विप्लव काफ्ले
भरतपुर, १३ भदौ
नवलपुरको मध्यविन्दु–१५, रानिटारकी दीक्षा सुनार गायन क्षेत्रमा क्रियाशील छिन् । उनले हालसम्म एक दर्जन दोहोरी गीत रेकर्ड गराइसकेकी छिन् । सानामा गीत गाउन निकै अग्रसर हुने दीक्षा सामाजिक सञ्जालमार्फत नै गायन क्षेत्रमा उदाउन लागेकी थिइन् ।
अनलाइन दोहोरीमा गाउन थालेपछि उनको स्वर मन पराएपछि केहीले गीत निकाल्न सुझाए । उनको पहिलो एल्बम २०७३ सालमा आयो । गायक विकल्प परियारले उनलाई अवसर दिए । ‘छुट्यो साथ नङ र मासुको’ मार्मिक भाका छ । एसएलसी दिएपछि काठमाडौं पुगेर गीत निकाल्ने इच्छा थियो । तर, उनी मध्यविन्दुकै कलेजमा पढिन् । “स्टुडियोमा बसेर गीत रेकर्ड गाउँदा निकै रोएँ”, विगत सम्झदै उनले भनिन्, “३ दिनपछि बल्ल गीत रेकर्ड भयो, निकै खुसी भएँ ।”

काठमाडौं पुगेर गीत रेकर्ड गराएपछि उनी उत्साहित बनिन् । सानोमा उनी गाउँघरमा हुने पूजामा दोहोरी गाउने गर्थिन् । कक्षा ५ पढ्दा नै स्कूलस्तरीय तीजगीत प्रतियोगितामा द्वितीय स्थान हासिल गरिन् । “गायकै बन्छु भन्ने सपना सानैदेखि थियो”, उनी भन्छिन्, “गायनमा होइन, पढाइमा लाग्नुपर्छ भन्ने दबाब थियो । तर, गीतमै रमाएँ ।”
उनी घरको पहिलो सन्तान हुन् । भाइबहिनी पनि छन् । उनी हाल ब्याचलर तहमा अध्ययनरत छिन् । उनको कर्मथलो चितवन हो । चितवनमै बसेर उनी मेला, महोत्सव, सांगीतिक कार्यक्रममा हिड्ने गर्छिन् । एक वर्षदेखि उनी दोहोरी साँझमा नियमित गाउने गर्छिन् । सांस्कृतिक कार्यक्रममा स्वर दिन मञ्चमा पुग्छिन् । चितवन, नवलपुरका धेरै कार्यक्रममा उनी सहभागी भइसकेकी छन् ।
२०७३ सालमा उनले एकैपटक धेरै गीत रेकर्ड गराएकी छन् । ‘म अभागी यस्तै भएँ’ बोलको गीतमा अस्मित रतन र ‘मन उडेर उतै गइसक्यो’ बोलको गीतमा पञ्चन बिसीले साथ दिएका छन् । ‘यसपालिको तीज फेसबूकमै मनाउँछु’ बोलको गतीमा छत्र परियार, २०७५ सालमा ‘यसपालिको तीजमा आइफोन किन्ने हो’ बोलको गीतमा जीवन रसाइलीले साथ दिएका छन् । ‘परदेशी रहरमा’ बोलको रोइला गीतमा गायक खुमन अधिकारीले साथ दिएका छन् । २०७४ सालमा निस्केको ‘नहोऊ पर–पर’ बोलको गीतमा कुलेन्द्र विश्वकर्माले साथ दिएका छन् । “प्रतिभा भएर पनि गीत निकाल्न नसक्नेहरु पनि छन्”, दीक्षाले भनिन्, “गायन क्षेत्रबाटै चिनिन संघर्षरत छु ।”
रेकर्ड भइसकेका उनका केही गीतको म्युजिक भिडयो बन्ने तयारीमा छन् । दीक्षासँगै मिलेर खुमन अधिकारीले स्वर दिएको ‘जवानी ढल्कियो’ बोलको गीतमा, रिनकुमार श्रेष्ठले स्वर दिएको ‘बामरी बसायो’, जीवन बिसीले स्वर दिएको ‘निश्चल जवानी’ बोलको गीतको म्युजिक भिडियो बन्दैछन् । राजेश लाम्गादेको पञ्चेबाजा गीतमा दीक्षाले पनि स्वर दिएकी छन् ।
दीक्षा २१ वर्ष पुगिन् । तर, उनी सांगीतिक क्षेत्रमा निकै सक्रिय बनेकी छिन् । झ्याउरे, मार्मिक, रोइला, पञ्चेबाजा, तीज गीतहरुमा उनले स्वर भरिसकेकी छन् । “स्थापित गायिका बन्ने लक्ष्य छ”, उनले भनिन्, “यही क्षेत्रमै रमाउनेछु, अझै राम्रा गीत निकाल्नेछु ।”

दीक्षा लोक तथा दोहोरी नयाँ गीत गाउन पनि सीपालु छिन् । दोहोरी साँझमा आउनेहरुले चर्चामा आएका गीत गाउन अनुरोध गर्नेबित्तिकै सहजै गीत गाउँछिन् । “दिनहुँ दोहोरी साँझमा गाउँदा स्वर निखारिने मौका मिलेको छ”, उनले भनिन्, “भविष्यमा आफ्नै गीतको ‘फर्माइस’ हुने अपेक्षा छ, मिहेनत गरिरहनेछु ।” उनले यसपालि तीजगीत निकाल्न नसकेकोमा दुखेसो पोखिन् । “कामको व्यस्तताले तीजगीत निकाल्न सकिनँ”, उनले भनिन्, “अर्को वर्ष अवश्य मिठो गीत ल्याउने छु ।” चितवन र नवलपुर क्षेत्रका धेरै तीज कार्यक्रमहरुमा उनी व्यस्त छिन् । उनी अहिलेका चर्चित गायक पशुपति शर्मा र प्रकाश सपुतसँग मिलेर गीत निकाल्ने योजनामा छिन् ।




