सौराहामा समान भवन,एउटै रंग

धु्रवराज खनाल
रत्ननगर,  १३ भदौ
सौराहालाई नयाँ पहिचान दिने प्रयासको सुरुआत गरिएको छ । वर्तमान अवस्थामै रहिरहँदा सौराहाको भविष्य अन्यौल हुने चिन्ताले नयाँ पहिचान दिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु र यहाँ हुने सफारी पर्यटनको कारण सौराहा देश विदेशमा चिनिएको छ ।


अन्य लोभलाग्दो खासै नयाँ गतिविधि हेर्न र बुझ्ने अवसर छैन । वन्यजन्तुकै कारण र सौराहाको अहिलेको अवस्थाले यहाँको पर्यटन दिगो हुन नसक्ने बुझेर स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र सौराहाका व्यवसायीहरुले नयाँ पहिचानको खोजी गरेका छन् । सौराहाको नयाँ पहिचानकै लागि रत्ननगर नगरपालिकाको अगुवाइमा यहाँका भवनहरु सीमित उचाइ र एउटै किसिमको रङ लगाउने तयारी गरिएको छ ।
सोही अभियानको सुरुआत गर्न रत्ननगर नगरपालिकाले सौराहामा लागू गरिने भवन निर्माण मापदण्ड र पर्यटन वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे सरोकारवालाहरुबीच बिहीबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगरको वडा नम्बर ५,६,७ र ८ मा होटल तथा आवासीय घर नक्सापासका लागि नगरपालिकाले १३ वटा बुँदालाई आधार मानेर प्रस्ताव पेश गरेको छ ।
भवनको भुइँ तल्ला र प्रथम तल्ला आरसीसी फ्रेम स्ट्रक्चर बनावट र दोस्रो तल्लाको हकमा स्लोप ढलान वा जस्ताको छाना राख्नुपर्ने, भवनको रंङरोगनको हकमा वातावरणमैत्री हुन एकै प्रकारको मात्रै रंग प्रयोग गर्नु रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । भवन निर्माण गर्दा नेपाली कला र संस्कृति झल्कनेसमेत हुनुपर्ने प्रस्ताव राखेको छ । सौराहाको विकासमा लागि नगरपालिकाले अघि सारेको योजनामा सहयोग गर्न मेयर वनले होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे । “पुरानै ढर्रामा व्यवसाय गरेर यहाँको पर्यटन दिगो हुदैन”, मेयर वनले भने, “नयाँ केही दिनकै लागि नगरपालिकाले अपनत्व लिएर योजना बढाएको हो,यसमा सबैको साथ चाहिन्छ ।”
नगरपालिकाको योजना र प्रस्तावप्रति यहाँका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरु सकारात्मक छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुंगाना, पर्यटन व्यवसायीहरु टीका गिरी, दीपेन्द्र खतिवडा, ज्ञानेन्द्रकुमार विष्टलगायतले नगरपालिकाको योजनालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले योजना मात्र ल्याउने नभई कार्यान्वयन गर्नसमेत नगरपालिकालाई आग्रह गरे । “नगरपालिकाको योजनामा हामी सहमत छौं”, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भने, “सौराहाको पहिचानका लागि तलामा भन्दा कलामा ध्यान दिनुपर्छ ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सौराहा र यहाँ आउने पर्यटकको लागि सुरक्षा दिन प्रशासनले कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सौराहाको विकासका लागि यहाँ २४ सै घण्टा व्यवसाय सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।
सौराहाबाट अन्यत्र पर्यटक गयो भनेर चिन्ता लिनुभन्दा यहाँकै व्यवसायी सक्रिय हुनुपर्ने बताए । “अरु क्षेत्रमा पर्यटन विस्तार भयो भनेर चिन्ता लिने होइन”, पूर्व अर्थमन्त्री पाण्डेले भने, “सेवा सुविधा र पहिचानमा ध्यान दिए, यहाँको भविष्य उज्वल छ ।” सौराहामा ११० वटा होटल, करिब ६० वटा रेस्टुरेन्ट रहेका छन् । सौराहा सफारी पर्यटनले समेत विश्वमा चिनिएको छ । साथै, यहाँको थारु संस्कृति पनि अर्को विशेषता हो । सौराहा आउने पर्यटकले जीप सफारी, हात्ती सफारी, डुँगा सयर, पैदल यात्रा, राप्ती नदी किनारबाट सूर्यास्त अवलोकन गर्न पाउँछन् । गत आर्थिक वर्षमा १ लाख ८७ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । जसमध्ये ८२ प्रतिशत पर्यटक सौराहा स्थित मुख्य प्रवेशद्धारबाट प्रवेश गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट