जंगल क्याम्पमा रमाउँदै विद्यार्थी

विप्लव काफ्ले

मेघौली, ९ कात्तिक

पश्चिम चितवन र बेलायतको क्याबोट क्षेत्रका स्काउट विद्यार्थी जंगल क्याम्पमा व्यस्त छन् । एकापसमा घुलमिल गरेर ज्ञान र संस्कृतिबारे बहस चलाएका उनीहरु व्यवहारिक ज्ञान, मनोरञ्जनात्मक खेल र प्राथमिक उपचार सिक्न व्यस्त छन् ।

क्लिनिक नेपाल मेघौलीको आयोजनमा बिहीबारदेखि मेघौलीमा तेस्रो स्काउट जंगल क्याम्प सुरु भएको हो । क्याम्पमा पश्चिम चितवनका २ सय ३२ जना र बेलयातका ३३ जना विद्यार्थी सहभागी छन् । यस्तै १२ जना स्वदेशी तथा १५ जना विदेशी स्काउटर सहभागी छन् । क्याम्पमा सहभागी बन्न आएका सबै स–सना आकर्षक अस्थायी टेण्टमा समूहगतरुपमा बसेका छन् ।

क्याम्पको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्काउट अभियानले विद्यार्थीको ज्ञान र सीप विकास गर्न सघाउने बताए । उनले बालबालिकालाई कक्षाकोठाको पढाइभन्दा भिन्न ज्ञान, सीप र क्षमता विकास गराउन स्काउट अभियान महत्वपूर्ण बनेको बताए । “किशोर किशोरीमा भौतिक, मानसिक र अध्यात्मिक विकासमा स्काउट अभियान सुरु भएको हो”, उनले भने, “सामाजिक सेवा र जनचेतनाको क्षेत्रमा पनि ठूलो भूमिका खेलेको छ ।”

वातावरणलाई दिगोरुपमा बचाई राख्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै उनले भने, “वातावरण प्रदूषणले जनस्वास्थ्यमा देखिएका समस्या ठूलो चूनौती बनेको छ, स्काउटमार्फत जनचेतना फैलाउनुपर्छ ।” उनले स्काउटको सिद्धान्तभित्र रहेर मानवसेवामा लाग्ने प्रेरणा बढाएको चर्चा गरे । “स्काउटको विश्व सञ्जालले सेवाको काममा अग्रसर बनाउने काम गरेको छ”, उनले भने, “अन्तरक्षेत्रीय र अन्तरदेशीय कार्यक्रमले ज्ञान सीप आदानप्रदानमा सघाउने छ ।”

नेपालमा सन् १९५२ बाट स्काउटका गतिविधि सुरु भएका थिए । नेपालमा हाल ६० हजार बढी स्काउटमा आबद्ध छन् । “सम्भवतः विश्वकै धेरै सदस्य भएको स्काउट अभियान हो”, उनले भने, “मानवताको भाव विकास गराउन सहयोगी बनेको छ ।” स्काउट अभियान बेलायतबाट सुरु भएको थियो । रोवर्ट वेडेन पावेलले सन् १९०८ जनवरी २४ मा बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सिर्जना गर्न स्काउट अभियान सुरु गरेका थिए ।

नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक चन्दन कौशिकले स्काउट अनुशासनको पाठशाला भएको चर्चा गरे । “सभ्य नागरिक तयार गर्न स्काउट क्रियाशील छ”, उनले भने, “नेपालमा स्काउट गतिविधि विस्तार भइरहेको छ, थप क्रियाशील बनाउने अभियानमा छौँ ।” क्लिनिक नेपाल मेघौलीका अध्यक्ष हरि भण्डारीले स्काउट अभियानलाई सशक्त बनाउन जंगल क्याम्प गरिएको बताए ।

भोलि कात्तिक १० गतेसम्म चल्ने क्याम्पमा जिल्लामा करिब ४ हजार आबद्ध विद्यार्थी सहभागी रहेको जिल्ला स्काउटका अध्यक्ष तीर्थराज न्यौपानले बताए । उनका अनुसार ७० विद्यालयमा स्काउटका टु्रप छन् । ३ महिना तालिम लिएपछि १६ वर्ष उमेरसम्मका विद्यार्थी ३२ जना बराबरको १ टु्रप बनाएर स्काउट अभियानमा सहभागी गराइन्छ ।

यस्तै स्काउट अभियानमा लागेका १६ वर्ष उमेरमाथिका विद्यार्थी रोबर (छात्र) र रेञ्जर (छात्रा) भनिन्छ । स्काउटर (शिक्षक) शिवप्रसाद बराल केही वर्षयता जिल्लामा अन्तरदेशीय स्काउट कार्यक्रमले विद्यार्थीलाई हौसला थपेको बताउँछन् । “विदेशी स्काउट साथीसँग घुलमिल हुने, ज्ञान आदानप्रदान गर्ने मौका पाएका छन्”, उनले भने, “आत्मविश्वास बढाएको छ, सामाजिक काममा लाग्न प्रेरणा थपेको छ ।” स्काउट विद्यार्थी लक्ष्मी ढकालले हरेक विद्यालय तहमा स्काउट अभियान चलाउन सके विद्यार्थी अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी बन्ने मौका पाउने बताइन् । क्याम्पको उद्घाटन कार्यक्रममा बेलातको क्याबोटका स्काउट लिडर रोवर्ट ल्यूरेन्स, स्काउट विद्यार्थी लेक्सी प्रोसरले स्काउट अभियानको महत्वबारे चर्चा गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट