धनराज गिरी
वि. सं. २०४८ सालतिरको घटना, प्रायः टाँडी बजार आउँदा म केही आफन्तहरु र अग्रजहरुलाई भेट्ने गर्दथें । व्यस्त ट्युटर थिएँ म । पूर्वी चितवनमा हामी केही गुरुहरु अति नै व्यस्त रहन्थ्यौं । अशोक रैला खैरहनी, ओमकुमार श्रेष्ठ पिठुवा, पूर्ण सर, वस्ती सर, त्रिपाठी सर नेपाल मावि । ‘पूर्ण सरले अङ्ग्रेजी पढाएपछि एसएलसी ग्यारेन्टी’ यो एउटा ध्रुवसत्य नै बनेको थियो । पछि झुवानीमा घनश्याम पाण्डेको सिक्का जम्न थाल्यो ।
पूर्ण सरसित ट्युसन पढ्न भनेर बाहिरी जिल्लाका विद्यार्थीहरु डेरा लिएर बस्दथे । यस्तो थियो उहाँको ख्याति । सरल स्वभावका पूर्णबहादुर बस्नेतका बारेमा रामबाबु घिमिरे भन्नुहुन्छ –बडो मेहनती मान्छे हुन्, उनले आफ्नो अङ्ग्रेजी तिखारे, निखारे, परिमार्जन गरे, म उनलाई पनि सहयोग गर्ने मान्छे अङ्ग्रेजीबाट टाढा हुँदै गएँ । आज पूर्ण सरमाथि नै किन ? व्यक्तिवादी लेख किन ? कि यो स्तुति साहित्यलाई मलजल गरिएको हो ? केही धोबी चित्त भएका मानिसहरुले यसरी पनि सोच्न सक्छन् । अब यो बिन्दुमा पूर्ण सर कुनै निर्णायक ठाउँमा हुनुहुन्न ।
मेरो निजि स्वार्थमा उहाँको कुनै भूमिका रहने ठाउँ नै छैन । यहाँसम्म कि म एउटा साहित्य प्रेमी, साहित्य सेवक । ४४ पटक सम्मान र पुरस्कार पाएँ । पूर्ण सरका कारणले ४५ पटक पुग्नु पनि छैन । अर्थात आजको लेख निष्काम कर्म हो ।
स्वतस्फूर्र्त । हेडमास्टर हुनुपूर्व पूर्ण सर र म खरदार बाको होटेलमा चिया पिउन बसियो । आफ्नो स्वभाव अनुसार ढाका टोपी पछाडि पछाडि लाँदै भन्नुभयो –धनराज सर, केही गरि म यो विद्यालयको हेडमास्टर भएँ भने तपाईंलाई यहीँ तान्नेछु । मैले यसलाई ख्यालख्याल मानेको थिएँ । कारण, म झुवानी मावि छाड्ने कल्पना पनि गर्न सक्दिन थिएँ । झुवानी मेरो पर्याय । तर भयो अचम्म । पूर्ण सर संस्था नायक हुनुभयो । उहाँसित काम गर्न लेखेको रहेछ । ‘धनराज, अब क्याम्पस आए हुन्छ ।’
यता अर्का क्षेत्रीको स्नेह । सहिदस्मृतिमा पढाउन थालें । माविको दरबन्दी पाएँ । झुवानी माध्यमिक विद्यालयले मलाई सबैकुरा दियो, तर माविको दरबन्दी दिन सकेन । एउटा जागिरले खोज्ने कुरा दरबन्दी, स्थायी, संचयकोष र पेन्सन हो नै । २०४९ साल माघ १८ गते झुवानी माविमा मेरो अन्तिम हस्ताक्षर भयो । मुटुमाथी ढुङ्गा राखि म सरुवा भएँ । रुँदै बिदा ग¥यो झुवानीले । ‘एउटा मान्छे थियो सत्य बोल्ने, त्यो पनि हिंड्यो’ मित्र घनश्यामले दिएको उपहार । आएँ रत्ननगरमा । समितिले धेरै धेरै माया ग¥यो । इमानदार साथीहरू थुप्रै ।
पूर्ण सर – ईमानको सगरमाथा । उहाँको कार्यकाल स्वर्णकाल रहेकोमा कुनै सन्देह छैन । त्यसमाथि वरदान बनेर आए यसै मन्दिरबाट प्रवेशिका परिक्षा समुत्तीर्ण गरेका मेघावी छात्र जीबनाथ लामिछाने । नेपाल माविको भौतिक उत्थानमा उनले के के गरे रत्ननगर सबै जान्दछ । करोडौं रुपैयाँ लगानी गर्न ठुलै छाती चाहिन्छ । पाई पाई सदुपयोग हुन्छ भनेर ढुक्क भै सहयोग गर्दै गए भाइ जीवा पिताश्री ‘खेमलाल लामिछाने’ मार्फत । पाँच वर्ष ६ महिना १४ दिन मात्र साथ दिन पाएँ मैले यी पवित्र पात्रलाई । बाध्यतात्मक परिस्थितिकै उपज भनौं वा एमए उत्तीर्ण भएको घमण्ड हो, धेरैले भने अब क्याम्पसमा प्राध्यापक पो हुने हो, कति बस्ने स्कुलमा ?
‘पूर्ण सर जस्तो मान्छेलाई नछोड कान्छा’ आमाको आदेश । तर २०५५ साल भाद्र २ गते मैले स्कुले जीवनबाट सन्यास लिएँ । सरकारी जागिर छाडियो । ठीक भयो या बेठीक अझै अनिर्णित । तर जीवनलाई अर्कै किसिमबाट परिभाषित गर्न थालियो । अचेल केहीले पनि छोएजस्तो लाग्दैन । बिर्सिनै नसक्ने एउटा घटना वि.सं. २०५१ सालको एसएलसीको नतिजा सर्वोत्तम भयो । ८२५ उत्तीर्ण र २५ जना प्रथम श्रेणी । सरकारी विद्यालयका निमित्त यो चमत्कारै थियो । सबै प्रफुल्ल । संचालक समिति अति प्रशन्न । वार्षिकोत्सबमा पूर्ण सरलाई गोल्डमेडल दिइएको थियो । उहाँ यसका लागि लायक पनि । शैक्षिक योजनाको अगुवाइ मैले गरेको थिएँ । एकदिन कानमा खुसुक्क भन्नुभयो– धनराज सर, वास्तवमा यो गोल्डमेडल तपाईंको हो । अब यो जोगीलाई के चाहियो । उहाँले सात जुनीसम्मलाई पुग्ने पुरस्कार दिनुभयो ।
त्यसको ठीक १२ वर्षपछि सहिदस्मृति बहुमुखी क्याम्पसमा ठिक बिपरित घटना भयो । क्याम्पसको आमूल परिवर्तनमा यो जोगीले ज्यानको बाजी लगाएको थियो । पुरै स्टाफलाई थाहा छ । यसपालि वार्षिकोत्सबमा धनराज गिरीले पाउनुपर्छ गोल्डमेडल –स्टाफको आवाज । म क्याम्पस प्रमुखको उम्मेदवार पनि थिएँ । तर मनमा इच्छा थिएन, स्वतन्त्र स्वभाव । वास्तवमा क्याम्पस प्रमुख बन्ने सपना कहिले पनि देखिन । उचाले केही आफन्तले, हुन्न भन्न सकिन । केही व्यक्तीहरु म कुर्सीमा बसेको हेर्न नचाहने । तर कुन्नी किन हो गोल्डमेडलले मलाई खोजिरहेजस्तो लाग्यो । अर्थात जीवनमा मैले ‘लोभ’ गरेको यत्ती थियो सहिदस्मृतिमा । अरु सिस्टमले दिएकोभन्दा बढी केही खोजिन । तर २०६४ साल माघ २९ गते जे निर्णय भयो त्यसलाई सामान्य रूपमा नै लिएँ । यता पूर्ण सरले स्कुल पनि छोड्नु भयो ।
एकदिन बलराम दंगाल भाइले खुसुक्क मेरो कानमा भने– पूर्ण सर जानुभयो, स्कुल पनि गयो । आज के अवस्था छ थाहा छैन । अब राम्रो भए हुन्थ्यो । आदरणीय पाठकबृन्द, एउटा हेडमास्टरले राजीनामा दिएको दिन आफ्नो सम्पूर्ण अवधीको भत्ताको रकम स्कुलकै खातामा जम्मा गरेर गएको समाचार कतै पढ्नुभएको छ ? लौ सुन्नुहोस्, यी इमानका सगरमाथा पूर्णबहादुर बस्नेतले सबै रकम स्कुललाई बुझाएर गए । मलाई यो कुरा पनि पूर्णबहादुर बस्नेतको बारेमा उहि प्रिय भाइ बलराम दंगालले नै सुनाएका हुन् । नक्कली कागजको आडमा सक्कली नोट पचाउने संस्कार भएको यो मुलुकमा पूर्णबहादुर बस्नेत अपबाद हुन् । मैले उनलाई देवत्वकरण गर्न खोजेको होइन । यिनको इमानको कदर गर्ने प्रयास गरेको हुँ । संस्थामा यी जस्ता इमानदार नायक मैले आजसम्म कोहि पनि पाएको छैन । भाग्यमानी हुँ म, यिनको दाहिने हात हुन पाएँ । म उनलाई हरेक दिन स्मरण गर्दछु । भाइ जीबा, दाइ अब कस्सियो ।





