चितवन, ३१ साउन ।
चितवनको राप्ती नगरपालिका–१ को बस्तीमा पसेर आतङ्क मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको छ ।
बिहान साढे ६ बजे बस्तीमा पसेको बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् भने दिलाकुमारी तामाङको जर्सी गाई पनि घाइते भएको छ। अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै परिचालित निकुञ्जको हात्ती र प्राविधिक टोलीले करिब चार घण्टाको प्रयासपछि बिहान साढे १० बजे बाघलाई नियन्त्रणमा लिएको हो । बाघ नियन्त्रणमा लिएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् ।





