प्रदर्शनी केन्द्रपछि शिक्षालय निर्माणमा लाग्छौ – दुवाडी


भेषराज दुवाडी चितवनका सफल पर्यटन व्यवसायी तथा उद्योगी हुन् । दुवाडी होटल स्टार बैंक्युटका सञ्चालक, युनाइटेट बेभरेज प्रालिका अध्यक्ष तथा स्यान्डविच होम सोलुसनका सञ्चालक हुन् । आर्थिक तथा सामाजिक विकासका अभियानमा उनी निकै सक्रिय छन् । दुवाडी चितवन उद्योग संघ चितवनका अध्यक्ष हुन् । यस्तै क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्षसमेत हुन् । चितवनलाई पर्यटन तथा उद्योग विकास गरेर आर्थिक राजधानीका रूपमा विकास गरिनुपर्छ भन्दै निजी क्षेत्रबाट आवाज उठाउने व्यक्तिबाट चिनिएका चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीसँग राजेश घिमिरेले कुराकानी गरेका छन् ।

चितवन उद्योग संघ के गर्दै छ ?
चितवन उद्योग संघले चितवनलाई आर्थिक राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै लबिङ गर्दै आइरहेको छ । मेरो नेतृत्वमा समिति बने लगत्तै हामीले स्पष्ट कार्ययोजना तय गरेर अघि बढेका थियौं । जस्तै, निर्माणाधीन चितवन प्रदर्शनी केन्द्रलाई पूर्णता दिने, शक्तिखोरमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रलाई द्रुत गतिमा अघि बढाउन पहलगर्ने, चितवनमा औद्योगिक शिक्षालय निर्माणको काम अघि बढाउने लक्ष्य हामीले लिएका थियौं । यो लक्ष्यलाई हामीले पछ्याइरहेका छौं । प्रगति भइरहेका छन् । औद्योगिक प्रवद्र्धन र विकासका लागि हाम्रो ध्यान सधैं रहन्छ । संघमा आबद्ध उद्योगी मात्र होइन, समग्र चितवनको आर्थिक विकास कसरी गर्ने भन्नेबारे नै हामी बढी चिन्तित छौँ । सोही अनुसार नै गतिविधि सञ्चालन गर्दै आइरहेका छौँ ।

औद्योगिक शिक्षालयको काम के हुँदैछ ?
औद्योगिक शिक्षालयको डीपीआर निर्माणको काम भइरहेको छ । हामीले अहिले औद्योगिक प्रदर्शनी केन्द्र निर्माणममा ध्यान दिइरहेका कारण शिक्षालयको काममा केही ढिलाई भयो । केन्द्रको निर्माणकार्य सकेलगत्तै हाम्रो सम्पूर्ण ध्यान त्यसतर्फ जानेछ । हामीले भरतपुर–२९ मा जुगेडीमा संघको स्वामित्वमा रहेको पाँच बिघा क्षेत्रफलमा औद्योगिक शिक्षालय बनाउन लागेका हौँ । उद्यमी र उद्योग क्षेत्रको प्राविधिक उत्पादन गर्न शिक्षालय स्थपना गर्न लागिएको हो । नेपालमा उद्योग क्षेत्रमा काम गर्ने दक्ष प्राविधिकको मागलाई परिपूर्ति गर्न शिक्षालय सहयोगी बन्ने अपेक्षा छ । ५० जना विद्यार्थीका लागि आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ । सीपमूलक प्रशिक्षण दिने र औद्योगिक प्राविधिकका लागि प्रयोगात्मक अध्ययन गर्ने व्यवस्था मिलाउने प्रयत्न छ । आर्थिक स्रोत जुटाउने तयारीमा हामी छौं ।

औद्योगिक प्रदर्शनी केन्द्रको काम के भइरहेको छ ?
घरेलु तथा साना उद्योग कार्यालयको स्वामित्वको २ बिघा साढे ७ कट्ठा जग्गा २९ वर्षलाई भोगाधिकार गर्ने गरी सम्झौता भएपछि निर्माणको काम सुरु भएको हो । नेपाल सरकारले १५ करोड अनुदान दिएको थियो । उद्योगी व्यवसायीबाट पनि केही लगानी भएको छ । हालसम्म करिब १८ करोड खर्च भएको छ । यस बर्ष पनि बजेट पर्ला भन्ने अपेक्षा थियो । तर परेन । तैपनि हामीलाई बजेट उपलब्ध गराउने आश्वासन आइरहेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल देखि अर्थ मन्त्री, उद्योग मन्त्रीहरुले बजेटमा नपरेतापनि कुनै उपायबाट आवश्यक बजेट उपलब्ध गराउने आवश्वासन आएको छ । तत्काललाई काम चलाउनुस भन्नु भएको छ । बजेट प्राप्त भयो भने तीन महिनामा काम सकिन्छ । अनि हाम्रो ध्यान शिक्षालयतर्फ केन्द्रित हुन्छ ।

प्रदर्शनी केन्द्रको अबधारणा के हो ?
प्रदर्शनी केन्द्र सञ्चालनको जिम्मा संघलाई छ । यो काठमाडौंको भृकुटीमण्डप भन्दा स्तरीय प्रदर्शनी केन्द्रका रूपमा बन्दै छ । नेपाल उद्योग परिसंघसँग पनि आवश्यक सहयोग जुटाउने प्रयासमा छौँ । यो प्रदर्शनी केन्द्रले चितवनसहित समग्र देशकै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने अपेक्षा गरेका छौँ । निर्माणाधीन अवस्थामा अन्तर्र्रािष्ट्रय स्तरको पोल्ट्री एक्स्पो र क्यान मेला पनि भइसकेका छन् । मासिक दुईवटा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय स्तरका मेला, महोत्सव, प्रदर्शनी मात्रै गर्न सक्ने हो भने उद्योग व्यवसाय प्रवद्र्धन पनि हुनेछ ।

शक्तिखोरमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको काम के भइरहेको छ र यसको अबधारण के हो ?
सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिसकेको छ । वनक्षेत्रका रूपमा रहेको करिब २ हजार १५ बिघा जग्गामध्ये २ सय ७४ बिघा नेपाली सेनालाई, केही जग्गा सामुदायिक वन, पार्क, समाधिस्थल, मन्दिरलगायतलाई र १ हजार ७ सय बिघा जग्गामा हरियाली पार्कसहितको औद्योगिक क्षेत्र निर्माण गर्ने गरी ‘डीपीआर’ को काम सकिएको छ । ईआईएको सार्वजनिक सुनुवाई पनि सकिएको छ । अब सडक तथा ढलको काम सुरु हुँदैछ । सरकारको प्राथमिकतामा परेको योजना हो यो । यसले औद्योगिक विकासमा ठूलो भूमिका खेल्छ । २५ प्रतिशत ठाउँ छोड्नुपर्ने प्रावधानलाई आधार मान्दा झन्डै १२ सय उद्योग त्यहाँ स्थापना हुन सक्ने अवस्था छ ।
नेपालमै हालसम्म हरियालीसहितको औद्योगिक क्षेत्र सञ्चालनमा आएको थिएन । पर्यटकीय हिसाबले चितवन अगाडि छ । अब वातावरणमैत्री उद्योग सञ्चालन हुनेछन् । चितवनभित्र सञ्चालनमा अप्ठ्यारोमा रहेका केही उद्योग पहिलो चरणमा त्यहाँ स्थानान्तरण हुनेछन् । बहुराष्ट्रिय कम्पनी र ठूला उद्योग पनि त्यहाँ सञ्चालन हुनेछन् । झन्डै ६ महिनापछि सो औद्योगिक क्षेत्र कस्तो मोडलमा चल्ने भन्नेबारे अध्ययनको निष्कर्ष विज्ञ टोलीले सरकारलाई दिनेछ । रोजगारी सिर्जना, राजस्व वृद्धि हुने, केही हदसम्म आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन भूमिका खेल्नेछ । हाम्रो माग भोगाधिकारसहितको औद्योगिक जमिन चाहियो भन्ने हो । शक्तिखोरको विगतमा जनमुक्ति सेना बसेको जमिन, चारैतिर अव्यवस्थित अतिक्रमित हुँदै गरेको जमिनमा औद्योगिक क्षेत्र बनाऊँ भनेरै हाम्रो पहलमा उद्योग मन्त्रालयमा विगतमै प्रस्ताव गरेका थियौँ । कम्तीमा १ सय वर्षसम्म भोगाधिकारसहितको जमिन पाउने गरी व्यवस्था मिलाउनुपर्छ भन्दै आएका छौँ ।

सरकारले ल्याएको कर, स्थायी लेखा नम्बरको अनिवार्यता अनि भीसीटीएस प्रणाली बारे संघको धारणा के छ ?
भीसीटीएस प्रणाली त हामीले नै उठाएका हौं । यो कार्यान्वयन गर्नै पर्छ । यसले व्यापार व्यवसायका क्षेत्रमा देखिएका विक्रिती हटाउन सहयोग गर्छ । सरकारले भन्सारमा कडाई गर्नुपर्छ । मनलाग्दी गर्ने छुट कसैलाई पनि दिनु हुँदैन । वदमासी र दुई नम्बरी गर्नेलाई तह लगाउन पनि यो आवश्यक छ । व्यापार, ढुवानी कसरी व्यवस्थित बनाउने भन्ने बिषयमा यसले सहयोग गर्छ । स्वदेशी उद्योगलाई बढवा दिन तथा व्यवसायलाई भद्रगोल बन्न बाट जोगाउन यसलाई लागु गराउनै पर्छ । स्थायी लेखा नम्बर, कर, न्यूनतम तलव, सामाजिक सुरक्षा ऐन लगायतको बिषयमा राज्यले गरेका निर्णयहरु मान्न हामी तयार छौं ।

उद्यामी निर्माणगर्न उद्योगीहरुलाई संघको छाता भित्र ल्याउन के गर्दै हुनुहुन्छ ?
हामीले औद्योगिक सुरक्षाको वातावरण बनाउन काम गरिरहेका छौं । नीति बनाउने तहमा पनि विभिन्न राय तथा सुझाव दिएर भूमिका खेलिरहेका छौं । हामीलाई लाग्छ हामी औद्योगिक क्षेत्रको अग्रणी संस्था हौं । त्यसैले उद्योगीहरु हाम्रो छाता भित्र आउन लामबद्ध हुनुहुन्छ । हामीले रोजगारी र राजश्वको वृद्धिगर्न भूमिका खेलिरहेका छौं । उद्यमी निर्माणका लागि तालिम तथा गोष्ठीहरु आयोजना गर्दै आएका छौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट