भोजमा अडिएको अहिलेको तीज

सुष्मा कँडेल

भरतपुर, १३ भदौ

तीज नारीहरुको मुख्य पर्व हो । तीजमा प्रायः चेलीहरु भेला हुन्छन्, गीत गाउँछन्, रमाउँछन् । तीजमा विशेषरुपमा शिव भगवानको अराधना गरिन्छ । तीज हिन्दू महिलाले मात्रै मनाउँदैनन्, सबै जाजातिका महिलालले हर्षोल्लासपूर्वक मनाउँछन् । तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । तीवमा ब्रत बस्ने चलन छ । आफ्नो श्रीमान्का लागि निराहार ब्रत बस्ने चलन छ । श्रीमान्को दीर्घायुको कामना गर्छन् ।
ब्रतको समयमा तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ । शिव र पार्वती भागवानको पूजा गर्ने चलन छ । अविवाहित नारीले सुयोग्य वरको कामना गर्दै ब्रत बस्छन् । यी दिनमा बेलुकिपख घरगाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको अराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोलि महिलाहरु मध्याह्नमै पूजा अराधनापछि फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरु नजिक रहेको शिवमन्दिरमा गई शिव अराधनाका साथै नाचगान तथा रमाइलो गर्छन् ।
तीजको पौराणिक महत्व छ । आधुनिक समाजमा तीज भड्किलो बन्न लागेको आभाष देखिन्छ । श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । यी दुईबीचको सम्बन्ध सुमधुर हुन जरुरी छ । विवाहपछि महिला श्रीमान्को घरमा गएर बस्नुपर्ने परिस्थिति छ । जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र, समाज छाडेर नयाँ परिवार, समाजमा जीवन बिताउनु सहज अवश्य होइन । तीजमा माइतीको यादलाई ताजा राख्ने दिन पनि हो । तीजमा मिठा परिकार खाने, नयाँ कपडा लगाउने, जमघट गर्ने, गीतमा रमाउने प्रचलन छ । कर्मघर र माइती घरबीचको दुरी कम गर्न तीजले सघाउँछ ।


भाद्र शुक्ल पञ्चमीको दिन धार्मिक मान्यताअनुसार पापमोक्षका लागि ३६५ वटा दतिवन टोकेर दाँत माझ्ने, माटो तथा गोबर लगाएर नुहाउने चलन छ । दतिवनको डाँठ टोकेपछि खोलामा बगाउनुपर्ने चलन छ । सप्तऋषिको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वास छ ।
तीज ब्रतको दिन घरको कामकाज चटक्क छोडेर महिला स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकरात्मक पक्ष हो । एक महिना पहिलेदेखि नै सञ्चारमाध्यममा तीजगीत घन्किछन् । सासू–बुहारीका झगडा, छोराले घर मिलाउने प्रयास गरेका, छोरी लिन माइत जाँदाका कथा, माइती जान नपाएका विरहका कथाहरु तीजमा समेटिएका हुन्थे । भोगेका पीडाहरु व्यक्त हुन्थे । रमाइला महोत्सव हुन्थे । टिन बजाएर लाङ्लोले हम्केर विभिन्न थरिको पहिरन बनाएर घोडा नाच देखाइन्थ्यो । नाटक देखाइन्थ्यो । मनोरञ्जनात्मक कार्यक्रम हुन्थे ।
कथा र व्यथामा अडिएको थियो परम्परागत तीजको संस्कार । तर, अहिलेको तीज दर खाने, भेला हुनकै लागि मात्रै भएजस्ता देखिन्छन् । स्पीकरमा गीत घन्काएर दर खाने चलन मौलाएको छ । मौलिक भाकाहरु हराउन थालेका छन् । दिनहुँ तीजको बहानामा दर खाने संस्कृति बढेको छ । घर हुनेहरुले त पार्टी जस्तै रुपमा दर मनाइरहेका छन् । घरबहालमा बस्नेहरु पनि प्रशस्तै खर्च गरेर तीज मनाउन थालेका छन् । तीज प्रतिस्पर्धा गर्ने भोजभतेर होइन । आधुनिकताको बहनामा तीजलाई भोजको पर्व जस्तो बनाउन खोजिएको छ, यो गलत हो । को भन्दा को कम भन्ने शैलीमा तीजलाई प्रयोग गरिएको छ । गरगहनामा सजिएर महँगा कपडा लगाएर, बढी खर्च गरेर मात्रै तीज सफल हुने होइन । तीज भनेको विरह, वेदना पोख्ने चाड हो । यो धेरै वर्ष भेट हुन नसकेका चेलीहरु भेला भएर दुःख सुख सुनाउने चाड हो । आर्थिकरुपमा सम्पन्नशाली देखाउने होडवाजीको चाड होइन । नेपाली एउटा भनामा ‘भित्र छैन खाने पिठो बाहिर जाले रुमाल’ भनेझैं हाम्रो देशमा आधुनिक तीज यस्तै भइरहेको छ ।
बालापनमा भोगेका भीरपाखाको उकाली ओरोली, सानाका साथीहरु भेटिने मौका पनि हो तीज । तर, आधुनिकताले तीजको मर्म नै हराउन थालेको छ । विलासिताको पर्व जस्तो नबनोस् तीज । कुनै दिन चेलीहरु माइत जानलाई विभिन्न बहाना हार गुहार गर्नुपथ्र्यो, त्यो पनि खिर खानालाई । तर, अहिले माइत जानुपर्ने अवस्था पनि छैन, किनकि एक महिना अघिबाट तीज लागेको हुन्छ दर खाइरहेकै हुन्छ ।
अहिलेका तीजगीत पनि ठट्यौली खालका छन् । घुम्न जाने र रमाइलो गरौला भावका मात्रै घन्किन्छन् । तीजको मौलिकता नै हराएको छ । हुन त आजभोलि संघसंस्थाहरुले पनि धुमधामसँग तीज मनाउँछन् । दर खुवाउँछन् । हरेक चोक, टोल र घरमा महिनाव्यापी दर पाक्छन् । दिनहुँ भोजभतेर जस्तो अवस्था देख्न सकिन्छ । यो राम्रो हँुदै होइन । तीज धनी, गरीब सबैको हो । महिलाले पीडा पोख्ने, रमाउने पर्व हो । तीजको धार्मिक महत्व छ नै । तर, यसमा भित्रिएको भोजभतेर संस्कृति हटाउनैपर्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट