‘ईञ्जिनियरिङ कलेजको विषयमा धेरै खिचातानी नगरौं’

कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको विवादका बाबजुत त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा ईञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको चितवन ईञ्जिनियरिङ क्याम्पस स्थापना गर्न लागेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको नजिकै रहेको पुरानो भवनलाई व्यवस्थापन गरेर ईञ्जिनियरिङको पढाइ सुरु गर्न लागिएको छ । केही दिनअघिमात्र त्रिविले उक्त संस्थानका लागि क्याम्पस प्रमुख तोक्यो । थापाथली क्याम्पसमा उप–प्राध्यापक(आर्किटेक्ट) रहेका सुदीप शर्मा पौडेललाई त्रिविले क्याम्पस प्रमुख तोकेको छ । पौडेलसँग नेपाल ईञ्जिनियरिङ परिषद्मा रहेर काम गरेको अनुभवसमेत छ । यसै सन्दर्भमा पौडेलसँग राजेश घिमिरेले गरेको कुराकानीः

सुदीप शर्मा पौडेल
क्याम्पस प्रमुख, चितवन ईञ्जिनियरिङ क्याम्पस, रामपुर

ईञ्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी के हुँदैछ ?
क्याम्पसको शुभारम्भ केही दिन अघि भयो । क्याम्पस प्रमुखको जिम्मेवारी लिएर म यहाँ आएको छु । अहिले म निरन्तर कार्यक्षेत्रमै खटेर काम गर्दैछु । आवश्यक भौतिक संरचना निर्माणका लागि नक्सांकनको काम आफैं गर्दैछु । भवन निर्माणको लागि टेण्डर गर्ने तयारी पनि हुँदैछ । साथै तत्कालका लागि काम चलाउने उद्देश्यले अहिले भएको भवनलाई सुधार्ने काम सुरु भएको छ । रंगरोकनका कामहरु चलिरहेका छन् । हामी यसै बर्ष देखि पढाई सञ्चालन गर्ने तयारीमा छौं ।

यसै वर्षदेखि पढाइ सुरु गर्न विद्यार्थी भर्ना तथा पढाइको तयारी कसरी गर्दै हुनुहुन्छ ?
ईञ्जिनियरिङ अध्ययन संस्थानले सबै इन्जिनियरिङ क्याम्पसहरुका लागि प्रवेस परीक्षा सञ्चालन गरिरहेको छ । साउन २० देखि ३१ गते सम्म विद्यार्थीहरुको परीक्षाको मिति तोकिएको हो । विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण देशभरका ५० हजार भन्दा बढी विद्यार्थीहरु मध्ये १२ हजार जना स्नातक तहको परीक्षामा सहभागी हुँदैछन् । त्रिविको क्षमता करिब ७ हजार जनाको छ । रामपुरमा यस बर्षका लागि ४८ जना विद्यार्थीलाई पढाउने तयारीमा हामी छौं । मंसिर १ गतेबाट हामीले कक्षा सुरु गर्नैपर्छ । यसका लागि संरचना सबै भन्दा महत्वपूर्ण कुरा हो । यसमा हामी खटिरहेका छौं । त्यस्तै आवश्यक अध्यापक तथा कर्मचारीहरुको दरबन्दी व्यवस्था गर्नुपर्ने छ । त्रिवि यसै वर्षदेखि यहाँ जसरी पनि ‘व्याचलर ईन इन्जिनियरिङ’(बीई) को कक्षा सञ्चालन गर्नमा दृढ रहेकाले तयारी दु्रत गतिमा भइरहेको छ ।

बजेटको अवस्था के छ ?
सुरुआतमा बीउ पुँजीको रुपमा नेपाल सरकारले एक करोड रुपैयाँ उपलब्ध गराएको छ । यसले हामीले तयारी सुरु गरेका छौं । यो रकम अत्यन्तै न्यून हो । सरकारले केही समयमा १५ करोड रुपैयाँ उपलब्ध गराउने भनेको छ । यो रकम प्राप्त भयो भने पढाई सञ्चालन गर्न सकिन्छ । तर, क्याम्पसका लागि आवश्यक सम्पूर्ण संरचना निर्माण गरेर पूर्णरुपले सञ्चालनमा ल्याउन त्यतीले नि पुग्दैन । सरकारले आवश्यकताअनुसार बजेट थप गर्दै जान्छ । त्यसैगरी भरतपुर महानगरपालिकाले पनि सहयोग गर्नेछ । अहिले भवन मर्मतका लागि आवश्यक प्राविधिक जनशक्तिका साथै अन्य सहयोग पनि महानगरबाट समेत हुने अपेक्षा हामीले गरेका छौं ।

ईञ्जिनियरिङ क्याम्पसका लागि चितवन नै रोज्नुको कारण के छ ?
चितवन शैक्षिक केन्द्रको रुपमा विकास हुँदैछ । मेडिकल सीटीको रुपमा अघि बढ्दैछ, कृषिको उर्वर भूमि पनि हो । स्वास्थ्य, कृषि, पशुपालन विषयको पढाइमा चितवनले प्रगति गरिरहेको छ । अन्य विषयमा पनि चितवनको प्रगति राम्रो छ । तर, ईञ्जिनियरिङ विषयमा सरकारको उपस्थिति थिएन । त्यसैले पनि त्रिविले चितवनलाई केन्द्रित गरेर यहाँ पढाई सुरु गर्न खोज्दैछ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयका केही सँस्थाहरुले इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहे पनि सरकारको उपस्थिति थिएन । अब यहाँ क्याम्पस सुरु भएपछि गरीब परिवारका विद्यार्थीहरुको पनि पहुँच पुग्नेछ । धेरैले अवसर पाउनेछन् । संस्थानले सञ्चालन गर्दै आएका सात वटा संकायमध्ये चितवनमा आर्किटेक्ट, कम्प्युटर र सिभिलमा राम्रो संभावना देखिएको छ । यी संकायमा १२ जनाले निशुल्क तथा अन्यले शुल्क तिरेर पढ्न पाउनेछन् । शुल्क तिर्दा पनि चार बर्षे कोर्षका लागि ३ लाख र ५ बर्षेका लागि साढे ३ लाख रुपैयाँले पढाई पुरा हुन्छ । वास्तवमा भन्नुपर्दा चितवनको लागि कोशेढुंगा सावित हुनसक्छ ।

नेपालमा हाल सम्म उत्पादन भएका ईञ्जिनियरिङ जनशक्तिको अवस्था कस्तो छ ?
नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता हुनेको संख्या करिब ५१ हजार छ । नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुकमा रुपान्तरण हुँदैछ । विकासको युगमा दक्ष जनशक्तिको आवश्यकता धेरै हुन्छ । त्यसैले हामीलाई धेरै जनशक्ति आवश्यक पर्छ । भूकम्प पछिको पुनर्निमाणको अवसर पनि हामी सामु छ । पूर्वाधार विकास अहिलेको मूख्य आवश्यकता हो । यसको लागि दक्ष जनशक्ति पहिलो सर्त हो । सरकारी स्रोतबाट राज्यको लगानीमा सर्वसुलभ रुपमा पढ्ने अवसर भयो भने चाहेजस्तो जनशक्ति उत्पादन गर्न पनि सकिन्छ ।

ईञ्जिनियरिङ जनशक्ति विदेशिने क्रम पनि बढ्दो छ । कारण के होला ?
देशको अवस्थालाई कारण देखाएर लाखौं युवाहरु विदेशिएका छन् । यसमा इन्जिनियरहरु पनि छन् । यो मानवीय आवश्यकताले हुने कुरा हो । तर, कतिपय युवाहरु शिक्षाकै लागि विदेशिएका छन् । नेपालमा स्नातक सकेकाहरु स्नातकोत्तर तथा विद्यावारिधिका लागि पनि विदेश गइरहेका छन् । कतिपयले छात्रवृत्तीमा पनि पढिरहेका छन् । यहाँ स्नातक गरेर विदेश गएर उपल्लो तह पढ्ने देखि कामगर्ने सम्मले राम्रो गरिरहेका छन् । विदेशीले नेपालीलाई हेर्ने दृष्टिकोण पनि राम्रो छ । शिक्षालाई कसरी स्तरीय बनाउने भन्ने चुनौती हामी सामु सँधै रहिरहन्छ ।

त्रिवि र कृषि विश्व विद्यालयका बीचमा अहिले जमिनको विषयमा विवाद चलिरहेको छ । यसलाई कसरी हल गरिँदैछ ?
मलाई यो विवादको विषय हो जस्तै लाग्दैन । यो सरकारी जमिन हो । सरकारी सँस्थाहरु मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । कृषि विश्वविद्यालय हाम्रो छिमेकी पनि हो । छिमेकीसँग छलफल गरेर कुरा मिलाउनुपर्छ । छिमेकी रोज्ने अधिकार हामीसँग छैन । मैले पनि यस विषयमा अनौपचारिक कुराकानी गरिरहेको छु । हामी छलफलका लागि सधैं तयार छौं । यस बिषयलाई राजनीतिक खिचातानीको विषय बनाउनु हुँदैन । यो देशका लागि निकै महत्वपूर्ण छ । चितवनका लागि त अझ बढी महत्वपूर्ण छ ।

अहिलेको ठाउँबाट अन्त सर्न पनि तयार हुनुहुन्छ ?
अहँ । यो त अब सम्भावना छैन । औपचारिक शुभारम्भ गरेर भवन निर्माणका काम सुरु हुन थालिसकेका छन् । पढाईको तयारी भइसकेको छ । हामी त्यहाँबाट हट्ने संभावना छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट