थपलियालाई हटाएर किरण थापालाई दल नेता बनाउने एमालेको तयारी

मकवानपुर, २७ साउन ।

प्रदेशमा सरकार गठनकाे लागि एमाले र नेकपा बीच तीन बुँदे सहमति भएसँगै बागमती प्रदेश सरकार गठनकाे लागि नेकपा एमालेले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तनकाे लागि प्रस्ताव दर्ता गरेकाे छ । हालका दलका नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने गरी बुधबार अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे ।

थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा १८ जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको हाे । पार्टी केन्द्रकाे निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रदेश सांसद किरण थापा मगरलाई संसदीय दलकाे नेता बनाउने गरी पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

पूर्वमन्त्री थापाका अनुसार केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालयमा दर्ता गरिएको हो । उक्त दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिन भित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेशमा एमालेले सरकार गठन गर्ने सहमती भएपछि दल नेता परिवर्तनकाे विषयमा केही समय अघि देखि विवाद हुँदै आएको थियो । पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएकाे छलफल पछि पूर्वमन्त्री किरण थापा मगरलाई दल नेताका रूपमा अघि सारिएको हाे ।

हाल दलमा रहेका २५ सांसदमध्ये १८ जना (१६ हस्ताक्षर र २ मौखिक सहमति) को समर्थनमा नेता थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । उक्त अवस्थामा एमाले बागमती प्रदेश संसदीय दलको विधान २०७९ को भाग–५, दफा २५ मा अविश्वासको प्रस्ताव सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

विधानको दफा २५ (क) अनुसार, दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ । एमालेका २५ सांसदमध्ये ७ जनाको हस्ताक्षर भएमा प्रस्ताव दर्ता हुन सक्छ । अहिले १८ जनाको समर्थन रहेको छ ।

अविश्वासको प्रस्ताव पारित हुनका लागि दलको सम्पूर्ण सदस्य संख्याको बहुमत आवश्यक पर्छ । बागमतीमा एमालेका २५ सांसद मध्ये बहुमत संख्या १४ हुन आउँछ । दल नेता अस्वस्थ भई अस्पताल भर्ना भएका अवस्थामा अविश्वास प्रस्ताव अघि नबढाउने भनिएकाेमा बुधबार एकाएक अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

केही दिनदेखि अस्पतालमा रहँदै आएका नेता थपलिया मंगलबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए भने उनी बुधबार साँझ चितवन फर्किने तयारीमा रहेका थिए । उक्त अवस्थाका बिच मन्त्री थापा मगरलाई दल नेता तथा मुख्यमन्त्री बनाउने तयारी स्वरुप अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट