भरतपुर, २६ फागुन
भरतपुर चौबिसकोठीमा ‘काठमाडौं बेकरी’ सञ्चालनमा आएको छ । संघाई प्लाजामा सञ्चालनमा आएको बेकरीको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे ।
चितवनका ताकेन्द्र श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र पोखराका रोशन महर्जनले पोखरामा सञ्चालन गर्दै आएको बेकरीको शाखाका रुपमा चितवनमा विस्तार गरिएको हो । २०५३ सालमा पोखराको लेकसाइड, विशाल बजार र महेन्द्रपुलमा लोकप्रिय बनेको काठमाडौं बेकरीको सेवा चितवनमा पनि सुरु भएको छ । केक, कुकिज, ब्रेड, पिज्जा, स्याण्डविच, बरगर, आइसक्रिम, कफि लगायतका परिकार उपलब्ध हुनेछन् । केक प्रिन्टको समेत व्यवस्था छ ।
अध्यक्ष प्रधानले चितवनमा स्तरीय बेकरीको अभाव भइरहेको बेला काठमाडौं बेकरीले ग्राहकको चाहना पूरा गर्नेमा विश्वास व्यक्त गरे । बेकरीका अध्यक्ष ताकेन्द्र श्रेष्ठले होम डेलिभरीसहितको सेवा दिइने बताए । स्कूल खाजाका रुपमा टिफिन बक्सको समेत व्यवस्था गरिएको जानकारी दिए । ग्राहकको अर्डरका आधारमा तत्कालै आकर्षक केक तयार गरिने जनाइएको छ ।
सञ्चालक गणेशकुमार श्रेष्ठले दैनिक ५० हजार बराबरको बिक्री हुने अनुमान गरिएको बताए । चितवनको बेकरीमा १२ कालिगढसहित २५ जनाले रोजगारी पाएको उनले बताए । गुणस्तर र स्वादमा कुनै कमजोरी नगरी सन्तुष्टि दिने चाहना रहेको अर्का सञ्चालक रोेशन महर्जनले बताए । तेस्रो पर्यटकीय क्षेत्रका रुपमा चिनिएको चितवनमा विदेशी पर्यटकलाई नेपाली स्वादका केक लगायतका परिकार उपलब्ध गराउने लक्ष्य लिइएको छ ।




