खैरहनी, ११ कात्तिक
स्वास्थ्य क्षेत्रमा पछाडि रहेको पूर्वी चितवनको पर्सामा खैरहनी पोलिक्लिनिक प्रालिले सेवा सुरु गरेको छ । पोलिक्लिनिकको शनिबार एक कार्यक्रमबीच खैरहनीका मेयर लालमणि चौधरीले उद्घाटन गरे ।
सो अवसरमा मेयर चौधरीले बाहिर प्रचार गरेजस्तो सेवा सुविधा धेरै स्वास्थ्य संस्थाले नदिइरहेको उल्लेख गर्दै प्रचारमुखी नभई प्रभावकारी सेवा सुविधा प्रदान गर्न आग्रह गरे । सानातिना समस्याका लागि पनि भरतपुर जानुपर्ने बाध्यता रहेको भन्दै मेयर चौधरीले खैरहनीलाई केन्द्रविन्दु बनाएर विशेषज्ञसहितको अस्पताल आवश्यक रहेको बताए । पुष्कर कँडेल, डा. उमेश बर्तौला, रणधीर शाहसहित डाक्टरहरुको टोलीले खैरहनी पोलिक्लिनिक सञ्चालन गरेका हुन् । डा. बर्तौलाका अनुसार हालसम्म २ करोड ६५ लाख रुपैयाँ पोलिक्लिनका लागि खर्च भइसकेको छ ।
यहाँबाट विशेषज्ञ सेवा भएको ओपीडी, स्तरीय प्रयोगशाला, भिडियो एक्स–रे, डिजिटल एक्स–रे, इमर्जेन्सी सेवा, जनरल वार्डको सुविधा छ भने एक महिनाभित्रै बालमैत्री क्लिनिक, फिजियोथेरापी, इन्डोस्कोपी सेवा र एम्बुलेन्स सञ्चालन गर्ने डा. बर्तौलाले बताए । यसबाट भएको खुद नाफाको २ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने पोलिक्लिनिकका अध्यक्ष लक्ष्मी लम्सालले जानकारी दिइन् ।




