पोखरा, ३१ साउन ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ‘चालक सचेतना अभियान’ प्रभावकारी बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा साउन महिनाभरि दैनिक बिहान ४ बजेदेखि सञ्चालन गरिएको अभियानले राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनामा कमी आएको प्रहरीले जनाएको छ ।
अभियानअन्तर्गत प्रहरी टोलीले ९३ स्थानमा पुगेर चालकलाई सडकको अवस्था, प्रतिकूल मौसममा अपनाउनुपर्ने सावधानी, लेन अनुशासन तथा ट्राफिक नियम पालनाबारे प्रत्यक्ष रूपमा सचेत गराएको थियो म
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन महिनामा अभियानमार्फत ४ हजार ८०१ जना सवारी चालकलाई सचेत गराइएको छ । तीमध्ये २ हजार २२३ ठूला सवारी, १ हजार ४८१ साना चारपाङ्ग्रे र १ हजार ९७ दुईपाङ्ग्रे सवारीका चालक रहेका छन् ।





