विप्लव काफ्ले
भरतपुर, २६ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय अध्यक्ष पशुपति शमसेर जबराले वर्तमान सरकारले जनमत खेर फालेको आरोप लगाएका छन् । भरतपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जनताले दिएको सुनौलो मौका खेर फालेको छ, अहिलेसम्मकै शक्तिशाली बनेपनि ‘विकासको सिन्को पनि भाँचेन ।”
उनले २०४७ सालयताकै सबैभन्दा शक्तिशाली सरकार बनेपनि ठूला घुसखोरी काण्डमात्रै देखिन थालेको बताए । “केन्द्रमा मात्रै भ्रष्टाचार छैन, विकेन्द्रीकरण भएको छ, वडातहसम्मै पुगेको छ ।” उनले बुढीगण्डकी परियोजनाको ठेक्का विनाप्रतिस्पर्धा दिएर ठूलो भ्रष्टाचार गरेको आरोप लगाए । उनले हिन्दूराष्ट्र स्थापना गर्न आन्दोलन गर्ने तयारीमा रहेको बताए । “वडातहसम्म संगठन बलियो बनाउँदैछौँ, आन्दोलन थेग्न सक्ने बनाउने छौँ”, उनले भने, “हिन्दूराष्ट्र स्थापना, भ्रष्टाचारमुक्त मुलुक बनाउने, जनताको हकअधिकार स्थापित गर्न आन्दोलन नै छेड्न तयार छौँ ।”
उनले धर्मनिरपेक्ष घोषणा गरेर नेपालीमाथि अन्याय गरेको आरोप लगाए । “पहिचानै मेटाउने काम भयो, त्यो सह्य छैन”, उनले भने, “पुर्नस्थापनाका लागि आन्दोलननै छेड्न तयार छौँ ।” उनले संविधानका केही विषयमा असहमति कायमै रहेपनि संविधान कार्यान्वयनमा पार्टी प्रतिवद्ध रहेको बताए । “बहुदलीय प्रजातन्त्रमा राष्ट्रप्रमुखको भूमिका रहन्छ”, उनले भने, “निष्पक्ष राष्ट्रप्रमुखका लागि समेत पुरानै संस्था चाहिन्छ भन्ने हामीलाई लाग्या छ ।” उनले पार्टीलाई सशक्त बनाउन एकिकरणको अभियान जारी रहेको बताए ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई उपेक्षा गरेर प्रजातन्त्र मास्ने काम हुन थालेको बताए । “दुई तिहाई छ भन्दैमा जति भ्रष्टाचार, लुट गरेपनि हुन्छजस्तो भएको छ”, उनले भने, “जनता निराश छन्, आक्रोशित छन्, वैकल्पिक शक्ति खोजेका छन्, शक्ति आर्जनमा हामी लाग्नैपर्छ ।” सरकारले सुशासन दिन छाडेर कुशासन दिएको आरोप उनले लगाए । उनले धर्मनिरपेक्षताको नाममा गरीबी र अशिक्षाको प्रयोग गरी धर्मपरिवर्तन गराउने काम भइरहेकोमा ध्यानाकर्षण भएको बताए । “हजारौँ वर्ष पुरानो धर्म, संस्कार उखल्ने प्रयास भएको छ”, उनले भने, “अन्य धर्मलाई सम्मान गर्दै हिन्दूराज्य बनाउन पार्टी अगाडी बढ्नेछ ।”
उनले नेपाललाई राजसंस्थाको खाँचो परेको दावी गरे । “गुटको राष्ट्रप्रमुख जस्तो देखिन थाल्यो, निष्पक्ष र अभिभावकत्व चाहिएको छ”, उनले भने, “कार्यकारी शासन होइन, भावनात्मक एकता गर्ने राजसंस्था हाम्रो माग हो ।” उनले पार्टीको मूल्य र मान्यतालाई आत्मसाथ गर्ने शक्तिबीच एकता गरिने बताए । उनले एकता गर्न नसकिने भए गठबन्धन गर्न इच्छुक दलसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।
केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले विदेशी नितीमा चल्दा अधिकाँस पार्टीमा दरार आएको बताए । “पटक–पटक टुक्रियौँ, अहिले नाङ्लामा राखेर केलाउँदा चामल एकातिर, बिया एकातिर बनेजस्तो भएको छ, सङ्लिएको छ”, उनले भने, “अब यो पार्टी फुट्दैन, बलियो राष्ट्रवादी शक्तिका रुपमा स्थापित हुन्छ ।” पूर्वमन्त्री तथा केन्द्रीय महामन्त्री सुनिलबहादुर थापाले पार्टीले विगतमा स्पष्ट नीति नलिएकै कारण पराजय भोग्नुपरेको बताए ।
“सैद्धान्तिक र नीतिगत पक्ष स्पष्ट पारौँ”, उनले भने, “आफ्नै अन्यौलता र फुटले पराजय भोग्नुपरेको छ, जनताले सिकाएको सपथअनुसार अघि बढौँ, जनताको विश्वास जितौँ ।” पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष दुर्गा श्रेष्ठले संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्र बनाउने स्पष्ट नितीबारे देशव्यापी अभियान चलाइने बताइन् । प्रदेश–३ का सांसद रिना गुरुङले देश टुक्रायाउने सवालमा जनमत संग्रह गर्ने गरी सम्झौता गर्न तयार भएको सरकार हिन्दूराष्ट्र र राजतन्त्रबारे मौन बसेकोमा आक्रोश पोखिन् ।
सो अवसरमा चितवनका उपाध्यक्ष रुद्र ढकाल, महिला संघकी गीता लम्साल, भरतपुर इकाईका प्रमुख दिपक थापा मगर लगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुझाएका थिए । सो अवसरमा पार्टीका जेष्ठ सदस्य, प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष विष्णुप्रसाद वाग्लेको अध्यक्षतामा भएको थियो ।




