मकवानपुर, ५ भदौ ।
बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ६ मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन् ।
केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, राप्रपाका गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ज्ञानबहादुर तामाङ भने बिना विभागीय मन्त्री बनेका छन् ।
प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । यी दुई मन्त्रालय मुख्यमन्त्री थापाले अर्को चरणमा मन्त्रिपरिषद् विस्तार नभएसम्म आफैं मातहत राखेका छन् ।




