गैंडाकोट, १६ कात्तिक ।
प्रसिद्ध निबन्धकार भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक भएको छ । अक्षर समूह चितवनले शनिबार गैंडाकोटमा आयोजना गरेको कृति लोकार्पण उत्सव कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डाक्टर एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल, सामना पहाड, भुपेन्द्र खड्का, लेखराम सापकोटा र विनोदबाबु रिजालले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् ।
सङ्ग्रहमा चिन्तन, सम्झना र पर्यावरण/यात्रा गरी तीन खण्डमा २० निबन्धहरू समेटिएका छन् । लेखनशैली र विचारमा भूपिन अघिल्लो पुस्तकमा भन्दा बलियो बन्दै गएको पुस्तक पढ्दा पुष्टि हुने समीक्षक डाक्टर एकनारायण पौड्यालले बताए । उनका अनुसार निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ सचेतरुपमा लेखिएको किताब हो । उनले भने, ‘ भूपिन जे काम गर्नुहुन्छ । अरु भन्दा फरक ढंगले गर्नुहुन्छ । उहाँले यस कृतिमा विषयमा विविधता दिनुभएको छ । विवरणात्मक, आख्यात्मक, सम्बोधन, तार्किक र वैचारिक शैली निबन्धहरुमा प्रयोग गर्नुभएको छ ।’ अहिले सूचना प्रविधि र सामाजिक सञ्जालको युग नभएको भए भूपिनका यी खाले निबन्ध पाठकका माझमा नआउने पनि पौड्यालले बताए ।
भूपिनका निबन्धमा पाठकले आफ्नै अनुभूति महसुस गर्ने अर्की समीक्षक सामना पहाडले बताइन् । नारी अस्मिता र आमालाई निबन्धमा सम्मान गरिएको उनले बताइन् । लैङ्गिक र समावेशिताको कोणबाट यो सङ्ग्रह उत्कृष्ट रहेको सामनाले सुनाइन् ।
प्राध्यापक निमेष निखिलले निबन्धसङ्ग्रहलाई दार्शनिक परिपक्कताको दस्तावेज हो भन्दै जीवन, चेतना र ज्ञानको उज्यालो लेखकले खोजेको बताए । समालोचक निखिलले पुस्तकमा बौद्धिक चेतनाको सम्पूर्ण नक्सा देखिएको विचार राखे । उनले वर्णविन्यास र शब्दहरुमा केही त्रुटिहरु रहेको जानकारी गराए । कृति ‘मध्यको उज्यालो’ ले आधुनिक नेपाली निबन्धलाई नयाँ उज्यालो दिएको उनले दाबी गरे । उनले भने, ‘ निबन्धमा झिनामसिना कुराबाट जीवनका सत्यहरु जोड्ने काम भूपिनले गरेका छन् । प्रकृति, यात्रा र मानव अस्तित्वको चित्रण निबन्धहरुमा पाइन्छ ।’
अर्का वक्ता रोशन शेरचनले भूपिनको निबन्धसङ्ग्रहमा पर्यावरणप्रतिको प्रेम रहेको बताउँदै उनी दर्शन र बौद्धिकतामा बहस निम्त्याउन सक्ने लेखक भएको बताए । उनले भने, ‘ पुस्तकमा आत्मपरक निबन्धको बेजोड प्रस्तुति रहेको छ । उनी पुरातन र अतिवादी सोचको विपक्षमा छन् । उनका पर्यावरणसम्बन्धी निबन्धमा भय र उत्सुकताको मिश्रण पाइन्छ ।’ उनले भूपिनले निबन्धमा एआईको जोखिमबारे सचेत रहनुपर्छ भन्ने सन्देश दिन खोजेको विचार राखे । उनले भने, ‘भूपिन कला, संगीत र सिनेमालाई बुझ्न चाहने लेखक हुन् । कलातिर उनको झुकाव देखिन्छ । उनी करुण, प्रेम र अहिंसाको हिमायती छन् ।
निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमान्दार भएर लेखेको दाबी गरे। `यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन ।’ कार्यक्रममा समालोचकले उठाएका विषयको सम्बोधन गर्दै उनले आफूले निबन्धमा वैचारिक विविधता दिने प्रयास गरेको बताए । ` पुस्तकमा म भावुक देखिए पनि जीवनप्रति भने अत्यन्तै आशावादी छु´, भूपिनले भने ।
कार्यक्रममा उदय अधिकारीले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा भूपिन वैचारिकरुपले साहित्यलाई बहसमा ल्याउने व्यक्ति भएको अधिकारीले बताए ।
बुकहिलबाट प्रकाशित `मध्यको उज्यालो´ भूपिनको सातौँ किताब हो । प्रकाशक बुकहिलका प्रमुख भुपेन्द्र खड्काले उत्सवका रूपमा यो कृतिको लोकार्पण देशको मध्य भागमा आएर गरिएको बताए । अक्षर समूहका सचिव विनोदबाबु रिजालले कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रमको समापनपछि पाठकहरुले आफूले संकलन गरेको किताबमा लेखकको हस्ताक्षर लिँदै अन्तर्क्रिया गरेका थिए ।





