धु्रवराज खनाल
रत्ननगर, २६ फागुन
कुखुरा बोक्ने बोलेरो गाडी तीव्र गतिमा गुडाइन्छ । व्यवसायको संवेदनशीलताका कारण यस्ता गाडी अत्यधिक गतिमा चलाउनुपर्ने पोल्ट्री व्यवसायीहरु दावी गर्छन् । निश्चित समयमा कुखुरा र चल्ला पु¥याउन नसके क्षति व्यहोर्नुपर्ने उनीहरु बताउँछन् । बोलेरोकै कारण धेरै दुर्घटना भएको पनि सुन्न पाइन्छ । बोलेरोकै कारण दुर्घटना हुने धेरैले गुनासो गर्छन् ।
यही शंकालाई मेट्ने अनि सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ शनिबार भरतपुरको आँपटारीमा कुखुरा बोक्ने बोलेरोका चालक र सहचालकलाई प्रशिक्षण दिइएको छ । नेपाल दाना, कुखुरा, अण्डा वितरक संघ र ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चालक र सहचालकलाई भेला गरी सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो ।
प्रदेश कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नवीनराज राईले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे प्रशिक्षण दिएका हुन् । ट्राफिक व्यवस्थापनमा प्रमुख भूमिका ट्राफिकको र सवारी दुर्घटना न्यूनीकरणमा चालक जिम्मेवार हुने राईले बताए । नेपाल दाना, कुखुरा, अण्डा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेका अनुसार केही वर्षअघि दैनिकजसो बोलेरो दुर्घटना हुने गरेपनि अहिले भने धेरै न्यूनीकरण भएको छ । “मानवीय हताहती नहुने भएपनि पहिले दुर्घटना भइरहन्थ्यो”, पाण्डेले भने, “पछिल्ला वर्षहरुमा यदाकदा मात्रै बोलेरोका कारण दुर्घटना हुने गरेका छन् ।”
‘ट्राफिक सचेतना’ नाम दिइएको सो प्रशिक्षणमा कुखुरा बोक्ने गाडीका चालक र सहचालकहरु करिब १ सय जनाको सहभागिता थियो । कार्यक्रममा पोल्ट्री महासंघका वरिष्ठ उपाध्यक्ष टीकाराम पोखरेल प्रमुख अतिथि थिए । नेपाल दाना, कुखुरा, अण्डा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल र नेपाल दाना उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलले व्यवसायको संवेदनशीलताका कारण कुखुरा बोक्ने गाडी तीव्र चलाउनपर्नु वाध्यता रहेको बताए ।
दुर्घटना भयावह बन्दै छः प्रहरी
३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । दुर्घटना बढेसँगै यसका कारण मृत्यु हुनेहरुको संख्या पनि बढेकै छन् । साँघुरो सडकको संरचना र सवारी चाप बढ्दै जानु दुर्घटना प्रमुख कारक रहेको ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नवीनराज राईले बताए ।
उनका अनुसार सडक दुर्घटनाबाट नेपालमा दैनिक ७ जनाले ज्यान गुमाने गरेका छन् । चितवनमा भने महिनामा सरदर १६ जनाले ज्यान गुमाइरहेका छन् । “नेपालमा सवारी दुर्घटना तीव्ररुपमा बढ्दै गएको छ”, ट्राफिक प्रहरी उपरीक्षक राईले भने, “यही अवस्थामा अबको १० वर्षमा दुर्घटनाले भयावह रुप लिन्छ ।” दुर्घटना न्यूनीकरणका लागि सडक संरचना सुधार गर्नुपर्ने, सवारीचालक, ट्राफिक प्रहरी सचेत हुनुपर्ने, सवारीसाधन बेला–बेलामा जाँच गराउनुपर्ने ट्राफिक प्रहरी उपरीक्षक राईले बताए ।





