भरतपुर, ११ असोज ।
विश्व पर्यटन दिवस–२०२६ को अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन–२०२६’ सुरु भएको छ । सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो ।
ह्याकाथनमा भरतपुर महानगरपालिका क्षेत्रका सूचना प्रविधिसम्बन्धी १० वटा कलेजका विद्यार्थी तथा प्राविधिक टोली सहभागी भएका छन् । भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले सहभागीलाई शुभकामना दिँदै सिर्जनात्मक सोच र प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो ।
महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले ह्याकाथनको मूल विषयवस्तु र उद्देश्यबारे प्रकाश पार्दै भरतपुरलाई पर्यटन नगरीका रूपमा विकास गर्न सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको अधिकतम उपयोग आवश्यक रहेको बताउनुभयो । पर्यटन क्षेत्रमा देखिएका चुनौती पहिचान गरी प्रविधिमा आधारित नयाँ समाधान विकास गर्न ह्याकाथनजस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
त्यस्तै, महानगरपालिकाका खेल तथा पर्यटन सल्लाहकार अनिल अधिकारीले सूचना प्रविधि, सिर्जनशीलता र नयाँ सोचलाई भरतपुरको पर्यटन विकाससँग जोड्न ह्याकाथन महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले सहभागीलाई नवीन अवधारणा तथा व्यावहारिक समाधान प्रस्तुत गर्दै भरतपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन शुभकामना दिनुभयो ।
यस वर्षको ह्याकाथनको मुख्य विषय Digital Agenda and Artificial Intelligence to Redesign Tourism रहेको छ । सहभागी विद्यार्थी तथा प्राविधिक टोलीले डिजिटल प्रविधि, एआई तथा नवीनतम प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन प्रवर्द्धन, पर्यटकीय सूचना, सेवा तथा गन्तव्य व्यवस्थापनलगायत क्षेत्रमा नयाँ अवधारणा र समाधान प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकद्वय पृथ्वीराज सुवेदी र शोवराज पौडेल मेन्टर तथा सूचना प्रविधि अधिकृतहरू विकल्प काफ्ले, प्रवीण भण्डारी र सुजन लौडारी निर्णायक रहनुभएको छ । कार्यक्रमको सहजीकरण भरतपुर महानगरपालिकाको पर्यटन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्नुभएको थियो ।
महानगरपालिकाले विश्व पर्यटन दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी युवा पुस्ताको प्रविधि, सिर्जनशीलता र कृत्रिम बुद्धिमत्तालाई भरतपुरको पर्यटन विकाससँग जोड्ने प्रयासस्वरूप ह्याकाथन आयोजना गरिएको जनाएको छ ।





