प्रीति–प्रणयका गजलकार कमल

सौन्दर्य र कोमलताको प्रभाव ‘तिमी आउनुअघि’ मा परेपछि

१) प्राक्कथनः
“साजिशे–दिल से मुफ्त जलते हैं,
दाग जैसे चिराग चलते हैं ।”
भावार्थः हामीहरू मनस्पतापबाट यसरी व्यर्थ जल्दछौं जसरी दाग (ज्वलन, ताप, ईष्र्या) जलेको घाउले बत्ती जल्दछ ।

केशवराज आमोदी

“मन्दमन्द पवनसँगै चल्दै चल्दै के के ग¥यौ
मेरो सामु मैन बनी जल्दै के के ग¥यौ ?
– तिमी आउनु अघि (पृष्ठ–४६÷१)
गजलकार कमल अर्याल, वि.सं. २०३० कार्तिक २ गते पिता रामप्रसाद अर्याल र माता बालकुमारी अर्यालका पुत्ररत्नका रूपमा धादिङको प्राकृतिक रमणीयताले भरिपूर्ण मैदीको अमराईंमा जन्मेका हुन् । साहित्यमा ‘धादिङे’ उपनामद्वारा परिचित कमल अर्याल दुई दशक अघिदेखि नै गजलको गम्भीरतम साधना, अर्चना, अभ्यास र अनुशीलनमा रहेका मातापिताका परमभक्त, साथीहरुका बीच अति प्रिय, सामाजिक सेवामा दत्तचित्त, कर्तव्यनिष्ठ, उदारमना, मृदुभाषी, इमान्दार र क्रियाशील एवम् सचेत युवासर्जक हुन् ।
यौवनको रहरिलो सोपान चढ्दै गर्दा तारासँग वैवाहिक सम्बन्ध कायम भई सबल, स्वस्तिका र सोनिकाजस्ता असल आत्मज–आत्मजाका पिता र अभिभावक बन्ने श्रेय प्राप्त गरेका अर्याल रत्ननगर नगरपालिका–२, टाँडीमा स्थायी बसोबास बनाई साहित्यिक साधनाका सन्दर्भमा आफ्नै पहलकदमी (नयाँ कार्यका लागि आरम्भ) र सम्पादमा ‘निकुञ्ज’ साहित्यिक पत्रिका, सम्प्रेषण (साहित्य विविध) प्रकाशनमा संलग्न भई युवा जगत्मा साहित्यप्रति जागरुकता बढाई साहित्यिक क्रियाकलापमा उमङ्ग–आभा फैलाइरहेका अवस्थामा जीवनवृत्तिकै क्रममा सहज–मार्ग पछ्याउँदै भैंसेपाटीमा केही वर्ष अलमल गरी फर्केका अर्यालले साहित्यका अन्य विधासँगै गजलको स्वाध्ययन, साधना र सृजनालाई निरन्तरता दिंदै आइरहेका छन् । किशोरावस्थादेखि नै सिर्जनामा अभिरुचि लिने कमलको गजलप्रतिको अनुराग, अभिरुचि र अभ्यासकै कारणले ‘सुन्ने र सुनाउने’ सिलसिलाले उनलाई परिपक्व गजलकारको रूपमा समयले स्थापित गरिदिएको छ । उनका केही कृतिहरूमा इप्रतिनिधि नेपाली गजल (२०७०) हैसियत–२ (गजलसङ्ग्रह–२०७१), अक्षरहरूको पिरामिड (२०७२) र शब्द शिविर (२०७४) जस्ता वृहदाकारका कृतिहरू संयुक्त रूपमा र एकल प्रयासका पुस्तकाकार कृतिहरूमा तिमी आउनु अघि (गजलसङ्ग्रह–२०७१), तिमी आए पछि (गजलसङ्ग्रह–२०७३), लौरो (गजलसङ्ग्रह–२०७५) र माथिका कृतिहरूभन्दा केही फरक विधामा संरचित उत्तरकी अप्सरा (यात्रा साहित्य–२०७५) प्रमुख रहेका छन् ।
तरुन्नुम शैलीमा गजल वाचन र आकर्षण उद्घोषणमा खप्पिस रहेका कमलजी मेरा अनन्य सहयोगी र मित्र हुन् । रत्ननगर नगरपालिकामा रहेर साहित्यको चर्चा–परिचर्चा सहित सम्प्रेषणको सम्पादन र वाल्मीकि साहित्य सदनको कार्यक्रमका सन्दर्भमा हामीहरू भेट भइरहन्छौं र काव्यिक चर्चाहरू गरिरहन्छौं । यसैले पनि मलाई कमलसँग नजिक बनाएको छ र कमल मेरो नजिक भएका छन् । वास्तवमा उनी केही साहित्यिक संस्थाहरूसँग जोडिन पुगेका छन् । वाल्मीकि साहित्य सदन चितवनका कोषाध्यक्ष, कालीगण्डकी साहित्य समाज–चितवनका उपाध्यक्ष, हाम्रो मझेरी साहित्य प्रतिष्ठान र पल्लव साहित्य प्रतिष्ठान चितवनका आजीवन सदस्य र गजलमञ्च चितवनका कोषाध्यक्षजस्ता संस्थाहरू र पदहरूमा संलग्न रहँदै आएका छन् । गजलकारका रूपमा चर्चित हुनु, राम्रा कृतिहरूसमेत प्रकाशनमा आउनु र लोकख्याति बढ्दै जानुका कारणले गजलकार कमल अर्याल धादिङे ‘तिमी आउनु अघि’ (गजलङ्ग्रह–२०७१) का लागि हाम्रो मझेरी साहित्य प्रतिष्ठानबाट सम्मानित–पुरस्कृत भएका छन् । सृजन साहित्य प्रतिष्ठान, नमस्ते साहित्य परिषद््–ओखलढुङ्गा, पालुङ साहित्य प्रतिष्ठान, ओम कार्की साहित्य प्रतिष्ठान, रत्ननगर नगरपालिका र वाल्मीकि साहित्य सदन जस्ता संस्थाहरूबाट सम्मानित भएका छन् ।
उत्तरकी अप्सरा (यात्रा साहित्य–२०७५) उनको पछिल्लो गजलभन्दा पृथक् विधाको कृति हो । उनी गजलकारको रूपमा त चर्चित थिए नै यस कृतिले यात्रासाहित्यमा पनि दरो लेखनी चलाउन सक्दारहेछन् भन्ने प्रमाण हो यो । ससानो व्यापारको सिलसिलामा उत्तरकी अप्सरा अर्थात् चेमोलोङमा काखमा सन्निहित नाम्चे स्याङबुजे, खुम्जुङ, खुन्ते, क्वाङ्वेजस्ता रमणीय स्थलहरूको प्रत्यक्ष अवलोकन गरेका कमलले त्यहाँको वातावरण, प्राकृतिक सौन्दर्य र प्रकृति–वनिताहरूको स्वागतसत्कारको पनि घतलाग्दो वर्णन गरेका छन् । कृति ज्यादै पठनीय र सङ्ग्रहणीय बनेको छ ।
सन्दर्भ ‘तिमी आउनु अघि’को हो । त्यसैले अब गजलसङ्ग्रह तिमी आउनु अघि (२०७१) को केही विस्तारपूर्वक खुलासा गर्ने प्रयत्न गरिनेछ ।

२) संरचनाः यस कृतिमा सङ्कलित तीनसय चालिस वटा सेर र चौरासीवटा गजल छन् । यसको अग्रभागमा तारा अर्यालको प्रकाशकीय, केशवराज आमोदीको सौन्दर्य र कोमलताको प्रभाव ‘तिमी आउनु अघि’ मा परेपछिः एक दृष्टि, ज्ञानुवाकार पौडेलको शुभकामना, पुष्प अधिकारी ‘अञ्जली’को सम्भावनाको उज्यालो आकाश हो ‘तिमी आउनु अघि’, लक्ष्मण अर्यालको ‘गजल स्रष्टा र शब्दकामना’ र गजलकार कमल अर्यालका ‘आफ्नै कुरा’ प्रस्तुत गरिएको छ । गजलको परम्परिक इतिहासमा गजलको शीर्षक चयन नगरिने रहे बमोजिम नै गरिएको छ ।
समालोचक तथा कथाकार लक्ष्मण अर्यालले ‘तिमी आए पछि’ (२०७३) को शुभकामनाका क्रममा “धेरै गजलकारहरू एउटा सङ्ग्रह निकालेर थकाइ मारेका उदाहरणहरू प्रसस्त भेटिन्छन् तर निकै थोरै यस्ता जोदाहा गजलकार हुन्छन् जो सितिमिति थाक्दैनन्, लेखिरहन्छन् र लेखनलाई नै जीवनपद्धति बनाउँछन् । हो, कमल अर्याल धादिङे यस्तै जोदाहा गजलकार हुन् ….।” उनका गजलहरू अब अरू जोदाहा बहरका रूप लिएर आफ्ना भावक पाठकहरू माथि आउने छन् । जीवनका मूल्य र नैसर्गिक प्रति सचेत गजलकारका गजलहरू प्रेम–प्रणयमा मात्र केन्द्रित छैनन् । जिन्दगीका अनेकानेक आरोहावरोहका पदचापहरूमा वेदना, पीडा, सङ्घर्ष, समस्या, सामाजिक स्थिति तथा राजनीकि मुद्दाहरू बनेर फैलिन पुगेका छन् । सामन्ती र नैसर्गिक मान्यताप्रति जागरुक र जुझारू कमलले प्रणयबोध, जीवनबोध, युगबोध र मानवीय कर्तव्यबोधलाई हृदयङ्गम गरी कतै प्रणयनिवेदन, कतै नारी सौन्दर्यप्रतिको मुग्धता, कतै प्रणमी र प्रणयिनी मिलनको आतुरता र प्रणय–पिपासा शान्त गर्ने अभ्यर्थताहरूको संश्लेषित छ अनि कतै प्राकृतिक मोहनी चाञ्चल्यको मनोभिराम चित्राङ्कनता, कतै राष्ट्रप्रेमका उदात्त भाव–भूमिका संयूतता छ । कतै विम्ब चेतनाको सुष्ठुतर समायोनता छ । पाँच शेरमा बुनिएका आक्षरिक–वृत्त, ताल–वृत्त र वार्णिक–वृत्तले कृति सजिएको छ । सङ्गीतिकतासित गजलको निकटस्थ सम्बन्ध रहेकाले गेयात्मकताको अपरिहार्यता रहने हुन्छ । गजलको चर्चामा सबै अगाडि आउने शब्द बहर नै हो । गजलका सेर, गजलका बहर र गजलका स्रोता गजल महफिलमा सुनिने वाक्यांशहरू हुन् ।
गजलमा मात्र होइन हाम्रो लोक जीवन, शैक्षिकक्षेत्र, खेलकुद, गायन–वादनमा जस्तै गजल सम्प्रदायमा पनि गुरु–शिष्यको महनीय विशेषता रहेका हुन्छ । गजलकार कमल अर्याल ‘धादिङ्गे’ गजलका अनुशासित विद्यार्थी भएकाले गजलमा पालन गर्नुपर्ने रदीफ, काफिया, हमकाफिया, मत्ला मक्ता, शेर र लय (मुुसुकियत) मा सचेत देखिन्छन् । आजभोलि गजलको शैल्पिक विधानमा प्रतीक, बिम्ब, अलङ्कार, छन्द वा बहर भावको साधनता र वस्तुविन्यासको फेराहरु समाएर गजलकै अध्ययन गरिन्छ । कतिपय गजलका गुरुहरूले गजलका विद्यार्थीहरूलाई गजल सिर्जना गर्दा निम्न कुरामा ध्यान दिन आग्रह गर्दछन् –
१) मौजूनियत–उच्चारणको साङ्गीतिक लय ।
२) अक्मलियत – स्वयंमा पूर्णता
३) अदबीयत – नम्रता, शिष्टता, शालीनता
४) अफसानियत– ‘गागरमा सागर’ भनिएझैं एउटै सेरमा महाकाव्य उतार्नु
५) हसासियत – शान्तिमा कान्ति र क्रान्तिमा शान्ति ल्याउन सक्ने शेर
६) गिनाइयत – हदैसम्मको मधुरता वा कर्णप्रियता
७) कादिरुल कलामत – उक्ति वैचित्र्यको पूर्ण । ‘अहा ! ’ भन्दा ‘वाह ! ’ ले महफिल गुन्जने हुनु आवश्यक हुन्छ ।
गजलका लागि पु¥याउन पर्ने मसलाहरू धेरै छन् । विशिष्ट भावको समायोजन, दार्शनिकता, शिल्प र कथ्यको सुष्ठुतर समन्विति, उखान–टुक्का, वाग्धारा, उत्सकुताले पूर्ण हुनुका साथै असाध्यै सरल, सरस र सहज–शैलीमा गजल तयार पारिनुपर्ने कुराहरू रहेका हुन्छन् । रचनाकार कमल अर्याल विषयवस्तुका दृष्टिकोणले समसामयिकतातिर भन्दा प्रणयपरकतातिर नै आकर्षित देखिन्छन् । गजलको विषयवस्तुले पनि रति–रागको मोहनीतिर खिचिरहेको हुन्छ । गजलका केही सेरहरूले पाठकको मनोमस्तिकमा विद्युतीय तरङ्क उत्पन्न गरिदिन सक्छन् । नमुनाका निम्ति प्रस्तुत छन्–
“जैलेसम्म तेल थप्छौ बलिरहन्छ यसै गरी,
तिम्रो मेरो शीत–युद्ध चलिरहन्छ यसैगरी ।
त्यति बिघ्न ठूलो गल्ती के भएछ मेरो,
अमृतको खेती गर्छु विष फलिरहन्छ यसैगरी ।
नजिक हुँदा त्यति मीठो लागिन कि म,
न उठाउँदा सिन्को पनि ढलिरहन्छ यसैगरी ।
एकान्तको मीठो बात सुनाइनौ नि मलाई,
समयले जिन्दगी पनि छलिरहन्छ यसैगरी ।
तिमीसँग हात जोडें माफ दिन्नौ अझै
पानी भनी तेल राख्दा जलिरहन्छ यसैगरी
– तिमी आउनु अघि (पृष्ठ–१०)
कृतिको नामकरण गर्दा श्लेषार्थी, बहुअर्थबोधी र प्रतीकात्मकताले भरिएको हुनुपर्ने हुन्छ । यस मानेमा गजलकार निकै सतर्क सावधान र सचेत देखिन्छन् । गजल पढ्दै गर्दा लाग्छ उनी प्रीतिप्रणयका अध्येता हुन् । पिरतीका पुजारी हुन् । पुराणका पृष्ठहरू हरि (कृष्ण) र हर (महादेव) का प्रगाढ प्रेम–लीलाले भरिएका छन् । प्रकारान्तरले तिमी आउनु अघिको प्रसङ्क प्रेम–पुरणाकै पुरश्चरणको प्रतीति हुन्छ । यसै सन्दर्भमा कृतिको नामसँग जोडिएको गजल प्रस्तुत छ –
साँच्चै जून, जून थिएन – घाम, घाम थिएन,
तिमी आउनु अघि मेरो यहाँ कुनै नाम थिएन ।
थिए थुप्रै थुप्रै कालीतिरमा पत्थरहरू,
परिचय खुलेको कुनै शालिग्राम थिएन ।
मधुशालाका ढोकाहरू सबै खुल्ला थिए,
चाँदनीसहितको कुनै साम थिएन ।
पुस्तौंपुस्तादेखि उस्तै थिए मूर्तिहरू,
थाली थियो पूजाका सर्जाम थिएन ।
धमाधम गजलकारहरू बढ्दै थिए,
के गरून् बिचरा ! लेख्छन् सलाम थिएन ।
–तिमी आउनु अघि (पृष्ठ–९)
गजलकार कमल अर्याल आक्षरिकलय र वर्णमात्रिकलयमा गजल बनाउन सामथ्र्य राख्ने गजलाशिल्पी हुन् । बहरे मुतदारिक मुसम्मन सालिममा रचित गजलको रसास्वदन गरौं –
लौ न लौ झस्किएँ गीतमा सँगिनी,
थाम लौ भासिएँ प्रीतमा सँगिनी,
मस्किनौ भेटमा आत्तिएँ बेसरी,
हाँसिनौ के भयो मीतमा सँगिनी,
रातमा साथको घामले डाम भो
बोलिनौ सुस्तरी जीतमा सँगिनी
पौडँदा प्यारमा जिन्दगी डुब्छ कि,
बसमा मातको शीतमा सँगिनी ।
फुल्छ कि वागमा वासना बैंसको,
बाधुँला प्रीतिको हितमा सँगिनी ।
–तिमी आउनु अघि (पृष्ठ–४९)

गजलको मापन विम्ब, प्रतीक, उपमा, भाव सघनता, उक्तिवैचित्र्य र सरल–सरस–सहज शब्दसौष्ठवले कति भरिएको छ वा प्रभावशीलता कुन हदसम्म छ तसीरमा हेरिन्छ ? श्रृङ्गारिक रसोद्रेकताले भरिएको एउटा शेयर पढेर आकलन गरौं–
बादलमाथि खनजोत गर्छु बिउ छर्छु म,
हेर्दै गर अलि नौलो उद्यम गर्छु म ।
– तिमी आउनु अघि (पृष्ठ–३२)
साहित्यकार कमल अर्यालले तखल्लुसको प्रयोग उति गरेका छैनन् । जहाँ गरेका छन्, सान्दर्भिक, हृदयस्पर्शी र बहु–अर्थीको रूपमा गरेका छन् । जस्तै–
कस्तो जादु, टुनामुना कस्तो तिम्रो नजर,
हिलो माथि तिम्रो ‘कमल’ ढल्दै के के ग¥यौ ।
अझ रमणीयताले आच्छन्न बिस्तारै अर्थ मुस्लिंदै गएको अर्को उदाहरण–
हिलोमाथि दुःखसँग फुल्नुको मजा बेग्लै,
‘कमल’ बनी फूल भन्छिन् जानीजानी मलाई ।
– तिमी आउनु अघि (पृष्ठ–३८)
राष्ट्रको सिमान्तीकृत गजलकारको भावना यसप्रकार मुखरित भएको छ –
मेरो सुस्ता रुँदाखेरि मख्ख पर्छन् बैरीहरू,
परेड खेल्न मेरै भूमि किन झर्छन् बैरीहरू ।
– तिमी आउनु अघि (पृष्ठ–३८)
जनतालाई झुटो आश्वासन दिएर सत्तामा पुगेका पिपलपाते सिद्धान्तनिष्ठ नेताप्रतिको व्यङ्ग्य प्रहार गरिएको एक सेर–
“कृषिमा क्रान्ति ल्याउँछु भन्थिस् नि हिजो,
बाँझै छन् खेतहरू धान फलाएर देखा ।”
– तिमी आउनु अघि (पृष्ठ ३÷३)
नेपाली साहित्यमा गजल सम्बन्धी कृतिहरू दिनोत्तर प्रकाशित हुँदै छन् । नेपाली गजलको इतिहास, महनीयता, अवस्था र मूल्याङ्कन अपरिहार्य हुँदै गएको छ । प्रवृत्तिगत विश्लेषणको वेला आइसकेको छ । श्रृङ्गारिक र केन्द्री रचना भए पनि यसमा जीवन र जगत्का समग्र, विचार, दर्शन, मानवीयता, सामाजिकता, क्रान्तिधर्मीता लगायत विकृति–विसङ्गति, अस्थिरता, राजनीतिक भ्रष्टाचार, लोकतान्त्रिक मूल्य र मान्यता, राष्ट्र, राष्ट्रियता र स्वाधीता सम्बन्धी भावहरू प्रकट भएका छन् । भावगत विविधतामय भित्र प्रीति–प्रणयका सुमधुर गुञ्जन नै गलकारको मुख्य उपलब्धी हो । रदीफ र कफियाको समुचित प्रयोग भएको छ । सानातिना त्रुटिरूलाई छाडेर हेर्दा गजलकार नेपाली गजल साहित्यका होनहार साधकका रूपमा अङ्गीकार गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेका छन् । अन्त्यमा गजलकारको एक सेर प्रस्तुत गर्दै लेखनी थाम्दछु –
“अँधेरीमा तिमीसँग जून ले’को छैन,
भनौं भने मैले पनि मुटु दे’को छैन ।”

–समाप्त–

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट