बालकुमारी माविमा `म पनि पढ्छु´ कार्यक्रम

भरतपुर, २७ कात्तिक ।
विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को तेह्रौँ शृङ्खला श्री बालकुमारी माध्यमिक विद्यालय नारायणगढमा गरिएको छ ।

बिहीबार गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी सहभागी थिए ।

कार्यक्रमको सुरुवातमा प्रतिमा बिकले `योगमाया´ को जीवनीको चर्चा गरिन् । योगमाया न्यौपाने नेपालकी पहिलो नारीवादी कवि र समाज सुधारक थिइन् । उनले महिलाको अधिकार, समानता र सामाजिक न्यायका लागि आन्दोलन गरेकी थिइन् । प्रतिमाले योगमायाको जीवनी पढ्दा आफूलाई आनन्द आएको बताइन् ।

त्यसैगरी नगेन्द्र बयक क्षेत्रीले राजेश्वर देवकोटाको प्रसिद्ध कृति `उत्सर्ग प्रेम´को चर्चा गरे । धिरज धमलाले `साहसी केटो´, विनिता कुमालले सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह `तेलभिसा´, समीर उपरकोटीले प्रतीक ढकालको निबन्धसङ्ग्रह `गण्डकीको मुहानतिर´ को चर्चा गरे । उत्तम लामाले `यार्चा´ बालकथासङ्ग्रह, स्मारिका सोडारीले गणेशप्रसाद लाठको उपन्यास `छमिया´, तोषिका पुलामीले नवराज लम्सालको `पाइलैपिच्छे सगरमाथा´ कवितासङ्ग्रह, करुणा तामाङले `महाभारत´, आयुष दराइले `पैसाको उडान´ कथासङ्ग्रह र सुमन थापाले कवि एकदेव रिमालको कवितासङ्ग्रह `चिसो बाकस´को चर्चा गरे । विद्यार्थीहरुले होमवर्क सकेर खाली समयमा अतिरिक्त किताब पढ्दा छुट्टै आनन्दको अनुभूति मिलेको बताए । यी किताब पढ्दा यहाँ उल्लेख गरिएको विषय सजिलोसँग बुझिएको पनि विद्यार्थीले सुनाए ।

सम्पूर्ण किताबका लेखराम सापकोटाले विद्यार्थीलाई सक्षम र आत्मविश्वासी बनाउनु `म पनि पढ्छु´ कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका म्यानेर विनोदबाबु रिजालले अतिरिक्त किताबको ज्ञान जीवनका सबै खुड्किलामा उत्तिकै महत्त्वपूर्ण हुने बताए । कार्यक्रमका अतिथि एवम् कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापक उदित प्रकाश सिग्देलले विद्यार्थीलाई अतिरिक्त किताब उपलब्ध गराएर पठन संस्कार बसाल्नु उत्कृष्ट काम भएको बताए । विद्यालयका सहायक – प्रधानाध्यापक सुरेन्द्र अस्तफलले विद्यार्थीलाई आगामी दिनमा विभिन्न समयमा पठन संस्कृति सम्बन्धी कार्यक्रम नियमितरूपमा गरिने बताए । विद्यालयका प्रधानाध्यापक आनन्द सापकोटाले म पनि पढ्छु कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता देखेर आफूलाई खुसी लागेको बताए ।

एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज र अङ्कुरम् एकेडेमीको सहयोगमा सम्पूर्ण किताब नारायणगढले चितवन र नवलपरासीका विद्यालयमा `म पनि पढ्छु´ कार्यक्रम गरिरहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एक्सपर्ट एजुकेसन चितवनका विजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई पढ्ने बनाउने, बुझ्ने बनाउने र आत्मविश्वासी बनाउने रहेको बताए ।

म पनि पढ्छु कार्यक्रमको चौधौँ शृङ्खला कात्तिक २८ गते शुक्रबार श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत भरतपुर -५ मा हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट