चट्याङको असर अस्पतालमा: ‘अर्थिङ’ बेवास्ताले बिग्रिन्छ रिपोर्ट

राजेश घिमिरे

भरतपुर, ११ भदौ
चट्याङ परेर जनधनको क्षति भएको त हामीलाई थाहै छ । चट्याङको असर चुरे क्षेत्रमा बढी पर्छ । यसको कारण नेपालमा औसतमा वार्षिक १ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाइरहेका छन् । चितवनको पहाडी क्षेत्रमा पनि चट्याङका कारण धेरैको मृत्यु हुने गरेको छ । यसका कारण कयौं व्यक्ति घाइते भएका छन् भने कयौं घरबारविहीन बनेका छन् ।

यो त सबैले सजिलै देख्ने प्रभाव भयो । चट्याङको सहजै नदेखिने असर अझ खतरनाक हुने विज्ञहरु बताउँछन् । डिजिटल प्रणाली भएका क्षेत्र तथा मेडिकल क्षेत्रमा यसको असर निकै नजानिँदो तरिकाले पर्ने गरेको छ । चट्याङसम्बन्धी विज्ञ डा. श्रीराम शर्माका अनुसार चट्याङलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरुले राख्ने गरेको अर्थिङका कारण ‘मेडिकल टेस्ट’ को नतिजामै तल–माथि हुने खतरा हुन्छ । उनका अनुसार प्रायः स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परीक्षणका लागि विभिन्न मेसिन जडान गर्दा अर्थिङ राख्छन् । तर, त्यसको निरन्तर निगरानी गर्दैनन् । “अर्थिङ राखेपछि चट्याङको असर हुँदैन भन्ने मात्र धेरैलाई थाहा छ । त्यसैले प्रायः अस्पतालहरुले अर्थिङ गर्छन्”, शर्मा भन्छन्, “तर एकपटक अर्थिङ जोडेपछि कहिल्यै पनि यसको अवस्थाको बारेमा बुझ्ने गरेको पाइँदैन ।”
श्रीलंकाको कोलोम्बो विश्वविद्यालय र स्वीडेनको उपशाला विश्वविद्यालयबाट चट्याङको विषयमा विद्यावारिधि गरेका डा. शर्माका अनुसार सामान्यतया अस्पतालमा अर्थिङ जोड्दा यसको ‘रेजिस्टेन्स’ ०.५ ओम(ओएचएम) भन्दा कम आवश्यक पर्छ । प्रायः अस्पतालहरुले अर्थिङ गर्दा ०.२ ओमसम्म रेजिस्टेन्स पु¥याउने गर्छन् । यो अवस्थामा सम्बन्धित मेसिनले दिने नतिजा ठीक आउँछ । तर, एकदेखि दुई महिनाभित्रमा रेजिस्टेन्स बढेर ०.५ वा सोभन्दा माथि पुग्छ । जसले मेसिनले दिने नतिजामा प्रभाव पार्छ । “अर्थिङ जोडिएको केही दिनसम्म त नतिजा ठीक आउँछ । तर, एकदेखि दुई महिनापछि भने रेजिस्टेन्समा हुने वृद्धिले नतिजामा असर गर्छ”, डा. शर्माले भने, “कुनैपनि अस्पतालले यसमा ध्यान पु¥याइरहेका छैनन् । यसको प्रत्यक्ष असर बिरामीमा परिरहेको छ ।”
चट्याङको बारेमा बुझेका तथा अर्थिङको विषयमा जानेका जनशक्ति कम हुँदा यसको असर मेडिकल क्षेत्रमा परेको विज्ञ बताउँछन् । नेपालमा चट्याङको विषयमा पढाइ सुरु भएकै छैन । डा. शर्माका अनुसार देशका प्रायः भौतिक संरचनामा अर्थिङको काम सामान्य ईलेक्ट्रिसियनले परम्परागत प्रणालीबाट गर्ने गरेका छन् ।
“उनीहरुले जोड्ने काम त गर्छन् । तर, यसको अवस्थाको बारेमा निरन्तर जाँच गर्ने जनशक्ति नै छैनन्”, उनले भने । इलेक्ट्रिकल ईञ्जिनियरिङको पाठ्यक्रममा समेत यो विषय समावेश छैन । चट्याङसम्बन्धी खोज तथा अनुसन्धानको काम गर्ने संस्था लार्क नेपालका अध्यक्षसमेत रहेका डा. शर्माले अब भने नेपाल ईञ्जिनियरिङ परिषद्सँगको समन्वयमा इलेक्ट्रिकल ईञ्जिनियरहरुलाई तालिम दिने सोच बनाएको बताए ।
चट्याङका कारण जनधनको क्षति हुने हिसाबले पहाडी क्षेत्र बढी जोखिममा छ । २०६८ सालदेखि गतवर्षसम्ममा चितवनमा चट्याङका कारण १२ जनाले ज्यान गुमाको र ३२ जना घाइते भएको गृह मन्त्रालयको रेकर्डमा उल्लेख छ । यो अवधिमा देशभरमा ८ सय ४१ जनाको चट्याङका कारण ज्यान गएको छ । झापाको दक्षिण पूर्वी क्षेत्र देखि नवलपरासीको चुरे क्षेत्र चट्याङको उच्च जोखिममा रहेको क्षेत्र हो । मकवानपुर सबैभन्दा बढी जोखिममा रहेको जिल्ला मानिन्छ ।
जनचेतना अभियान चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने महत्वपूर्ण उपाय हो । सरकारले चट्याङको पूर्वानुमानका लागि केही काम गरेपनि जोखिमपूर्ण क्षेत्रमा यसको पहुँच पु¥याउने बिषयमा ध्यान दिन नसकेको सरोकारवाला बताउँछन् । लार्क नेपालका सदस्य किरणबन्धु अर्याल चट्याङ प्रतिरक्षा प्रणालीलाई भवन निर्माणको मापदण्डमै राखेर अनिवार्य गर्नु आवस्यक रहेको बताउँछन् । तर, भूकम्पपछिको पुनर्निर्माणका क्रममा समेत सरकारले यस विषयमा ध्यान दिन नसकेको उनी बताउँछन् ।
बुधबार भरतपुर महानगरपालिकाको कार्यालयमा हरियो वन कार्यक्रम र लार्क नेपालले गरेको एक कार्यशालमा सहभागि विज्ञहरुले घरको छतमा तामाको त्रीशुल राख्ने र तामा तथा आल्मुनियमको तार रड तथा पातामा जोड्ने विषयमा मात्रै चेतना जगाउन सक्दा पनि चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
जिल्लाका विभिन्न स्थानीय तहका कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको कार्यशालामा उनीहरुले लाखौं रुपैयाँ लगानी गरेर भवन निर्माण गर्दा केही हजार रुपैयाँको चट्याङ सुरक्षा प्रणाली राख्न कञ्जुस्याइँ गर्न नहुने बताएका थिए । चट्याङ आठ वर्षको अबधिमा नेपालमा मानवीय क्षतिको हिसाबले भूकम्प पछिको दोश्रो ठूलो विपद् हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट