बाँकी ठेक्का रद्धगर्ने सडक डिभिजन कार्यालयको तयारी
ध्रुवराज खनाल
रत्ननगर, १० साउन
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत चितवनको रत्ननगरमा निर्माण गरिएको ‘फोरलेन’ सडक एक बर्ष नबित्दै ठाउँ–ठाउँमा भत्किएको छ । निर्माणको एक वर्ष पनि नबित्दै सडक जीर्ण अवस्थामा पुगेको हो ।
रत्ननगरको लौरीघोल देखि निपनी सम्मको २ किलोमिटर ३०० मिटर सडकलाई नमूनाको रुपमा चार लेनको बनाउने योजना थियो । तर योजना अनुसार काम नभएपछि २ किलोमिटर दुरीको सडकमा सयौं खाल्डाखुल्डी परेका छन् । त्यसको प्रत्यक्ष असर यात्रु, सवारी साधनले भोग्नु त परेको छ नै, यहाँका जनप्रतिनिधिहरु सडककै कारण आलोचित बन्न बाध्य भएका छन् । निर्माण कम्पनीले सो सडक अझै सम्म पनि सम्पन्नगर्न सकेको छैन् । श्रेष्ठ कन्ट्रक्सन प्रालिसँग २०७२ माघमा सडक निर्माण गर्न सम्झौता भएको थियो । १९ करोड ७० लाख रुपैयाँमा सम्झौता भएको हो । निर्माणका लागि पटक–पटक म्याद थप गरे पनि सो कम्पनी र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण समस्या उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले दिएको डिजाईन अनुसारनै सडक निर्माण गरेको प्रालिको दावी छ ।
काम चित्त बुझ्दो नहुनु, समयमै काम नसक्ने लगायतको कारण देखाउँदै सडक डिभिजन कार्यालयले श्रेष्ठ कम्पनीको ठेक्का रद्धगर्ने प्रक्रिया अघि बढाईसकेको छ । श्रेष्ठ कम्पनीले मुख्य बाटो पिच गर्ने, बिचमा डिभाईडर बनाउने र टाँडी क्षेत्र र सौराहा चोक क्षेत्रमा सर्भिसलेन र फुटपाथको काम गरेपनि काम अपुरो छ । सडकको उत्तर तर्फ भने लौरीघोलदेखि निपनीसम्मै सर्भिस लेन बनाईएको छ । तर दक्षिणतर्फ एक मिटर पनि छोएको छैन् । पिच भएको प्रमुख सडकको हालत एक वर्ष नबित्दै २ किलो मिटर क्षेत्रको धेरै ठाउँमा साना गाडीहरु डुब्ने खाल्डो नै परेको छ । सडकको दयनीय अवस्थाले अहिले स्थानीय जनप्रतिनिधीहरु आलोचनाको पात्र बन्न पुगेका छन् ।
रत्ननगर नगरपालिकाको मूल गेट अगाडीसहित धेरै ठाउँमा सडक बिग्रिँदा मेयर नारायण वनले आफुहरुले वदनाम खेप्नुपरेको बताएका छन् । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसित एक्सन लिन नसक्दा यो सडक एक वर्षमै बिग्रिएको उल्लेख गर्दै कार्यालयसँग मेयर वनले आक्रोस समेत पोखेका छन् ।
सडक मर्मतका लागि रत्ननगर नगरपालिकाले सडक डिभिजन कार्यालयलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले सडकको अनुगमन गरेको छ । अनुगमनका क्रममा मेयर वनले सडकका कारण जनप्रतिनिधीले बदनामी खेप्नु परेको आक्रोस पोख्दै प्राविधिकलाई एक साता भित्र बिग्रीएको सडक मर्मत गरिसक्न निर्देशन दिए । “सडक हाम्रो क्षेत्र भित्र पर्दैन, क्षेत्राधिकार भित्र हात हाले मुद्दा खेप्नु पर्छ, यो सामान्य नागरिकले बुझेका छन्”, मेयर वनले भने, “आफ्नै अगाडीको बाटो विग्रिएको हेर्न सक्दैनौ, मर्मतका लागि पहल गरेका छांै । सडकले अटेर गर्दा दुर्घटनाबाट बचाउन नगरले मर्मत गर्न बाध्य छ ।” पानी परेको वेला हिलो हुने गरेको छ भने घाम लाग्दा भत्किएको सडकमा धुलो उँड्दा यात्रु, यस क्षेत्रका नगरबासीमा समस्या उत्पन्न हुन थालेको छ । सडककै कारण प्रत्येक दिनजसो दुर्घटना भईरहेका छन् ।
उद्योग वाणिज्य संघको ध्यानाकर्षण
रत्ननगर उद्योग वाणिज्य संघले पूर्व–पश्चिम राजमार्गको रत्ननगर क्षेत्रमा सडकको अवस्था दयनीय भएकोप्रति सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । तत्काल सडक मर्मतका लागि संघले डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष राजाराम रेग्मी नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगि कार्यवहाक कार्यालय प्रमुख गीताञ्जली कोईरालालाई ध्यानाकर्षण पत्र वुझाएको छ । सडक विग्रदा ठूलो दुर्घटना हुने खतरा बढ्नुका साथै धुलोको कारण व्यवसायलाई प्रत्यक्ष असर गरेको भन्दै तत्काल मर्मतगर्न पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्र बुझ्दै इन्जिनियर कोईरालाले मर्मतको काम सुरु भईसकेको बताईन् । पूर्व–पश्चिम राजमार्ग सडक मर्मतको काम भरतपुरबाट सुरु भएकाले रत्ननगर, पर्सा हुँदै लोथर सम्म मर्मत गरिने उनले बताईन् । संघका अध्यक्ष राजाराम रेग्मीसहित उपाध्यक्षरु भीमनारायण श्रेष्ठ, शंकर गिरी, सदस्यहरु उपेन्द्र आचार्य, पुरु खनाल डिभिजन कार्यालय पुगेका थिए ।





