुलाई कला साहित्यका माध्यमबाट सचेत र सक्रिय बनाउन आवश्यक छ र पुरानो पुस्ताले यसमा अहम् भूमिका निर्वाह गर्नुपर्छ ।
तपाईं कत्तिको अध्ययनशील हुनुहुन्छ ? कस्ता पुस्तक, कस्ता लेखन तपाईंको रुचिमा पर्छन् ?
मिलेसम्म अध्ययन गर्न मन लाग्छ । खासगरी साहित्यसँग सम्बन्धित पुस्तकहरु मिलेसम्म पढ्छु । पुस्तक कम किन्छु र पुस्तकालयको बढी प्रयोग गर्छु । खासगरी माडीको गर्दी पुस्तकालयबाट पछिल्लो समय मैले धेरै पुस्तकहरु पढेको छु । कतिपय पुस्तकहरु पढ्न मन भएर पनि व्यस्तताले गर्दा पढ्न पाएको छैन । शिक्षणका क्रममा र संघसंस्थाको कामले पनि समय मिलाउन गाह्रो हुन्छ । नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटादेखि बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, गोपालप्रसाद रिमाल, रमेश विकल, भूपि शेरचन । पछिल्लो समय आख्यान पढ्न बढी रुचाउँछु । बुद्धिसागर, नयनराज पाण्डे, भूपिन आदिका सबै पुस्तक पढेको छु । केही विदेशी लेखकहरुका पुस्तक अनुवाद पढ्छु । म्याक्सिम गोर्कीको ‘आमा’ सबैभन्दा धेरैपटक पढेको पुस्तक हो । तर, पनि पढ्नपर्ने धेरै चिज पढ्न पाएको छैन । आफ्नै व्यस्तताको कारणले सम्झँदा पनि दुःख लाग्छ । पुस्तक पढ्न नपाउँदा आफैं कमजोर भएजस्तो लाग्छ । कतिपय किनेका र उपहार पाएका किताब पनि पूरा पढ्न पाएको छैन । पारिवारिक व्यवस्थापन र सामाजिक जिम्मेवारीका कारण पनि चाहेजति अध्ययनको वातावरण मिलाउन सकिरहेको छैन । यो मेरो सुधार्नुपर्ने पक्ष हो । जे होस् पुस्तक पढ्न पाउँदा आनन्दानुभूति हुन्छ । खासगरी मेरो रुचिमा पर्ने लेखकहरु पछाडि परेको वर्ग, जाति र समुदायको पक्षमा कलम चलाउने, आधारभूत ढंगले समानता र न्यायको पक्षमा ढृढताका साथ साहित्यका माध्यमबाट मुखरित हुने तथा पिंधमा परेका भुइँमान्छेहरुलाई, श्रमिकहरुलाई जीवनको मूल्यवोध, श्रमको मूल्यवोध गर्दै विभेद र दलनको पर्दा च्यात्न खोज्ने लेखकहरु नै र साहित्यकारहरु नै मेरो रोजाइका साहित्यकारहरु हुन् ।
तपाईं शिक्षक पनि हुनुहुन्छ । बाबुनानीलाई सिर्जनशील बनाउन शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?
पक्कै पनि शिक्षण सिकाइ सहजीकरणका क्रममा एक शिक्षकले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुन्छ । खासगरी विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न र उनीहरुमा रहेका विविध क्षमता उजागर गर्न पनि एक शिक्षकले निर्वाह गर्ने भूमिका अहम् रहन्छ । कोमल बाल मस्तिष्कको समग्र विकास गर्न पनि कला, साहित्य र सिर्जना साधन बन्नुपर्छ भन्ने मान्यता म राख्दछु । मूलतः मेरो कुरा गर्दा शैक्षिक सामग्रीको रुपमा कविता र गीतको प्रयोग गर्छु । विद्यार्थीहरु पनि यसले गर्दा साहित्यतर्फ आकृष्ट हुनुहुन्छ । मैले गर्ने अर्को प्रयोग भनेको कठिन पाठहरुलाई कविताका माध्यमबाट शिक्षण गर्नु हो । जुन पाठ बुझ्न विद्यार्थीहरुलाई कठिन लाग्छ, त्यसलाई झ्याउरे लयमा कविता बनाएर शिक्षण गर्दा प्रभावकारी भएको पाएको छु । धेरै जस्तो शिक्षण गर्दा गजल, कविता वा लघुकथाहरुबाट विद्यार्थीको ध्यानाकर्षण गर्दछु । समग्रमा के भन्न सकिन्छ भने एक शिक्षकले विद्यार्थीको सिर्जनशीलता विकास गर्न अहम् भूमिका निर्वाह गरेको हुन्छ ।