भरतपुर, १३ भदौ
चितवनका अस्पतालमा यतिखेर भाइरल ज्वरो तथा डेंगेका बिरामीको संख्या अत्यधिक छ । डेंगे र स्क्रवटाईफस रोगको संक्रमणका कारण केही व्यक्तिको मृत्यु नै भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिना सुरु भएपछि झण्डै पन्ध्र सय जनाको नमूना परीक्षण गरिएकोमा चार सय जनाभन्दा बढीमा डेंगे संक्रमण भेटिएको छ । डेंगेको परीक्षण हुँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज), नारायणी सामुदायिक अस्पताल, पुष्पाञ्जली अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल र रत्ननगरको बकुलहर अस्पताल सबैमा भाइरल ज्वरो तथा डेंगेका बिरामी अत्यधिक छन् । चितवनका दुई सय ७५ जनामा डेंगेको संक्रमण देखिएकोमा भरतपुर महानगरपालिकाभित्रका मात्रै २ सय ५३ जना छन् । चितवनमा हरेक तीन–तीन वर्षमा डेंगेको महामारी हुँदै आएको तथ्यांकले देखाएको छ । डेंगेको बढ्दो संक्रमण र बच्ने उपायको बारेमा पुष्पाञ्जली अस्पतालका निर्देशकसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारीसँग राजेश घिमिरेले गरेको कुराकानी ः

चितवनमा डेंगेको संक्रमण बढ्नुको कारण के हो ?
पछिल्लो समय चितवन मेडिकल सीटीको रुपमा अघि बढ्दैछ । सँगै चितवन रोगको राजधानीको रुपमा पनि विकास हुँदै गएको छ । चितवन दु्रत गतिमा विकास हुँदै गइरहेको जिल्ला हो । यहाँ शहरीकरणको प्रक्रियामा तीव्र गतिमा अघि बढिरहेको छ । मान्छेको चाप दिन प्रतिदिन बढिरहेको छ । चितवन मध्यनेपाल भएकाले हरेक कुराको ट्राञ्जिट प्वाइन्ट पनि हो । चितवन गर्मी बढी ठाउँ र विकाससँगै बढेको फोहर तथा पानी जम्ने खाल्डा–खुल्डीहरु पनि यसका कारण हुन् । नारायणी र राप्ती जस्ता ठूला नदीहरु यहाँ छन्, पहाडी क्षेत्र र जंगल पनि बजारको नजिकै छ । यससँगै सरसफाइमा पर्याप्त ध्यान दिन नसक्दा यहाँ नयाँ–नयाँ रोगहरु देखापर्ने गरेका छन् । डेंगेको संक्रमण बढ्नुको कारण पनि यिनै हुन् ।
सर्वसाधारणले बुझ्ने भाषामा डेंगे के हो ?
सामान्यतया रोगहरुलाई सर्ने, नसर्ने र समयक्रम र परिस्थितिले ल्याएका नयाँ रोगहरु गरी तीन किसिमका हुन्छन् भन्न सकिन्छ । डेंगे ब्याक्टेरियाका कारण लाग्ने रोग होइन । यो भाइरल रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगे हो । विशेषगरी यसको असर साँझको समयमा बढी हुने गर्छ । सफा खालको फूलदानी तथा खाल्डा–खुल्डीमा जमेको पानीबाट निस्कने लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ ।
यसका लक्षणहरु के–कस्ता हुन्छन् ?
विशेषगरी जेठदेखि भदौसम्म लामखुट्टेबाट सर्ने रोगको खतरा बढी हुन्छ । यो समयमा अकस्मात चर्को ज्वरो आउने, टाउको दुख्ने, कम्मर दुख्ने, मांशपेसी तथा हड्डी अत्यधिक दुख्ने लक्ष्यणहरु यसका हुन्छन् ।
यसको उपचार कसरी गर्ने ?
ठ्याक्कै भन्नुपर्दा यस रोगको उपचार नै छैन । एन्टिवायोटिकका बारेमा जति पनि हल्ला भइरेका छन् ती गलत हुन् । भारइरलले आफ्नो प्रकृति परिवर्तन गरिरहने हुनाले यसको रोकथामका लागि आवश्यक पर्ने भ्याक्सिनहरुको बारेमा अध्ययन भइरहे पनि खासै प्रगति हुन सकेको छैन ।
तैपनी यो रोग लागेपछि मान्छेको हताहती हुन्छ भन्नेचाहिं होइन । सामान्यतया यसका तीन चरण हुन्छन् । पहिलो चरणमा ज्वरो आउँछ । यो तीनदेखि पाँच दिनसम्म रहन सक्छ । त्यसपछिको अवस्था संवेदनशील(क्रिटिकल) वा सुधारउन्मुख(रिकोभरी) को हुन्छ । नेपालको परिप्रेक्षमा हालसम्म डेंगेको संक्रमण ‘क्रिटिकल’ बन्ने अवस्था कम देखिएको छ । ज्वरो आउँदै गर्दा रगतमा ‘प्लेटलेट्स’को मात्रा अत्यधिक घटिरहेको हुन्छ । डेढ लाखदेखि ४ लाखसम्म हुनुपर्ने प्लेटलेट्सको मात्रा १० देखि २० हजारसम्म झर्न सक्छ । यो अवस्थामा बिरामीलाई प्लेटलेट्स दिनुपर्छ । त्यस्तै क्रिटिकल अवस्थामा गएर अकस्मात रक्तचाप बन्द हुने समस्या पनि आउन सक्छ । यसो भएमा समयमै ध्यान नदिँदा बिरामीको मृत्यु हुनपनि सक्छ । भारत, श्रीलंकालगायत देशहरुमा यो समस्या बढी छ । तर, नेपालमा अहिलेसम्म यस्तो सम्भावना कम देखिएको छ ।
हरेक वर्ष यसको खतरा बढ्दै गएको हो ?
विस्तारै संवेदनशीलता बढ्दै गएको छ । बिरामीहरु पहिलो दिनमै कडा ज्वरो लिएर आउँछन् । अचानक धेरै ज्वरो आउँदा बिरामी अत्तिएर स्थानीय मेडिकलमा नदेखाइ सिधै अस्पताल आउने हुनाले पनि चाप निकै बढेको छ । अस्पताल आएका बिरामीको ‘एनएसवान एन्टिजेन’ परीक्षण गर्दा डेंगेको भाइरस देखिने क्रम अत्यधिक बढेको छ । पहिले ज्वरो आएको ३ दिनपछि डेंगेको भाइरस देखिने गरेकोमा अहिले पहिलो, दोस्रो दिनमै देखिने गरेको छ । तीन दिनसम्म पुग्दा त प्लेटलेट्स अत्यधिक घट्ने र बिरामी अत्तिने पनि हुन्छ । कतिपयले त औषधि गर्दा झन् बिमार बढ्यो भनेर गुनासो गर्ने गरेका पनि छन् । तर, आत्तिनु हुँदैन विस्तारै ठीक हुन्छ ।
यसबाट बच्ने उपायहरु के हुन् ?
यसबाट डराउनै पर्ने त होइन । तर, होशियारचाहिं हुनुपर्छ । खतराको संकेत देखापर्नेबितिक्कै चिकित्सकको निगरानीमा रहनुपर्छ । यो ‘प्योर भाइरल’ रोग भएका कारण असर स्वरुप शारीरका आवश्यक भागहरुमा जल विनियोजन हुन नदिने समस्या हुन्छ । समयमै प्लेटलेट्सको मापन गरेर आवश्यकता पर्नेभन्दा कम भयो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यसको कमीले रक्तसञ्चार रोकिने र खेर जाने समस्या हुनसक्छ । कथमकदाचित ब्याक्टेरियाले आक्रमण गरिहाल्यो भने एन्टियोवायोटिकको काम अउँछ । ग्रामीण क्षेत्रमा रोग पत्ता नलगाई ‘पेनकिलर’को प्रयोग गर्नेको संख्या बढी देखिएको छ । यदि डेंगे रहेछ भने यसले ठूलो असर पार्छ । पेनकिलरले प्लेटलेट्स अझ कम बनाउँछ । ज्वरोको प्रकृतिलाई दबाउँदा ज्वरोबाट हुने खतराको संकेत नदेखिने समस्या हुन्छ । त्यसैले अकस्मात ज्वरो आएमा चिकित्सकको सल्लाह लिएर अगाडि बढ्दा खतरा कम हुन्छ ।
यसको नियन्त्रणका लागि कसरी अघि बढ्नुपर्ला ?
डेंगे नियन्त्रणका लागि लामखुट्टे, मान्छे र वातावरणको ‘चेन’लाई तोड्न सक्नुपर्छ । नियन्त्रणको सबैभन्दा पहिलो उपाय टोक्नै नदिने हो । यसका लागि साँझपख बाहिर ननिस्कने, घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने, शरीरमा लामखुट्टेले टोक्न नसक्ने केमिकलको प्रयोग गर्ने तथा लामखुट्टे निरोधक झुलको प्रयोग गर्ने पहिलो उपाय हो । त्यसपछि घर वरपरको सरसफाइ गर्ने, पानी जम्न नदिने अर्को उपाय हो । साथै, यसको नियन्त्रणका लागि राज्य, स्थानीय निकाय, जनता तथा मिडियालगायत सरोकारवालाको भूमिका पनि महत्वपूर्ण हुन्छ । सबै एकजुट भएर नियन्त्रणमा लागेनौं भने डेंगे मात्रै होइन स्क्रवटाईफस, स्वाइन Çलुलगायत अन्य भाइरलहरुको खतरा पनि रहन्छ । त्यसैले हामी सबै मिलेर अघि बढ्यौं भने रोगलाई परास्त गर्दै स्वस्थ जीवन जिउन सकिन्छ ।




