साहित्यिक किताबको व्यापार सुस्ताएकै हो ?

बिक्रेता तथा प्रकाशकहरुले हिजोआज बजारमा साहित्यिक किताबको बिक्रीमा सुस्तता छाएको बताउँदै आएका छन् । दसैं र नयाँ वर्षमा बढी मात्रामा किताब बिक्री गर्ने पसलेहरुले यसपटकका दसैं र नयाँ वर्षमा सोचे अनुरुपको व्यापार नभएको बताए । नियमितरूपमा किताब पढ्नेले पनि किताबप्रति ध्यान नदिएको पाइएको छ । आखिर के कारणले साहित्यिक किताबको व्यापारमा सुस्तता छाएको छ त ? नयाँ–नयाँ किताबलाई पाठकले किन रोजाइमा पार्न छाडेका होलान् ? हामीले केही पाठक र लेखकका विचारलाई समेट्ने कोसिस गरेका छौं ।

स्तरीय किताबको खडेरी छ

सुरेन्द्र अस्तफल

अहिले पुस्तक पढ्ने बानी कम भएको हो भन्ने कुरा सामाजिक सञ्जालमा ठुलै हल्लाखल्ला छ । वर्षाको कारण चितवन र देशैभर अहिले साहित्यिक अन्तर्क्िरया कम भएकोले यस किसिमको कुरा चर्चामा आएको जस्तो लाग्छ ।
अर्र्कोितर आख्यानका नाममा सस्ता आख्यानहरू लेखिन थालेकाले पाठकहरूमा पुस्तकप्रति उदासीनता देखिएको जस्तो पनि लाग्छ । वैचारिक रूपमा मस्तिष्क हल्लाउने कृतिहरूको त खडेरी नै छ । लेखकहरूमा ठूला ठेली लेखेपछि चर्चामा आउने लोभले पनि पाठकमा पुस्तकप्रति अरुचि देखिएको हो ।
तर पनि पठन संस्कृति शान्तरूपमा चलेको छ, रोकिएको भने छैन । मेरो आफ्नो हकमा पनि म उत्तिकै किताब पढिरहेकै छु ।
अहिले मदन पुरस्कार गुठीले उल्लेख गरेका कृतिहरू र यसले छुट्टाएका केही कृतिहरुको अध्ययन गर्दै छु । साहित्य हतारमा होइन, आनन्दले पढ्नुपर्छ भन्ने मेरो धारणा छ । अन्तमा जो पनि लेखक बन्न दौडिएकाले साहित्यमा यसले नराम्रो असर पु¥याउन सक्छ । अर्र्कोितर साहित्यमा अनावश्यक विवरण थोपरिएकाले पुस्तकको मूल्य पनि चर्को देखिएको छ, जसको असर पुस्तकको पठनमा पर्न गएको हो झैं लाग्छ ।

ज्ञान आर्जनको माध्यम बदलिएको छ

भूपिन
आख्यानकार

मैदारोको लेखन क्रममा मैले विश्व कला, दलित आन्दोलन, अम्बेडकर धेरै पढेँ, सिनेमाहरू हेरेँ । गान्धीको अटोबायोग्राफी दोर्होयाएँ । सर्र्विजत विश्वकर्माबारे सोधखोज गरेँ । मैदारोको प्रकाशनपछि पढ्ने मामलामा म अलिक अल्छी भएको छु । यसलाई म त्यती अस्वभाविक रुपमा लिन्न । लामो थकानपछिको विश्रामजस्तो समय हो यो मेरा लागि । म सोच्छु, अर्को यात्राका लागि म शक्ति संचय गरिरहेछु ।
मलाई लाग्छ, प्रविधिको विकासले ज्ञान आर्जनको माध्यम बदलिएको छ । डिजिटल पढाइलाई अँगाल्नेहरु दिनदिनै बढिरहेका छन् । वास्तवमा म अचेल किताबमा भन्दा युट्युवमा बढी व्यस्त भइरहेको छु । सिनेमा हेर्छु । वल्र्डकपहरू एकपछि अर्को ठूल्ठूला खेल प्रतियोगिताहरू भए । खेलप्रेमीका रुपमा मेरो समय त्यता पनि खर्च भयो । मैले पछिल्लो समय पढेका पुस्तकहरू कठपुतला, साइड हिरो, कोरियाना कफीगफ, पिपिरी, ओल्ड पार्थ ह्वाइट क्लाउड, छुटेका अनुहार र स्यापियन्स हुन् । समीरको मृत्युको आयु र संगीता स्वेच्छाको गुलावसँगको प्रेम पढ्दैछु ।

पाठकको रोजाईको पहिचान भएन 
मनोज चौधरी
टुकी उपन्यासका लेखक
हिजोआज बजारमा साहित्यिक किताबको बिक्री ह्वात्तै घटिसकेको होइन, घट्नेक्रम चै बढ्दैछ । पाठक संख्याभन्दा लेखक संख्यामा वृद्धि भएको माहोलमा, वास्तवमै बजारमा जस्ताखाले किताबपनि प्रकाशन भएर आए । जुन किताब पढेपनि घिसापिटा उस्तै शब्द चयन, उस्तै विषयवस्तु । बजारमा पाठकले अपेक्षा गरेको किताब गुणात्मक, संख्यात्मक रुपमा कम आए । सामाजिक सञ्जालमा हल्ला गरिएको भरमा किताब पढेर पाठक आर्जित हुनथाले ।
धेरै किताबको भीडबाट पाठकलाई आफुले अपेक्षा गरेजस्तो रचना छनौट गर्न मुस्किल पर्न थाल्यो । अनि विद्युतीय सञ्जाल(डिजिटाइजिङ पेपर, अडियो बुक) तर्फ उन्मुख हुनथाले । यो माध्यमबाट कमसेकम पुरानै किताब सहि, पढ्ने माहोल जम्न थालेको छ । जसको छाप पाठकको मानसपटलमा गहिरिएर बसेको छ । सोही किताबहरु पुनर्पठन, पुनः श्रवण गर्न थालिएका छन् । त्यसैले साहित्य बजार केही खस्केको हो भन्ने लाग्छ मलाई । नियमित साहित्य पाठक त झन् लेखकभन्दा चलाख छन् । जसलाई अब्बल पाठक भन्न रुचाउँछु म । अबको सन्दर्भमा लेखकले किताब रचना गर्दैगर्दा हजारबार सोचेर मात्रै लेख्नुपर्छ । पाठकीय परख पहिचान गर्नु जरुरी छ । यसो गरिएन भने साँच्चिकै किताब पढ्ने माहोल नहराउला भन्न सकिन्न । त्यसैमा लेखक बन्ने हुटहुटी सर्वत्र देखिन्छ । एउटा लेखकको हैसियतले नवसर्जकलाई यत्ति भन्छु, लेखकमा दरिनको लागि हतार नगरौं, पहिला आफ्नो कलमलाई गज्जबले तिखारौं । अनिमात्र प्रकाशनको प्रक्रियामा अगाडि बढौं, तबमात्र पाठक पुनः पुरानै शैलीमा, अंगालोले, हातले च्याप्प च्यापेर किताब पढ्नेछन् । जसको आनन्द वास्तवमै ईपेपरले दिन सक्दैन ।
म त अध्यापन गर्ने मान्छे, निरन्तर अध्ययन अपरिहार्य छ मेरो लागि । टेक्स्टबुकका अलावा धेरैजसो साहित्यका किताबहरु पढ्न रुचाउँछु म । अहिले मैले पढ्दै गरेको किताब, माथि भनेजस्तै पुराना किताबमा रुमलिँदै छु । बर्र्षेिवदा चलिरहेको छ । यही मेसोमा पुनर्पठन भनौं, मोहनदास, कल्याणी धर्ती, एक चिहान, सेतो धर्ती पढिसकें । सरुभक्तको चुली पढ्दै छु अहिले । थुप्रै दिग्गज लेखकका किताब पढ्न बाँकी नै छन् । अहिले नाम नलिऊँ । जय साहित्य, जय पुस्तक ।

बजारमा सेल्स अपडाउन भैरहन्छ 

हिरा लामा

बजारमा साहित्य किताबको बिक्री ह्वात्तै घटेको कुरा पाठकलाई भन्दा बढि पुस्तक व्यवसायीहरूलाई थाहा हुन पर्ने हो । मैले पनि यस्तै सुनेको हुँ । अचेल सामाजिक सन्जाल फेसबुकतिर यस्तै कुरा पढ्न पाईन्छ । तर यहाँले भने जस्तो ह्वात्तै चाहिँ हैन होला । यो पनि एउटा व्यवसाय नै हो । यसमा पनि सेल्स अप डाउन हुन्छ । पाठकको रुचिमा भेरिएसन आउन सक्छ । फेरि, अहिले के पनि चर्चामा ल्याईदिएको छ भने ( नेपाली चलचित्र र नेपाली साहित्यक किताब उस्तै हो, संख्या ह्वात्तै बढे पनि गुदि नभाको ! यसले पनि केही काम गरेको छ कि बिक्रि बितरणमा कमी ल्याउन !
अर्को जिज्ञासामा म के भन्छु भने नियमित रूपमा पढ्ने पाठकले किताब प्रति ध्यान त कसरी नदिन सक्छ र ? ध्यान नदिने त म जस्तो अनियमित र मौसमी पठकले हो जो बजारको आवाजको पछि दौडन्छु, कविताको हरेक लाईनमा दर्शन खोज्छु, उपन्यासको हरेक लाईनमा पन्च लाईन खोज्छु, हरेक अनुच्छेदमा टर्निङ्ग प्वाईन्ट खोज्छु, हरेक भागमा भयंकर कथा खोज्छु, कथाको हरेक लाईनमा जीवनको मन छुने एउटा पाटो खोज्छु । हामीले सबै किताब ‘लड्डु’ जस्ता हुदैनन् भन्ने कुरा भुल्दा रहेछौं । कुनै समोसा र मःम अनि कुनै नरिवल जस्ता पनि हुन्छन् । किताब समातेर बसेको ५, १० मिनेटमा हामी खत्रा कुराहरू खोज्छौ, भेट्टाउँदैनौं अनि साईड लगाईदिन्छौं । हामी प्रायः सुन्छौ, “१० पेज पढेको केही भेटिएन, ३० पेजसम्म निकै गाह्रो गरि पढियो तैपनी अहँ तानेन, अल्छी लाग्यो अनि थन्काईदिएँ ।” एउटा नियमित पाठक, साहित्यको असल पाठकले किताबलाई त्यसरी हेर्दैन । जतिसुकै पट्यारलाग्दो भए पनि उसले अन्त्यसम्म छिचोलेरै छाड्छ, चाहे त्यो ‘उलार’ जस्तो छिटो मीठो होस् या ‘फिरफिरे’ जस्तो लामो मीठो, अनि उस्ले मुल्यांकन गर्छ कि वास्तवमा उसले उक्त किताब पढेर आनन्द प्राप्त गर्यो या गरेन ! हाल म कुनै किताब पढिराको छैन । म आफ्नै किताबको पुनर्लेखनमा छु, शायद यो महिनामा सकिन्छ । पछिल्लो पटक पढेको किताब चाहिँ जिके पोख्रेलको गोहो (कथा संग्रह) र भूपीनको मैदारो उपन्यास हो । किताब पढ्ने माहोल हराएको हैन, हराएको हराएको जस्तो देखिएको हो । पढ्नेले पढिरहेकै छन्, पढिरहेकै हुन्छन् । चाहे विदेशबाट आउने किताबमा ट्याक्स लागोस् या नलागोस्, किताब जेरी जस्तो होस् या नरिवल जस्तो ।

किताबको मूल्य पाठकमैत्री छैन 

निर्दोष जीवन

साहित्यिक किताबको बजारमा सुस्तता छाएको कुरामा सत्यता छ । यतिखेर बर्खायाम पनि छ । पाठकहरुले किताब मात्रै पढ्दैनन्, खेती किसानीको काम पनि गर्नुपर्ने हुन्छ । यतिबेला स्कुल, कलेजमा बर्षे बिदाको समय भएर पनि धेरै जसो पाठकहरु आ–आफ्नो घरायसी कामहरुमा व्यस्त भएकोले गर्दा पनि किताब पढ्ने पाठकको संख्या घट्न गएको हुन सक्छ । अनि अर्को कुरा साहित्यिक किताबको मूल्य पब्लिकेसनहरुले अत्यधिक महंङ्गो राख्ने गरेको हुँदा पनि पाठकहरुले चर्को मूल्यको भार थेग्न नसकेर पनि पाठकको संख्या घट्न पुगेको हुन सक्छ । पब्लिकेसनले यसतर्फ ध्यान दिनुपर्छ । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ प्रवृत्तिले गर्दा नियमित पुस्तक किनेर पढ्ने पाठकहरु पनि ह्वात्तै घटेका छन् ।
यति बेला मित्र पदमराज ढकाल आशावादी सँगको सहकार्यमा आफ्नै “प्रिय साथी” गजल सङ्ग्रह अनि मेरो चौंथो साङ्गितीक एल्वम “मेरो गीत” को तयारीमा जुटेको हुँदा मेरो पठनपाठनमा केही कमी हुन आएको छ । पछिल्लो समयमा उपन्यासकार रामलाल जोशीको “सखी” उपन्यास, जिके पोख्रेलको कथा सङ्ग्रह “गोहो” लगायतका केही पुस्तकहरु पढि सिध्याएको छु ।
पुस्तक पठनको माहोल हराई हालेको चाहिँ होइन । बजारमा अहिले धेरै किताब आएका छन् । तर, ती किताबका लक्षित पाठक को हुन् भन्ने कुरामा अन्यौल छ । जथाभावी किताब प्रकाशन हुनुले पनि खास पाठकको किताब प्रतिको मोह कम हुँदै गएको हो । अहिले एउटा समूह सामाजिक संजालमा भुल्न थालेकाले पनि किताब पठनको सिलसिला मन्द भएको हो । बिदेशतिरका मान्छे फुर्सद हुनासाथ किताब पढ्छन् । तर नेपालका मान्छे फेसबुक चलाएर फुर्सतै पाउँदैनन् । पाठकभन्दा लेखकहरु धेरै नै जन्मिसकेको हुँदा साहित्यिक पुस्तकले असल पाठक पाउन नसकेको हो । अनि प्रायः लेखकहरुले अरु लेखकका किताबहरु किनेर पढ्ने प्रवृत्ति खासै देखिँदैन । अरु स्रस्टाको किताब किनेर पढ्ने लेखकहरु पनि कमै मात्रामा पाइन्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट