जूनकिरीको पत्र(कविता )

प्रिय
तिम्रो आकाशमा
मेरा मनका झिल्काहरू समेटेर एउटा तारा पठाएकी छु
सम्झ,
ती तारा मेरा आँखा हुन्,
टिलपिल–टिलपिल रोईरहेको नठान्नु
त्यो त मेरो खुशीको अंश हो
तिमीले देखेको त्यो बादल मेरा आँखाका गाजल हुन्

मेरो सम्पूर्णता त्यसैमा भरेर पठाएकी छु
तिमीले आफ्नो विशाल छातीमा टाँस्नु ।

तिमी जून भएर बाँचेदेखी
रहर जागेको छ तारा बन्ने
रहर लागेको छ छेउमै बस्ने
बादलका बलिष्ठ पाखुराहरू क्षणमै फैलिएर छेकिदिन्छन् तिमीलाई
मेरा मनका ज्वारभाटाहरू जूनकिरीझैं बल्दै निभ्दै गर्छन्
म निरीह बनेर प्रतीक्षा गर्छु एक झोंका हावाको
जस्ले बादलका पाखुराहरू लतारेर लैजाओस्
अनि म हेरिरहुँ
तिम्रो आकाशको अदभूत उज्यालो ।

दूरी केवल बाधा हुँदैन थियो भने
समयको हुरी
डरलाग्दो हुँदैन थियो भने
म पनि चम्किन्थें सायद तिम्रै वरिपरि,
हुन्थें होला ’जूनको छेउ तारा’
सोचे जस्तो नहुँदो रहेछ
ताराहरू पनि खस्दा रहेछन्
जूनमा पनि ग्रहण लाग्दो रहेछ,
यस्तै–यस्तै भोगाईहरू भोग्दै तिम्रो नजिक बस्न नपाई खसेको तारा भएछु,
म त जुनकिरी भएछु
प्रिय
तिम्रो आकाशमा
मेरा मनका झिल्काहरू समेटेर
एउटा तारा पठाएकी छु
त्यसलाई आफ्नो छेउमा अलिकती ठाउँ दिनु ।

अमिता आख्यान
रत्ननगर, चितवन

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट