परिवार नियोजन चितवनमा किचलो

भरतपुर, १९ बैशाख ।

नेपाल परिवार नियोजन संघ चितवनको तदर्थ समितिले केही सदस्यको सदस्यता खारेज गरेपछि विघटित कार्यसमितिका पदाधिकारीले विरोध जनाएका छन् । यही बैशाख १२ गते २ सय २० जनाको सदस्यता खारेज गर्ने निर्णय भएको स्रोतले जनाएको छ । जसमध्ये १ सय ९ जना साधरण सदस्य र १ सय ११ जना आजीवन सदस्य छन् ।
तीन महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने भन्दै बनेको तर्थत समितिले सदस्यता खारेज गर्दै नेतृत्व हत्याउने खेल खेल्न थालेको भन्दै तदर्थ समितिको विरोध हुन थालेको छ । चैत ७ गते केशवप्रकाश जोशी संयोजकत्व रहने गरी ७ सदस्यीय तदर्थ समिति बनेको थियो । सो समितिमा संघको सदस्यता नलिएका दुई जना छन् । यस्तै विगतमा सभापति र महिला सदस्यमा पराजित भएका व्यक्तिसमेत छन् । “प्रजनन् स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिलाई विधानको सबै प्रक्रिया पूरा गरी बनेका सदस्यलाई हटाउने निर्णय हुनु दुखद पक्ष हो”, निवर्तमान जिल्ला सभापति रामहरि न्यौपानेले भने, “सदस्यता नवीकरण गरिसकेका व्यक्तिलाई फेरि कागजपत्र पुगेन भनी हटाउन खोजिएको छ । आफूअनुकूलका सदस्यमात्रै राख्ने चलखेल भएको छ ।” ६ वर्षअघि दीपककुमार राना सभापति हुँदा आजीवन सदस्यता पाएर एक निर्वाचनमा समेत सहभागी भइसकेका १ सय ११ जनाको सदस्यता खारेज गर्ने निर्णय तदर्थ समितिले गरेको छ । “समितिलाई सदस्यता हटाउने अधिकार छैन”, उनले भने, “फाराम नभरेको आरोप लगाएर सदस्यता हटाइएको छ ।”
नेपाल परिवार नियोजन संघको २१ औं संशोधित विधानको दफा ९ मा सदस्यको अयोग्यताबारे उल्लेख छ । संघविरुद्ध प्रत्यक्षरुपमा संलग्न भएको, विधानविपरीत आचरण गरी केन्द्रीय समितिको निर्णयानुसार निष्काशित भएको अवधिसम्मका लागि, संघको सम्पत्ति हिनामिना गरेको ठहर भएमा, फौजदारी मुद्धामा अदलतबाट अपराधी प्रमाणित भएमा, मगज बिग्रेमा सदस्य अयोग्य ठहरिने उल्लेख छ । तर, यी कुनैपनि बुँदा खारेज भएका सदस्यको कारण बन्न सकेका छैनन् । “आफू पक्षका सदस्या मात्रै राखेर निर्वाचन गराउने डिजाइन भएको छ”, निवर्तमान सचिव अनिल ढकालले भने, “विगतका निर्वाचनमा भाग लिइसकेका सदस्यलाई कागजपत्र पुगेन भनेर हटाइएको छ । अनुकुलका सदस्यमात्रै राख्ने र थप्ने खेल भएको छ ।”
संघको विधानअनुसार संघको नीतिभन्दा बाहिर काम गरेको प्रमाणित भए मात्रै केन्द्रीय सभाको दुईतिहाइ बहुमतबाट मात्र निष्काशन गर्न मिल्ने प्रावधान छ । निर्वाचन गराउने जिम्मा पाएको समितिले आफूअनुकूल सदस्य बनाउने गरी झण्डै ३ सय बढी फर्म बाँडिएको आरोप निवर्तमान कार्यसमितिले लगाएको छ । संघको विधानमा १ वर्ष अघि सदस्यता लिएकाले मात्रै चुनावमा भाग लिन पाउने व्यवस्था छ । संघ विघटन हुँदा ६ सय ७४ जना साधरण तथा आजीवन सदस्य थिए ।
रामहरि न्यौपानेको ३ वर्षे कार्याकाल चैत मसान्तमा सकिदै थियो । निर्वाचनको तयारीमा रहेका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग समन्वय नगरेको भन्दै केन्द्रीय समितिनै भंग गरेका थिए । तर, केन्द्रदेखि जिल्ला तहमा बनेका अधिकांस तर्थत समितिमा रहेका केही व्यक्ति विगतमा संघले कारवाही गरेका व्यक्तिनै छन् ।
यसैबीच संयोजक केशव प्रकाश जोशीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेसबुकमा मानहानीसहित गालीगलौज गरेपछि उनीविरुद्ध उजुरी परेको हो । जोशीले समितिका सदस्य कृष्णराज न्यौपानेलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेपछि न्यौपानेले जोशीविरुद्ध उजुरी गरेका हुन् । तर्थत समितिका कृष्णराज न्यौपानले ‘लभ्ली’ र धर्मराज न्यौपानेलाई बैठकमा नबोलाई एकपक्षिय निर्णय गरेपछि लव्लीले विधान विपरित सदस्यता खारेज नगर्न भन्दै विरोध गरेका थिए । जोशीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट