नयाँ दिल्ली, २६ साउन
भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेर उनकी आमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । यसअघि सोनिया गान्धीपछि राहुल अध्यक्ष चुनिएका थिए ।
लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा अस्वीकृत गरिएको थियो ।
कार्यसमितिको बैठकमा नेताहरुले राहुललाई राजीनामा पत्र फिर्ता लिन भनेका थिए, तर राहुलले नमानेको समाचारमा उल्लेख छ । उनले राजीनामा पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन् ।
सन् २०१४ को चुनावमा कांग्रेस पराजित हुँदा पनि राहुल गान्धी नै पार्टी अध्यक्ष थिए । त्यतिबेला ५४३ सिटमध्ये कंग्रेसले जम्मा ४४ सिट जितेको थियो । यस वर्ष उसले ५२ सिट ल्याएको छ ।
कांग्रेस कार्यसमितिको बैठकमा जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसिएको विषयमा पनि छलफल भएको थियो । बैठकपछि राहुलले जम्मु-कश्मीरको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय बैठकले गरेको बताएका थिए ।




