
भरतपुर, १२ साउन
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा शुक्रबार देखि सुरु भएको बोस्टन फिस्टा आइतबार पनि जारी रहनेछ । कलेजका विद्यार्थीहरुले फिस्टाको आयोजना गरेका हुन् ।
कलेजका विद्यार्थीहरुको व्यवस्थापनमा आयोजित बोस्टन फिस्टाको यो दोस्रो संस्करण हो । कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चपागाईँले अघिल्लो संस्करणको तुलनामा कार्यक्रमको शैलीमा केही परिवर्तन ल्याइएको बताए । अघिल्लो फिस्टा एक दिनको थियो भने अहिले फिस्टाको समयलाई तीन दिनको बनाइएको छ । राष्ट्रिय कलाकारहरु पनि प्रस्तुती दिनेछन् ।
बोस्टन फिस्टामा विभिन्न कम्पनीका ३५ वटा स्टलहरु रहेका छन् । सीएफमोटो मुख्य प्रायोजक रहेको फिस्टामा तीन हजार टिकट बुकिङ भइसकेको कलेजका कार्यक्रम अधिकृत एक्सन रोबर्ट लौडारीले जानकारी दिए । उनले कलेजभित्र गरिने यस्तो फिस्टाले विद्यार्थीले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहयोग पुग्ने बताए । कार्यक्रमबाट बचेको रकम विद्यार्थीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्ने उनले बताए ।
शनिबारको कार्यक्रममा कलाकारहरु कमल खत्री, प्रकाश सुपुत, अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिए । त्यसैगरी फिस्टामा अपूर्व क्षितिज सिंह, सुजन जिम्बा, आयुस श्रेष्ठ, डीजे डिमास, डीजे आसिस र अली ब्रदरर्सले आफ्नो प्रस्तुति दिनेछन् ।
कलेजका कार्यकारी निर्देशक राजु लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, शिक्षाविद् रमाकान्त सापकोटा, क्षेत्रीय होटल संघ सौंराहाका अध्यक्ष सुमन घिमिरे, युवा उद्यमी मञ्चका अध्यक्ष दाताराम घिमिरे, जिल्ला प्रहरी कार्यालयका ट्राफिक प्रमुख चन्द्र गिरीले फिस्टाले विद्यार्थीमा व्यवहारिक ज्ञान दिने भन्दै प्रशंसा गरेका थिए । फिस्टामा कलेजका विद्यार्थीले दुई दर्जन गीत र नृत्य प्रस्तुत गर्दै छन् । प्रवेश शुल्क १५० रुपैयाँ राखिएको छ ।




