मानवताका लागि रक्तदान : अमलाचौर समाजको पहल

भरतपुर, २५ जेठ ।
अमलाचौर चितवन–नवलपुर सम्पर्क समाजको आयोजनामा भरतपुर अस्पताल परिसरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्‍याउने तथा समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको शुभारम्भ समाजका अध्यक्ष लक्ष्मीकान्त आचार्यले रक्तदान गरेर गर्नुभएको थियो । सो अवसरमा उहाँले रक्तदानलाई मानवताको सर्वोच्च सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो । साथै यस्ता सामाजिक तथा मानवीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तिलकुमारी ढकालले कार्यक्रमप्रति देखिएको उत्साहजनक सहभागिताले समाजका सदस्य, शुभेच्छुक तथा स्थानीय समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ भएको बताउनुभयो ।

रक्तदान कार्यक्रममा ४४ जना रक्तदाताले स्वस्फूर्त रूपमा रक्तदान गरेका थिए । प्रत्येक रक्तदाताको योगदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

मानवताप्रतिको उत्तरदायित्व र सेवाभावलाई केन्द्रमा राख्दै अमलाचौर चितवन–नवलपुर सम्पर्क समाजले रक्तदानसहित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्ला दिनमा चितवनमा रगतको अभाव बढ्दै गएको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट