काठमाडौं, असार २५ । मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदीप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा बिहीबार आयोजित विशेष समारोहमा पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा उपस्थित अतिथि तथा पाहुनाहरूले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
पुस्तकमा लेखक परियारको जीवनयात्रासँगै दलित समुदायले भोग्दै आएका विभेद, हिंसा, अन्याय तथा न्याय प्राप्तिका लागि भएका संघर्षका अनुभव समेटिएका छन्। जन्मथलो सिन्धुलीदेखि हालसम्मको व्यक्तिगत यात्रा, सामाजिक असमानताका विभिन्न पक्ष तथा परिवर्तनका सम्भावनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको लेखकले बताएका छन्।
कार्यक्रममा गायक किरण नेपालीले सांगीतिक प्रस्तुति दिएका थिए। सिन्धुलीमा जन्मिएका तथा हाल ललितपुरलाई कर्मथलो बनाएका परियार लामो समयदेखि युवा अधिकार, मानवअधिकार तथा दलित समुदायको हकअधिकारका क्षेत्रमा सक्रिय छन्।

पुस्तकले व्यक्तिगत भोगाइमार्फत समाजमा विद्यमान संरचनात्मक विभेद र न्यायको खोजीलाई उजागर गरेको फिल्म निर्देशक शान्ता नेपालीले बताइन्। उनका अनुसार ‘सियोधागो’ ले सामाजिक रूपान्तरणसम्बन्धी बहसलाई थप सशक्त बनाउने विश्वास जगाएको छ।
दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौँदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको संघर्षलाई लेखकले आफ्ना अनुभवसँग गाँसेर प्रस्तुत गरेका छन्। पुस्तकमा रुकुम सोती नरसंहार, बलात्कारपछि हत्या गरिएका किशोरीहरूका घटना, हिरासतमा सन्तान गुमाएका आमाहरूको संघर्षलगायत विभिन्न सामाजिक यथार्थ समेटिएका छन्।
लेखकका अनुसार ‘सियोधागो’ केवल व्यक्तिगत संस्मरण नभई सीमान्तकृत समुदायका अनकहा अनुभव, पीडा, प्रतिरोध र परिवर्तनको आकांक्षाको दस्तावेज हो।
प्रदीप परियार सामाजिक न्याय तथा दलित अधिकारका क्षेत्रमा सक्रिय अभियन्ता हुन्। उनी ‘समता फाउन्डेसन’का पूर्व कार्यकारी अध्यक्ष तथा हाल ‘दलित लाइभ्स म्याटर्स नेपाल’का निर्देशक हुन्। विश्व आर्थिक मञ्चले सन् २०२० मा उनलाई ‘योङ ग्लोबल लिडर’का रूपमा चयन गरेको थियो। उनले नेपालको ‘युथ भिजन २०२५’ निर्माण प्रक्रियामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।





