भरतपुर,२६ साउन ।
चितवनमा दुईपटक प्रमुख जिल्ला अधिकारी बनेका नरेन्द्रराज शर्माको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको ६३ औं वर्षमा काठमाडौंमा शुक्रबार निधन भएको हो । चितवनमा राम्रो काम गरेको भन्दै उनलाई धेरैले स्मरण गर्छन् ।
वि.सं २०१३ सालमा सुर्खेत जिल्लाको पोखरीकाँडा–५ मा जन्मिएका उनले ३८ वर्ष सरकारी सेवामा जीवन व्यतित गरेका थिए । उनले उमेर हदका कारण चितवनकै प्रमुख जिल्ला अधिकारी रहेको बेला अनिवार्य अवकास लिएका थिए । शर्माले कानून र जनप्रशासनमा डिग्री हासिल गरेका थिए ।
३८ वर्षको जागिरे दौरानका क्रममा उनले २८ वर्ष गृह प्रशासनमातहतमा काम गरे । २०७२ भदौ ४ गते उनले अवकास लिएका थिए । उनी चितवनमा पहिलोपटक विसं २०६२ सालमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा चितवनमा काम गरेका थिए । त्यस समयमा चितवनमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज पौडेल रहेका थिए । सिडिओ पौडेल केही महिना विशेष कारणले कार्यालयबाहिर रहेपछि शर्माले प्रमुखको जिम्मवारी पाएका थिए । २०६२ फागुन १६ देखि २०६३ वैशाख १६ सम्म उनले चितवन जिल्ला प्रमुखका रुपमा भूमिका निर्वाह गरेका थिए । यस समयमा देशमा १९ दिन लामो दोस्रो जनआन्दोलन चलिरहेको थियो । चितवनमा पनि आन्दोलनको आगो दन्किरहँदा प्रमुख शर्माले निकै संयमताका साथ काम गरेको राजनीतिक दलका नेताहरु स्मरण गर्छन् ।
दोस्रोपटक २०७० वैशाख २३ मा चितवन सरूवा भई आएका उनले त्यसबेला सबैको मन जितेका थिए । पचासौँ सिडिओका रुपमा यहाँ आएका उनी सबैभन्दा लोकप्रिय सिडिओका रुपमा दरिए । दर्जनौं नमूना काम गर्ने क्रममा उनले कार्यालयबाहिर रहेका लेखापढी तथा विचौलियालाई कार्यालय हाता प्रवेशमा रोक लगाएको घटना चर्चित छ । आफू बाहिर हिँडेमा जनताको काम रोकिने भन्दै शर्माले गैरसरकारी संस्थाको बैठकमा नजाने निर्णय, नागरिकताको कम्प्युटरमा अभिलेखीकरणको सुरूआत र कम्प्युटर प्रिन्ट गरी नागरिकता वितरण सुरूआत, कार्यालयमा सुशासन कायम गर्नका लागि १६ वटा सीसी क्यामरा जडान गरिनुका साथै विद्युतीय हाजिरी प्रणाली र टोकन सिस्टम लागू गरिएको घटना पनि सबैले याद गर्ने गर्छन् ।
शर्माले आफ्नो ३८ वर्षे सेवाअवधिको यादहरु समेटेर ‘सिडिओसा’ब पुस्तक पनि लेखेका छन् । यसमा पनि चितवनको प्रशंसा गरेका छन् । केही समयअघि उनलाई चितवनमा हामीले नगरे कसले गर्ने ? संस्थाले नागरिक अभिनन्दन गर्दा उनले भनेका थिए, “म अझैपनि चितवनको सिडिओ भइरहेजस्तो लाग्छ, यहाँकै हुँजस्तो लाग्छ ।”





