माडीमा होमस्टे आकर्षण

विप्लव काफ्ले
माडी, ११ मंसिर
माडी नगर क्षेत्रमा घरबास(होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेमा पर्यटकले थारु, बोटे, मगरलगायतको कला संस्कृति सहजै हेर्न पाउनेछन् । पर्यटकीय गन्तव्य नजिकै होमस्टे खुल्न थालेका हुन् । माडी–३, बघौडामा ३ वटा होमस्टे सञ्चालनमा आएको डेढ महिना भयो । बघौडा क्षेत्रमा पर्यटकको चहलपहल देखिन्छ ।


बघौडा सामुदायिक होमस्टेका व्यवस्थापक ओमप्रकाश महतो होमस्टेका सञ्चालक उत्साहित बनेको बताउँछन् । “महिनामा १५ दिन जति बूकिङ भइरहेको छ”, उनी भन्छन्, “अन्य पनि होमस्टे चलाउने योजनामा छन् ।” उनका अनुसार बघौडा टोलमा केही महिनामै २ वटा होमस्टे थपिँदैछन् । माडी–८ को अयोध्यापुरी होमस्टे (शिवद्वार), नवलपरासीको अमलटारी, पिप्रहरलगायत होमस्टेको अवलोकन गरी स्थानीय होमस्टे चलाउन अग्रसर भएका हुन् ।
बघौडा टोलमा करिब ३ सय थारु घरधुरी छन् । मगुई खोलाको काखमा रहेको यो बस्तीमा वर्सेनि बाढीले सताउने गर्दथ्यो । तर, गतवर्षदेखि तटबन्धन भएपछि स्थानीयलाई राहत मिलेको हो । आम्दानी गर्न खेतीपातीकै भर पर्नुपथ्र्यो । तर, पर्यटकको चहलपहल बढ्न थालेपछि आम्दानीका स्रोत पनि बढ्न थालेका छन् । १ नम्बर होमस्टे सञ्चालक ओमप्रकाश चौधरी दुबईमा १५ वर्ष बसेर फर्किए । २ वर्षदेखि आयआर्जनको उपाय खोजिरहेका उनले समुदायसँगै मिलेर होमस्टे चलाए । “अन्यत्र होमस्टेको आम्दानी राम्रै देखियो”, उनी भन्छन्, “संस्कृति पनि जोगिने, कमाई पनि हुने रहेछ ।” २ नम्बर होमस्टे सञ्चालक युवराज महतो मलेसिया, ३ नम्बर होमस्टे सञ्चालक निर्मलकुमार चौधरी साउदीअरब ४–४ वर्ष बसेर फर्किएका हुन् ।
“यो टोलबाट अब विदेशिनु पर्दैन”, निर्मल भन्छन्, “अब यही व्यवसाय राम्रो चल्छ ।” पर्यटक चहलपहल बढ्दै गएमा स्थानीय उत्पादन होमस्टेमै खपत हुने उनले बताए । “होमस्टेबाट निराश छैनौँ”, उनले भने, “बघौडाले पनि थारु संस्कृतिबाट चिनिने मौका पाएको छ ।” होमस्टेका व्यवस्थापक ओमप्रकाशले १० वटासम्म होमस्टे चलाउने योजना सुनाए । माडी नगरपालिकाले प्रत्येक होमस्टेलाई ५ लाख रुपैयाँ अनुदान दिएको थियो । स्थानीष्ले होमस्टे बनाउन करिव १२ लाख खर्चेका थिए ।

सांस्कृतिक भवन अभाव

होमस्टे चल्न थालेपछि पर्यटक थारु संस्कृति हेर्न उत्सुक हुन्छन् । थारु संग्रहालयको एक सानो हलमा थारु नाच देखाउनुपर्ने बाध्यता छ । राम्रो ‘साउण्ड सिष्टम’ पनि छैन । झम्टा, झुमरी, लठ्ठी, फागुलगायत नाच देखाउँछन् । “सांस्कृतिक भवन भएमा व्यवस्थितरुपमा नाच–गान देखाउन सकिन्थ्यो”, व्यवस्थापक महतोले भने, “पहल भइरहेको छ ।” थारु संग्रहालयमा थारुले प्रयोग गर्ने परम्परागत सामान, भेषभुषा, कला, संस्कृति झल्काउने सामाग्री राख्न बाँकी छ ।

होमस्टे निर्माण तीव्र

माडी–१, वनकट्टा बोटे टोलमा करिब ८ वर्ष पहिले ५ होमस्टे सञ्चालनमा आएका थिए । अहिले ३ वटा मात्रै सञ्चालनमा छन् । २०७२ पुसमा माडी–८, शिवद्वारमा ११ होमस्टे सञ्चालनमा आएका थिए । त्यसयता माडीमा होमस्टे खुल्ने क्रम बढेको छ । वनकट्टामा अहिले ८ होमस्टे बन्दैछन् । जसमध्ये ६ वटा अन्तिम चरणमा छन् । झ्याल, ढोका राख्ने, बाथरुममा टायल लगाउने काम मात्रै बाँकी छ । स्वीस प्रोजेक्टको लगानीमा २ होमस्टे, सांस्कृतिक भवन र भ्यूटावर बन्दैछन् ।
माडी–५ स्थित सोमेश्वरगढीको फेदी छरछरेमा नगरपालिकाले नै ५ वटा होमस्टे बनाएको छ । प्रति होमस्टे १३ लाख खर्च भएको छ । ६ को लक्ष्मी निवासमा १०, ९ को बगईमा ७ वटा होमस्टे चलाउने गरी स्थानीय अग्रसर बनेका छन् ।
“स्थानीय अग्रसर बनेका छन््”, माडी पर्यटन समितिका संयोजक तथा ३ का वडाध्यक्ष पुरन महतोले भने, “सुविधायुक्त बासको व्यवस्थापन भइरहेको छ, दैनिक ५ सय पर्यटक राख्न सक्ने पूर्वाधार बनिसकेको छ ।” मेयर ठाकुरप्रसाद ढकालले भ्रमण वर्षमा कम्तीमा १२ हजार पर्यटक भित्राउने योजना रहेको बताए । “पर्यटकीय गन्तव्य जाने बाटो सुधार भएका छन्, गढीमा मूर्तिहरु बनाइएको छ, भ्यूटावरहरु धेरै ठाउँमा बनाइएको छ”, उनले भने, “२ रात बढी पर्यटक माडी बस्ने वातावरण बनेको छ ।” उनले चितवन राष्ट्रिय निकुञ्जबाट २४ सै घण्टा ओहरदोहर गर्न पाउने गरी केन्द्रीय सरकारसँग पहल गर्न लागिएको बताए ।

सुविधा सम्पन्न रिसोर्ट थपिँदै

नगरपालिकाले सोमेश्वरगढीको फेदीमै काठको सुविधा सम्पन्न २ घर बनाउन योजना ल्याएको छ । स्वीमिङ पुलसहितको ती घर नगरपालिकाले भाडामा सञ्चालन गर्न दिनेछ । छरछरे क्षेत्रमै ३० कोठाको रिसोर्ट बनाउन नीजि क्षेत्रले काम थालेका छन् । माडी–५, राधापुरमा करिब ४० विघा क्षेत्रफलमा आइडिया फर नेपालले फलफुल खेतीसहितको ३० कोठाको रिसोर्ट बनाउन लागेको छ ।
बघौडामा माडी भिलेज रिसोर्टमा सुविधा सम्पन्न १० कोठा र सभाहल, बसन्तपुरमा होटल प्याराडाइज रिसोर्टमा ९ कोठा र सभाहल बनेका छन् । नगरपालिकाले होटल तथा रिसोर्टमा लगानी गरेमा ५ वर्ष व्यावसायिक कर नलिने नीतिगत निर्णय गरेको छ । यो वर्षमात्रै माडीमा ५० बढी नयाँ होटल, लज खुलेका छन् । सोमेश्वरगढी, बैकुण्ठधाम, गोद्धकधाम, शनी मन्दिर, एकता स्तम्भ, पुष्प–मदनबाटिका, शहीदपार्कलगायत गन्तव्य छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट