ल म हिडें है भनेकी छोरी फर्केर आइनन् ….
राजेश घिमिरे
भरतपुर महानगरपालिका–२५ चैतन्यबस्ती घर भएकी २५ बर्षीया सिर्जन काफ्ले सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा प्लस टू पढ्थिन् । बैशाख २६ गते उनको कक्षा १२ को अन्तिम परीक्षा वालकुमारी कलेजमा थियो । परीक्षा सकेपछि उनी भरतपुरको पिपल चोकस्थित सानीआमाको घर गइन् । करिब ४ बजेतिर आमालाई फोन गरिन, “आमा म गाडी चढ्न लागें है ।”
करिब अढाई महिना भयो उनी घर पुगिनन् । आमा वालकुमारी छोरीको बाटो हेरेर बसिरहेकी छन् । “परीक्षाका लागि सानीआमाको घरमा बसेकी थिई । बिचमा धेरै बिदा हुँदा एक–दुई पटक घर आई”, आमा वालकुमारीले भनिन्, “म आउन लागें है आमा भनेकी छोरी आजसम्म फर्केर आइन ।” लगातार सम्पर्कको प्रयास भएपनि सिर्जनासँग परिवारको सम्पर्क भएन । बैशाख २९ गते आमा वालकुमारीले जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको जानकारी दिंदै उजुरी दर्ता गरिन् ।
सिर्जनाका बुबा रुकुमगत काफ्ले मलेसियामा रोजगारी गर्थे । छोरी हराएको थाहा पाएपछि उनीपनि फर्किएर आए । अहिले यो दम्पत्ती छोरीको खोजिमा भौंतारिंदै हिंडेको छ । “प्रहरी कार्यालय, माइती नेपाल, जाने बुझेकाहरुलाई भेट्दै हिंडेको छु”, बुबा रुकमगत भन्छन्, “खोजी हुँदैछ भन्छन्, प्रगती केही देखिंदैन ।”
सिर्जनाले लिने गरेको एनसेल मोवाइलमा बैशाख २६ गते ४ः१० मा आमालाई फोन गरेको देखिन्छ भने ४ः१६ मा १०२ सेकेण्ड, ४ः२१ मा ६६ सेकेण्ड र ४ः३७ मा ३० सेकेण्ड एक भारतीय नागरिकसँग बोलेको देखिन्छ । भारतको युपी मिर्जापुर स्थायी ठेगाना भएका नागरिक राजकुमार सिंहले ९८१६०५०३३६ नम्बरमा सिर्जनाले पटक–पटक कुराकानी गरेकि छन् । राजकुमारले उक्त एनसेल नम्बर झापाको मेचीनगर अस्थायी ठेगाना लेखाएर लिएका छन् । साथमा उनले आफ्नो निर्वाचन कार्ड पेश गरेका छन् । उनको यो नम्बरको डिटेल्समा सम्पूर्ण कल सिर्जनालाई गरेको देखिन्छ । त्यसकारण यो फोन उनले सिर्जनकै लागि भनेर लिएको भन्न मिल्ने ठाउँ छ । यी सबै जानकारी परिवारलाई प्रहरीले उपलब्ध गराएको हो । “यो जानकारी दिन पनि प्रहरीले धेरै दिन लगायो”, रुकमगत काफ्ले भन्छन्, “अहिले त दुई–तीन महिना भइसक्यो अब भेटिंदैन जस्तो कुरा गर्छन् ।” पछिल्लो समयमा प्रहरीले छोरीको खोजीमा माइती नेपाललाई आग्रह गरेको र उतै बुझ्न भनेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला युवतीको खोजीको काम भइरहेको बताउँछन् । “माइती नेपालसँग पनि समन्वय हुँदैछ”, कोइरालाले भने, “कल डिटेल्स हेर्दा हेर्दा सीमा पारीको मान्छेको संलग्नता हो कि जस्तो देखिन्छ तर हामी निष्कर्षमै चाहिं पुगिसकेका छेनौं ।”
सिर्जनाको एक भारतीय नागरिकसँग फोनमा कुराकानी हुन्छ भन्ने उनको आमालाई पनि थाहा थियो । उनको ९ बर्षीय भाईले पनि पटक–पटक भारतीय भाषामा कुराकानी गरेका थिए । पछि भाइले नै आमालाई बताए । आमाले छोरी सोधखोज गरिन् । “सामान्य साथि हो भन्थी, होला तनि भनेर वास्ता गरिन । अहिले अन्तिम कल पनी उसैको देखिएपछि हामीलाई उतै शंका भयो”, उनले सुनाइन् ।
राजकुमार सिंहको राज सिंह र प्रीन्स सिंह नामको दुईवटा फेसबुक आइडी भेटिएका छन् । जसबाट सिर्जनाको फेसबुकमा कमेन्ट तथा लाइकहरु आइरहने गरेको देखिन्छ । तर हराएयता फेसबुक अपडेट छैन । राजकुमारको श्रीमती र छोरा, छोरीसमेत रहेको फेसबुकमा देखिन्छ ।
सिर्जनकाको परिवारले आफ्नो छोरीको अवस्था पत्ता लगाइदिन सबैसँग अनुरोध गरेका छन् । “हामीलाई त्यही मान्छेले भारत लिएर गएको आशंका छ”, काफ्ले दम्पत्ती भन्छन्, “छोरीलाई बेच्यो कि, बिहे गरेको हो कि केही थाहा भएन ।” उनीहरुले छोरीको कि लास, कि सास उपलब्ध गराइदिन प्रशासन समक्ष आग्रह गरेका छन् ।





